नेपालमा मंकीपक्स भित्रियो



–सचेतनाका लागि सरकारको भूमिका जरुरी
–अमेरिका, क्यानडालगायत ७५ बढी राष्ट्रमा फैलियो
–बाँदर वा मुसाको सम्पर्कबाट पनि सर्न सक्ने
–संक्रमण भएको २१ दिनसम्ममा लक्षणहरू देखिने
–भारतमा १२ जनामा पुष्टि
–लजाउन नहुने डाक्टरको सल्लाह

काठमाडौं । विश्वमा फैलिएको बाँदरेखटिरा (मंकीपक्स) को संक्रमण नेपालमा पनि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पहिलोपटक एक ६० वर्षीया विदेशी महिलामा मंकीपक्स देखिएको स्वास्थ मन्त्रालयले शुक्रबार पुष्टि गरेको छ । तर, उहाँ पहिलादेखि नै नोपलमा बस्दै आएको नागरिक हो या भर्खर नेपाल आएको केही पुष्टि गरेको छैन । साथै, उहाँलाई कुन अस्पतालमा कस्तो उपचार गरियो भन्ने पनि स्पष्ट छैन ।

अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्वीडेनलगायत ७५ भन्दा बढी देशमा मंकीपक्सको संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसअघि नै पुष्टि गरेको थियो । विगत वर्षदेखि नै नेपालमा पनि विदेशबाट आउने व्यक्तिहरूबाट सर्न सक्छ भन्दै नेपाल सरकारले आम नागरिकलाई सतर्कता अपनाउन आह्वान गर्र्दै आएको भए पनि अहिलेसम्म कुनै पनि नेपालीमा मंकीपक्स पुष्टि भएको छैन ।

मंकीपक्स संक्रमण भएका व्यक्तिमा शरीरमा चिलाउने खटिरा वा दाग देखिने र जिउभरि फैलिने, ज्वरो आउने, जीउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्ने गर्छ । संक्रमण भएको केही दिनमा अनुहारमा पनि बिमिराहरू देखा पर्न थाल्छन् । डब्ल्यूएचओले जनाएअनुसार मंकीपक्स झट्ट हेर्दा फोहोर खटिरा वा ठेउला भनेर चिनिने गरेको रोगजस्तै देखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डब्ल्यूएचओका अनुसार मंकीपक्स भाइरस एकबाट अर्को व्यक्तिमा घाउको रस वा कणबाट र हाच्छिउँ गर्दा निस्कने थुकलगायतका तरल पदार्थका माध्यमबाट फैलिने गर्दछ । संक्रमित व्यक्तिको शरीरबाट निस्कने तरल पदार्थ श्वासनली, आँखा, मुख वा नाकबाट छिर्न सक्ने जनाइएको छ । त्यस्तै, संक्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो भाइरस सर्न सक्छ । संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्नसक्ने डब्ल्यूएचओेले जनाएको छ ।

मंकीपक्स मध्य र पश्चिम अफ्रिकाको दुर्गम भागहरूमा सामान्य छ । यस्ता रोग फैलने मुख्य माध्यम एक ठाउँबाट अर्को ठाउँको यात्रा हो । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार मंकीपक्स एक दुर्लभ भाइरल संक्रमण हो जुन सामान्यतया हल्का हुन्छ र जसबाट अधिकांश मानिसहरू केही हप्तामा निको हुने गर्दछन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका एक अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट भद्रगोल अवस्थामा प्रस्ताव गरिएको ईजीपी निर्देशिका हुबहु पारित भएमा त्यसले कुनै पनि समयमा अनलाइन विडिङ प्रणाली नै सधैंका लागि बन्द गराइदिन सक्ने खतरा बढेको दाबी गरे ।

तर, मंकीपक्स चिकेनफक्स (कुखुरे खटिरा) सँग मिल्दोजुल्दो भएकाले झुक्किन सक्ने सम्भावना बढी भएकाले विदेशबाट आउने व्यक्तिहरूले २१ दिनसम्म सुरक्षा अपनाएर त्यस बीचमा मंकीपक्सको लक्षण मिल्ने समस्या देखा परेमा चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्ने टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ ।

डा. पुन भन्नुहुन्छ– गत वर्ष विश्व स्वास्थ संगठनले विश्वभरि ७५ देशबाट १६ हजार जनामा यो भाइरस पुष्टि भएपछि मंकीपक्सलाई ‘विश्वव्यापी जनस्वास्थ्य आपतकाल’ घोषणा गरेको थियो । हाल मंकीपक्सलाई ‘एमपक्स’ भनिन्छ । यो रोग रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा देखिन्छ । यसले मुटु सुन्निने, मलद्वारको समस्या, पिसाप नलीमा समस्या आउँछ ।

मंकीपक्सको उपचारका लागि यही औषधि भन्ने छैन । सर्वप्रथम बिरामीहरू उपचारका लागि छाला तथा यौन रोग विशेषज्ञकोमा पुग्छन् । जब डाबर, बिमिरा देखिएपछि बल्ल डाक्टरलाई खोज्छन् । यो रोगको लक्षण बढी मात्रामा मलद्वार, गुप्तांगमा देखिन्छ । लक्षणमा आधारित उपचार समयमै गरे निको हुन्छ । भारतमा यो समस्या देखिएको एक वर्ष भयो । तर, हालसम्म १२ जनामा मात्र पुष्टि भएको छ ।

झट्टै बाहिर आउँदैन । नेपालमै परीक्षण गर्न उपकरण छ । सामाजिक समस्याका कारण खुलेर उपचारमा आउन सक्दैनन् । यस्तो समस्यामा लजाउन नहुने डा. पुनको भनाइ छ । यस्तो अवस्थामा समस्या सार्वजनिक हुने सम्भावना कम छ । विदेशी नागरिक भएका कारण मात्र बाहिर आएको हो । डा. पुन भन्नुहुन्छ– मैले त भारतमा देखियो भन्दादेखि नै नेपालमा कसले भन्ला र भन्दै आएको थिएँ । धेरै खटिरा आयो भने गुपचुप विज्ञकोमा गएर उपचार गर्छन् । शुरूको लक्षण देखेर उपचारमा नजाने धेरै कारणले गर्दा समुदायमा रहिरहेको भए पनि उपचारमा आएको देखिन्न । विदेशी महिलामा देखियो भने सुरक्षित तरिकाले राखेर उपचार गरेमा अरूलाई सर्ने सम्भावना कम हुन्छ ।

संक्रमितहरूमध्ये सबैभन्दा बढीमा शरीरको विशेषतः गुप्तांग÷गुद्वारमा घाउ पानी फोकाहरू देखिएको प्रतिष्ठित मेडिकल जर्नल ‘न्यु इंगल्यान्ड जर्नल अफ मेडिसिन’ मा प्रकाशित अनुसन्धानले देखाएको डा. पुन बताउनुहुन्छ ।

‘संक्रमण भएको १ देखि २१ दिनसम्ममा ‘एमपक्स’ को लक्षणहरू देखिन्छ र २ देखि ४ हप्तासम्ममा अधिकांश संक्रमितले स्वास्थ लाभ गरिसक्ने हुनाले धेरैले कडा समस्या नभएसम्म गोप्य नै राख्ने सम्भावना बढी छ । यसका लागि सरकारले सहज रूपमा उपचार गराउने स्थान तोक्नुका साथै समुदायमा नफैलियो र रोगसँग लड्ने क्षमता कम भएका दीर्घ रोगीमा नसरोस् भन्ने विषयमा सचेतना जगाउनु अबको आवश्यकता हो’ –डा. पुन भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्