बाँके राष्ट्रिय निकुञ्जमा माहुते महिला



जानकी । 

माहुते महिला उपनामले यहाँ परिचित मिनु खड्का आफ्ना सन्तानका साथै हात्तीको पनि अभिभावक बन्नुभएको छ । विसं २०७४ मा हात्ती सफारीका लागि परीक्षामा निकालेर माहुते बन्नुभएकी उहाँले साढे पाँच वर्षको अवधिमा छोरोछोरी र हात्ती दुबैको माया उत्तिकै गर्दै आउनुभएको छ । चार दशक पार गरिसक्नुभएकी मिनुलाई हात्तीमाथि बसेर परिचालन गर्न झण्डै एक वर्ष हात्तीसँगै बस्नुप¥यो ।

काठमाडौँमा ज्याला मजदुरी गरेर आजित बन्नुभएकी उहाँ आफ्नै गाउँमा हात्ती सफारी खुलेको छ भन्ने थाहा पाउने बित्तिकै फर्किएर माहुतेका लागि फारम भरेर नामसमेत निकाल्न सफल हुनुभएको थियो । प्रत्येक दिन घरबाट जङ्गल र जङ्गलबाट घर गर्दा सधैँ हात्ती नै साथी भएको बताउँदै मीनुले अब सकुन्जेल हात्तीकै सेवा गर्ने र हात्तीसँगै जङ्गल सफारी गर्ने बताउनुभयो । “मलाई मेरो छोरा र हात्तीमा एउटै जस्तो लाग्छ तर फरक छोराहरु बोल्छन् हात्ती बोल्दैन् । मेरा लागि दुबै उस्तै हुन् ।” उहाँले भन्नुभयो,“विगत साढे पाँच वर्षदेखि हात्ती मेरो साथी भएको छ ।” हात्ती सफारीका लागि नाम निस्कन्छ भन्ने कल्पनासम्म नगर्नुभएकी मीनुले अहिले माहुते बनेर आन्तरिक पर्यटक घुमाउँदा आफै दङ्ग परेको बताउनुभयो । “मेरो नाम निस्कन्छ भन्ने मलाई लागेको थिएन तर निस्कियो ।

कहिलेकाहीँ पहिलाका दिनलाई सम्झन्छु । अनि आफै दङ्ग पर्छुु ।” एकल महिला उहाँको श्रीमान् आजभन्दा आठ वर्ष पहिले वैदेशिक रोजगारीको सिलसिलामा कतार जानु भएकामा त्यही छतबाट खसेर मृत्यु भएको थियो । आफ्ना दुई छोरालाई सामान्य जीवनयापन गर्नसमेत गाह्रो भएका बेलामा मीनुलाई माइती र घर दुबै पक्षबाट साथ र सहयोग नपाएपछि ज्याला मजदुरी गररै भए पनि छोरा पाल्नका लागि काठमाडौँ आएर झण्डै डेढवर्षसम्म काम घर बनाउने काम गर्नुभयो । स्थायी कर्मचारी उहाँले सुरुमा रू १५ हजारबाट हात्तीको सेवा गर्दै आइरहनु भएकीमा अहिले मासिक रु २५ हजार बुझ्नुहुन्छ ।

बिहान ५ बजे उठेर जङ्गल जाने र बेलुका ५÷६ बजे जङ्गलबाट फर्कने त मीनुको दिनचर्या नै बनिसकेको छ । सामान्य लेखपढ भएकी उहाँले हात्तीलाई भने आफ्नै भाषामा धेरै कुरा पढाइसक्नु भएको छ । मिनुले भन्नुभयो, “मेरो हात्तीले मैले जे भन्यो त्यही मान्छ । मेरो भाषा बुझ्छ । जब यस्ले मैले भनेको सबै मान्छ तब मलाई असाध्यै खुसी लाग्छ ।” मीनुले सौराज गज नामक भाले हात्तीमामाथि बसेर जङ्गल सफारी गराउँदै आउनुभएको छ । मीनु जस्तै बाँके राष्ट्रिय निकुञ्जमा हात्ती हाँक्ने महिलाको रुपमा चिनिनुहुन्छ रीताकुमारी सुवेदी पनि ।

उहाँले पनि हात्तीलाई आफ्नो भाषा सिकाउँदै आन्तरिक पर्यटकलाई निकुञ्ज सफारी गराउन थालेको छ वर्ष भैसकेको छ । तीन दशक पार गर्नुभएकी रीताले पनि परीक्षा दिएरै माहुते बन्नुभएको हो । प्लस टुसम्म पढ्नुभएकी उहाँले माहुते बन्न कम्तीमा पनि छ महिना हात्तीको सेवा गर्नुपरेको बताउनुभयो । रिताले भन्नुभयो,“हात्तीको सेवा गर्दै गर्दा उस्ले हाम्रो भाषा बुझ्ने रहेछ अनि हामीले पनि उस्को आवश्यकता ।

हात्तीमाथि बस्न मलाई कम्तीमा पनि छ महिना लाग्यो ।” बाँके राष्ट्रिय निकुञ्जमा हिजोआज हात्ती सफारिका लागि पर्यटक नआए पनि पहिला दैनिक २० देखि २५ आन्तरिक पर्यटकलाई हात्तीमा बसालेर जङ्गल सफारी गराउने गरेको रीताले बताउनुभयो ।

बिहानै उठेदेखि बेलुका नहुुँदासम्म पनि जङ्गलमै दिन बित्दा कहिलेकाहीँ दिक्क लाग्ने रीताले बताउनुभयो । “कहीलेकाहीँ त दिक्क लागेर आउँछ । जागिर छोडिदिउँ कि जस्तो पनि लाग्छ । तर फेरि यो आर्थिक मन्दीमा अरुले जागिर नपाएर भौतारिएको देख्दा जस्तो भए पनि सरकारी जागिर छ भन्ने सम्झन्छु र मन बुझाउँछु ।” बच्चा सानो हुँदा श्रीमान्लगायत परिवारका अन्य सदस्यले जागिर छाड्न कर गरे पनि रीताले घर र जङ्गल दुबै सम्हाल्न सक्ने अठोट गर्दै माहुते बनिरहनुभयो ।

अहिले आफू हात्ती हाँक्ने महिलाका नामले चिनिन पाएकोमा गौरव लाग्ने पनि उहाँले बताउनुभयो । आजभन्दा दुई वर्ष पहिला माहुते आफूलाई ‘गणेश गज’ नाम गरेको भाले हात्तीले हानेर घाइते बनाएको घटना उहाँले सुनाउनुभयो । अहिले उहाँ शान्तिकली नाम गरेको हात्तीको माहुते हुनुहुन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम साहले निकुञ्जमा हात्ती हाँक्ने महिला र पुरुषमा कुनै फरक नभएको तर जङ्गल सफारी गर्न आउने पर्यटकले भने महिला माहुुते भएको हात्तीमा सफारी गर्न अलि आनाकानी गर्ने गरेको बताउनुभयो ।

“जङ्गल सफारीमा आउने पर्यटकले महिला माहुतेभन्दा पुरुष माहुतेलाई रोज्ने गरेको पाइन्छ ।” उहाँले भन्नुभयो,“सायद शारीरिक रुपमा पुरुषको तुलनामा महिला कमजोर हुन्छन् र जङ्गलमा भइपरी आउने घटनाबाट जोगाउन सक्दैनन् भनेर पनि हुनसक्छ ।

तर हामीले पर्यटकलाई सम्झाउने गरेका छौँ ।” अधिकृत साहले माहुते हुनका लागि पहिला शरीरिक परीक्षा पास गर्नुपर्ने प्रावधान अनुसार महिला माहुतेले पनि रुख चढ्ने, दौडने र पौडने गरी तीन चरणका परीक्षा पास गरेको जानकारी दिनुभयो । उहाँका अनुसार शारीरिक परीक्षा पास गरेपछि मात्रै लिखित र मौखिक परीक्षा गर्ने नेपाल सरकारको नीति अनुरुप नै माहुते छनोट गरिन्छ ।

महिला माहुतले पनि ती सबै तहका परीक्षा पास गरेको हुनाले पर्यटकलाई महिला माहुतेप्रति लिङ्गका आधारमा भेद्भाव नगर्न आग्रह गरिन्छ । प्रमुख संरक्षण अधिकृत साहले महिला माहुुतेलाई महिनावारीको समयमा आराम गर्न भनेर बिदा दिने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“महिनावारीका समयमा महिलालाई आराम चाहिन्छ । त्यसैले उक्त समयमा निकुञ्जले महिला माहुतेलाई आरामका लागि बिदा दिने गरेको छ ।” उक्त समयमा पुरुष माहुतेले महिला माहुतेले हाँक्ने हात्तीको हेरचाहा गर्ने गर्दछन् ।

निकुन्जमा सफारीका लागि छ वटा हात्तीमध्ये भेले हात्ती दुई र पोथी हात्ती चारवटा रहेको निकुञ्ज प्रमुख साहले जानकारी दिनुभयो । उक्त निकुञ्जमा महिला पुरुष गरी २० जना माहुते छन् ।

प्रतिक्रिया दिनुहोस्