स्वास्थ्य र शिक्षा प्राथमिकतामा,  लगानी आकर्षित गर्न सम्मेलन गर्ने लक्ष्यसहित बुटवलले ल्यायो नीति तथा कार्यक्रम 



बुटवल।

बुटवल उपमहानगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि ३०२ वटा बुँदामा समेटीनीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

बुटवल उपमहानगरपालिकाको १३औं नगरसभा अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम पेश गर्नुभएको हो ।

३०२ वटा बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा बुटवलमा लगानी आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउन गृहिणी महिला रोजगार कार्यक्रम सञ्चालन गर्ने, पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्दै बुटवललाई उपयुक्त विश्रामस्थलको रुपमा विकसित गर्ने, रात्रिकालीन बजार सञ्चालन गर्ने उल्लेख छ ।

समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर’ भन्ने दीर्घकालीन सोचलाई अगाडि सारेको बुटवलले बुटवलको मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवर्द्धन गर्ने, उज्यालो बुटवल, सफा, सुन्दर, हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने, आधुनिक सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी शहरलाई जीवन्त बनाउने र सेवाप्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने रणनीति अवलम्बन गरिनेछ प्रमुख पाण्डेयले बताउनुभयो ।

शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि नगरप्रमुख शैक्षिक विकास , सिद्धार्थ बाल तथा महिला अस्पतालमा पारामेडिकल, बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआइ)मा डिप्लोमा तहका इन्जिनियरिङ विषयहरु र अटो भिलेजमा स्नातकमा तहको अटो इन्जिनियरिङको अध्ययन सुरु गर्ने नीति बुटवलले ल्याएको छ ।
बुटवलको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि स्वास्थ्य उपचार र जनशक्ति उत्पादनमा जोड दिएको बताउँदै सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा नगरप्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

यस्तै, बुटवल १३ र १७ मा १५/१५ सैयाका अस्पताल सञ्चालन गर्ने र वडा नम्बर १३ को अस्पतालमा  अस्पतालमा चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
बुटवलबासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थको शुल्क हटाउने, ज्येष्ठ नागरिकको घरमै पुगेर उपचार गर्न बाआमासँग नगरप्रमुख कार्यक्रम ल्याएको प्रमुख पाण्डेयले बताउनुभयो ।
बुटवलमा ई रिक्सा र टेम्पुधनी तथा चालक रहेका एकल महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई प्रोत्साहन गर्न नवीकरणमा २५ प्रतिशत र महिला सवारी धनी र चालकलाई प्रोत्साहन गर्न नवीकरणमा १५ प्रतिशत छुट दिने नीति बुटवलले ल्याएको छ ।

उज्यालो बुटवल कार्यक्रमअन्तर्गत मुख्य मुख्य चोकहरुमा हाइमास्ट लाईट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाईटको जडान गर्ने भनिएको छ ।
बुटवलको मुख्य सडकक्षेत्रमा पैदलयात्री लेन, साइकल लेन, पार्किङ लेन निर्धारण गरिने नगर प्रमुखले बताउनुभयो । बुटवलभित्र मुख्य कार्यालय स्थापना गरी सूचना प्रविधि क्षेत्रमा काम गर्न चाहने स्टार्टअप कम्पनीहरुलाई सहुलियत प्रदान गर्ने, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट प्रवाह हुने मिथ्या सूचना न्यूनीकरण गर्न सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने कार्यक्रम बुटवलले अगाडि सारेको छ ।

विद्यालयस्तरमा खेलाडी उत्पादन गर्न मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने र विभिन्न खेल प्रतियोगिताहरु सञ्चालन गर्दै खेलमैदानहरुको स्तरोन्नति गर्न प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

एक सामुदायिक वन–एक पोखरी, एक पार्क निर्माण, नगरलाई हरित शहरका रुपमा स्थापित गर्न एक घर तीन रुख, कृषिमा उत्पादकको माग: नगरको साथ, कृषि विकास, “के पाइन्छ होइन, के चाहिन्छ” भन्ने आकर्षक कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।

 विद्यार्थीहरुलक्षित कमाउँदै पढ्दै गर्ने कार्यक्रम, युवाहरूका लागि रोजगारी सिर्जना गर्न मेयर युवा इलम कार्यक्रम, वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुको सीप पहिचान गरी स्वरोजगारमूलक बनाउने नीति तथा कार्यक्रममा समेटिएको छ ।
बुटवलमा पहिरोको मुख्य जोखिम रहेका ज्योतिनगर, मिलनपथ, पाखापानी, लक्ष्मीनगर र बाढीको जोखिममा रहेका तिनाउ दानव नदी किनारमा तटबन्ध गर्ने कार्यक्रम समेटिएका छन् ।

नगरक्षेत्र भित्रका सडकहरुमा स–साना खाल्टाखुल्टी पुर्ने तीव्र सेवाका लागि नगरप्रमुख पूर्वाधार एम्बुलेन्स, तिनाउ सभ्यतालाई प्रवर्द्धन गर्न तिनाउ नदीमा आरती केन्द्र स्थापना गर्ने, जितगढी किल्लाको संरक्षण गर्दै जितगढी युद्ध संग्रहालय निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने कार्यक्रमहरुले स्थान पाएका छन् ।

यस्तै, छाडा पशु चौपायाहरुको व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरी २हजार बिगाह क्षेत्रमा गाई राष्ट्रिय निकुञ्ज निर्माण गर्न लुम्बिनी प्रदेश सरकारसँग समन्वय गर्ने र कुकुरको बन्ध्याकरण तथा घरपालुवा कुकुरहरुको अभिलेखीकरण गरी नियमन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्