फुटसलको उपाधि अनेरास्ववियु काभ्रेलाई



काभ्रे।

राष्ट्रिय युवा संघ नेपाल काभ्रेको आयोजनामा शुक्रबार र शनिबार दुईदिन आयोजना गरिएको खुल्ला राष्ट्रिय फुटसल प्रतियोगिताको उपाधि अनेरास्ववियु काभ्रेले हात पारेको छ । धुखमी धुलिखेल समूहलाई हराउँदै अनेरास्ववियुले उपाधि हात पारेको हो ।

 

विजेता समूहले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेता धुखमी समूहले नगद २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता र उप विजेता तथा सहयोगीहरुलाई नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जु, राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष अमित लामा, जिल्ला अध्यक्ष ईश्वर बल्धव सापकोटा लगायतका नेताहरुले पुरस्कार वितरण गर्नु भएको थियो ।

समापन कार्यक्रममा उत्कृष्ट खेलाडी तथा सहयोगीहरुलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । पूर्वमन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।

४७ टिमको सहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न स्थानबाट फुटसल प्रतिस्पर्धामा भाग लिएका थिए । राष्ट्रिय युवा संघ काभ्रेका अध्यक्ष इश्वरबल्धव सापकोटाका अनुसार आगामी दिनमा पनि युवाहरुको सशक्तीकरण तथा ब्यवसायीकताका लागि युवा संघले नयाँ कार्यक्रम आयोजना गर्नेछ । स्वस्थ र व्यस्त रहन युवाहरुलाई उत्पादन तथा उर्जावान कार्यमा संलग्न गराउन पार्टी र जनवर्गीय संगठनहरु क्रियाशील हुने उहाँले बताउनु भयो ।

एमाले अध्यक्ष अशोक ब्याञ्जुले रचनात्मक कार्यले युवाहरुको आकर्षण बढ्ने बताउनुभयो । १५ मिनेटको समय तालिका भित्र टिमले प्रतिस्पर्धी समूहलाई पराजित गरेका थिए । राष्ट्रिय रेफ्रि रोजन श्रेष्ठ मुख्य रेफ्रिका रुपमा रहेका थिए । फुटसलमा यति धेरै समूह सहभागी भएको पहिलो भएको युवा संघका सचिव सिवी लामाले बताउनुभयो ।

लामाले विभिन्न क्षेत्रबाट सहभागी युवाहरुको सक्रियतालाई आगामी दिनमा पनि रचनात्मक कार्यबाट सम्बोधन र सहकार्य गर्ने बताउनु भयो । यस अघि युवा संघले एमाले जिल्ला कमिटी, प्रेस चौतारी लगायतसँग मैत्रीपूर्ण फुटसल आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्