एउटै कोठामा तीनवटा कक्षा सञ्चालन

एकै परिवारका ५ जना ‘बहिरा’



काभ्रे। 

बहिरा विद्यार्थीहरुका लागि स्थापना गरिएको बनेपा नगरपालिका वडा नम्बर ९ मा रहेको काभ्रे बहिरा विद्यालयमा एउटा कोठामा तीनवटा कक्षा सञ्चालन गरिएको छ भने अर्को एउटा कोठामा दुई वटा कक्षा सञ्चालन भएका छन् । पर्दाले ढाकेर तीनवटा कक्षा सञ्चालन भइरहेका छन् । एउटा कोठामा दुई वटा कक्षाका विद्यार्थी दुई तिर फर्केर पढिरहेका छन् ।

भवन तथा कक्षा कोठा अभावका कारण विद्यालयले थोरै कोठाबाट धेरै कक्षा सञ्चालन गर्नु परेको प्रधानाध्यापक कृष्णप्यारी नकर्मीले बताउनुभयो । ‘विद्यालयको एउटा भवनमा छात्राबास पनि सञ्चालन गरिएको छ’–प्रधानाध्यापक नकर्मीले भन्नुभयो–‘उमेर ठुला भएका छात्राहरुलाई अलग्गै राखिएको छ । साना-साना विद्यार्थीहरुलाई छात्र र छात्रा अलग अलग गरी ४० जना राखिएको छ ।’ छात्राबास र विद्यालय भवन सञ्चालनका लागि पूर्वाधार अभावमा विद्यार्थीहरुलाई सकस भइरहेको छ । पूर्वाधार मात्रै नभई विद्यालयमा दरबन्दी पनि छैन । तीन जना स्थायी दरबन्दी, १ जना राहात, ३ जना अनुदान र ५ जना निजी श्रोतबाट कार्यरत शिक्षकहरुले कक्षा १० सम्म पढाइरहनु भएको छ । कक्षा १, ३ र ७ वटै कोठामा सञ्चालन छ भने कगा ४ र ६ एउटा कोठामा सञ्चालन भएको छ । विद्यालयमा ८५ जना विद्यार्थी अध्ययनरत छन् ।

‘काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा अन्य विकट जिल्लाका बालबालिकाहरु पनि विद्यालयमा भर्ना भएका छन्’–प्रधानाध्यापक नकर्मीले भन्नुभयो–‘विद्यालय नजाने उमेरका व्यक्तिलाई सिप पनि उपलब्ध गराइएको छ ।’ भाइ बहिनी विद्यालयमा भर्ना गरेर दिदीहरु सिलाई सिकिरहेका छन् । विद्यालयले दाताहरुको सहयोगमा तीन महिने सिलाई कक्षा पनि सञ्चालन गरिरहेको छ । विद्यार्थीहरु पनि भविष्यमा बेरोजगार बस्नु नपरोस् भन्ने उद्देश्यले सिप सिकाउन थालिएको हो ।

२०५२ सालमा साङ्केतिक भाषाको विद्यालय सञ्चालन गर्न सुरु गरिएको भए पनि विद्यालयले लामो समयसम्म माध्यमिक तहको अनुमति पाएन । २०६५ सालबाट एसएलसी दिन थालेका विद्यार्थीहरुको संख्या ५० कटेको छ । आजाद माध्यमिक विद्यालय, एविएम, प्राईभेट, खुल्ला विद्यालय हुँदै आफ्नै विद्यालयबाट २०७८ साल देखि विद्यार्थीहरुले एसईई दिन थालेका हुन् ।

सोमबार वडा अध्यक्ष नृपेश बादे, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, लीला मध्यमार्ग अक्षयकोषका संयोजक प्रदीप केसी, समाजसेवी हरि थापा र प्रह्लाद बस्नेत लगायतले विद्यालयले साङ्केतिक भाषाबाट बालबालिकाहरुलाई दिएको शिक्षालाई गुणस्तरीय बनाउन सक्दो सहयोग पु¥याउने बताउनु भयो । लीला मध्यमार्ग अक्षय कोषमा जम्मा भएको केही रकमको ब्याजबाट संयोजक प्रदीप केसीले स्टेशनरी सामाग्री उपलब्ध गराउनु भएको थियो । कापी, सिसाकलम, कलम र अन्य थप सामाग्री विद्यालय बाल क्लवकी अध्यक्ष दिलमाया पुलामी मगर, विद्यालय प्रधानाध्यापक कृष्णप्यारी नकर्मी लगायतलाई केसीले हस्तान्तरण गर्नु भयो । सोही अवसरमा विद्यालयलाई उपलब्ध गराइएको पोसाक वडा अध्यक्ष नृपेश बादे लगायतले बालबालिकाहरुलाई हस्तान्तरण गरिएको थियो ।

परिवार नै बहिरा
बुबा, आमा र तीन सन्तान सबै बहिरा

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १ स्थित रोजिना तामाङको परिवारमा ५ जना बहिरा छन् । रोजिना काभ्रे बहिरा विद्यालयको कक्षा ३ मा अध्ययनरत छिन् । उनका बाबु आमा दुवै बहिरा छन् । सोही विद्यालयमा रोजिनाका दाजु इन्द्र कक्षा ९ मा अध्ययन गर्छन् भने दिदी बसन्ती कक्षा ८ मा अध्ययन गर्छिन् । परिवारका सबै सदस्य बहिरा भए पछि आमा बुबाले छोराछोरीको अध्ययनका लागि तीनै जनालाई छात्राबासमा राखिदिएका छन् । तीनै जना दाजु बहिनीहरु काभ्रे बहिरा विद्यालयका उत्कृष्ट विद्यार्थीका रुपमा चिनिन्छन् ।

रोजिनाको जस्तै विपना मानन्धरका परिवारमा पनि ४ जना बहिरा छन् । उनी कक्षा ७ मा अध्ययन गर्छिन् । उनका दाजु श्रीकृष्ण कक्षा ८ मा अध्ययन गर्छन् भने दिदी लक्ष्मी सोही विद्यालयले उपलब्ध गराएको तीन महिने सिलाई सम्बन्धी सिप सिकिरहेकी छिन् । एकजना दिदीको विवाह भएको छ । रामेछाप जिल्ला खनियाँगाउँ ५ घर भएकी बिपनाको परिवारमा यस्तो समस्याले कहिले काँहि संकट जस्तो लागे पनि अध्ययन गर्न पाउँदा हर्षित भएको अनुभव छ । बहिरा भएर पनि अध्ययन नै गर्न नपाउँदाको पीडा आफ्नै दिदी लक्ष्मी र विवाहित दिदीले भोगिरहनु परेको बिपनाले बताउनु भयो ।

काभ्रेपलाञ्चोक जिल्लाको विकट खानिखोला गाउँपालिका ५ ताल्ढुंङ्गा घर भएकी सोममाया जिम्बाका घरमा ३ जना बहिरा छन् । उनी कक्षा ७ मा अध्ययन गर्छिन् । उनको दाजु विरमान कक्षा ८ मा अध्ययन गर्छन् भने दिदी खरिमाया सिप सिकिरहेकी छिन् । महाभारत गाउँपालिका वडा नम्बर ४ फोक्सिङ्गटारका पारस जिम्बा कक्षा ७ मा अध्ययन गरिरहेका छन् । उनकी दिदी चमेली जिम्बा कक्षा ८ मा अध्ययन गर्छिन् । दुवै जना बहिरा छन् । रोशी, बेथान्चोक, तेमाल लगायतका पालिकाहरुबाट बहिरा बालबालिकाहरु अध्ययन गरिहरेका छन् ।

बहिरा विद्यार्थीहरुलाई अध्ययन गराउने र जो अध्ययन गर्दैन वा विद्यालय उमेर समूह भन्दा बाहिर गई सकेका बहिरा ब्यक्तिहरुलाई आत्मनिर्भर बनाउन सिप सिकाउन थालिएको प्रधानाध्यापक कृष्णप्यारी नकर्मीले बताउनु भयो । निरन्तरको प्रयास र अथक मेहनतका कारण बहिरा बालबालिकाहरुलाई शिक्षा प्रदान गर्न सकिए पनि भौतिक पूर्वाधार र शिक्षक दरबन्दी पर्याप्त हुन नसक्दा बहिरा विद्यार्थीहरुलाई उपलब्ध गराउनु पर्ने अन्य थुप्रै कुरा उपलब्ध गराउन नसकिएको प्रधानाध्यापक  नकर्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्