ज्ञानकुञ्ज रोड रेसको उपाधि विश्वमणि र कृतिकालाई



काभ्रे।

‘नैतिक, ब्यबाहारिक तथा ब्यबसायीक शिक्षाको लागी ज्ञानकुन्ज’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै विगत २१ वर्ष देखी बनेपामा सञ्चालित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शिक्षासँगै स्वास्थ्यलाई पनि प्राथमिकता दिने उद्देश्यले एसईई दिएर बसेका बालबालिकाहरुका लागि खुल्ला रोडरेसको आयोजना गरेको छ ।

तेस्रो पटक आयोजना गरेको रोडरेस प्रतियोगिता अन्तर्गत छात्राहरुलाई तीन किमी र छात्रहरुलाई ७ किमी लामो थियो । छात्राहरुले बनेपा तिनदोबाटो चोकदेखि चण्डेश्वरी हुँदै विद्यालय प्राङ्गणमा आएर दौड समापन गरे भने छात्राहरुले पनौती बसपार्कदेखि बनेपा स्थित विद्यालयमा आएर दौड समापन गरे।

तेस्रो रोड रेसको उपाधि गणेश मावि भक्तपुरकी छात्रा कृतिका मधिकर्मी र छात्र विश्वमणि कुँवरले हात पारे । भालेश्वर मावि पनौती ८ मल्पीकी छात्रा कुसुम के.सी. र छात्र कृष्ण शाह दोस्रो भए ।  छात्रा कृतिका उप्रेती र छात्र रितिक श्रेष्ठ तेस्रो भए ।

प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रो हुनेलाई १०÷१० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले विजेताहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । छात्रा दौड तर्फको उद्घाटन बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले बनेपामा र छात्र तर्फको पनौती नगरपालिकामा नगर प्रमुख रामशरण भण्डारीले गर्नु भएको थियो ।

समापन कार्यक्रममा राष्ट्रिय महिला खेलाडी सावित्रा भण्डारी, विद्यालय सञ्चालक सदस्य आत्माराम थापा, काभ्रे प्याब्सनका अध्यक्ष श्याम भुजेल, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी रेशम बोहोरा लगायतले विद्यार्थीहरुलाई बधाई तगा शुभकामना दिनु भएको थियो ।

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका सञ्चालक आत्मराम थापा, ज्ञानकुञ्ज कलेजका सहायक क्याम्पस प्रमुख नवराज चौलागाई, विद्यालयका सहायक प्रिन्सिपल रत्न खतिवडा लगायतको सहभागिता रहेको थियो । प्रतिस्पर्धामा एसईई दिएर बसेका १ सय ५० जना विद्यार्थीले सहभागिता जनाएका थिए । जसमा भक्तपुरका ८, सिन्धुपाल्चोकका एक जना थिए । विद्यालयले अध्ययनसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत सांस्कृतिक, धार्मिक, साहित्य, खेलकुद तथा समाजलाई प्रत्यक्ष सरकोकार राख्ने सामाजिक सेवा र विभिन्न अतिरिक्त कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले सफल जीवनका लागि स्वास्थ्य, स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई आत्मसात् गर्दै विद्यार्थीहरुलाई अनुशासित र एसईई सम्पन्न पश्चात् विद्यार्थीहरुको अतिरिक्त समयमा अनावश्यक कुलत तथा गलत बाटोमा हिड्न सक्ने भएकाले उनीहरुलाई खेलकुद मार्फत सही बाटो र अनुशासनमा राख्नको लागि प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्