अन्नपूर्ण म्याराथनको उपाधि जुम्लाका बुढा र भण्डारीलाई



कास्की।

तेस्रो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि जुम्लाका धिराबहादुर बुढा र गनाना भण्डारीले जितेका छन् । पुरुषतर्फ जुम्लाका बुढा र महिलातर्फ जुम्लाकी भण्डारीले तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन-२०८०को उपाधि जितेका हुन्।

पदयात्राका लागि विश्वकै १० उत्कृष्ट मध्येको एक अन्नपूर्ण पदमार्गमा शनिबार सम्पन्न म्याराथनमा दुई विदेशीसहित पुरुषतर्फ ३६ र महिलातर्फ ८ जनालाई पछि पार्दै बुढा र भण्डारीले उपाधि हात पारेका हुन्।

जुन ३ अर्थात् अन्नपूर्ण आरोहण दिवसको अवसर पारी अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुक, कास्कीको आयोजनामा सम्पन्न म्याराथनको निर्धारित दूरी पुरुषतर्फ बुढाले ४ घण्टा १० मिनेट ५१ सेकेन्ड र महिलातर्फ भण्डारीले ५ घण्टा ४३ मिनेट ३ सेकेन्डमा पार गरे।

प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका होमलाल श्रेष्ठले निर्धारित दुरी ४ घण्टा १२ मिनेट १९ सेकेन्डमा पूरागदै दोस्रो र सेनाकै वेदबहादुर सुनुवारले ४ घण्टा १६ मिनेट ४८ सेकेन्ड पार गर्दै तेस्रो भए। महिलातर्फ रसिलातमाङले ६ घण्टा ५ मिनेट २ सेकेन्डमा दूरी पार गदै दोस्रो र चोकी शेर्पाले ६ घण्टा ११ मिनेट १६ सेकेन्डमा दूरीपार गर्दै तेस्रो भइन्।

४२.१९५ किलोमिटरको म्याराथन चार हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु भएर माछापुच्छ्रे आधार शिविर, देउराली, किम्रोङखोला, उरी हुँदै एक हजार ९५५ मिटर उचाइमा रहेको घान्द्रुकमा आएर सम्पन्न भएको थियो।

खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यसहित म्याराथन आयोजना गरेको आयोजक समितिका अध्यक्ष ललित गुरुङको भनाइ छ । ३ जुन १९५० का दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरी विश्वका ८ हजारभन्दा अग्लो हिमाल आरोहण गरी विश्व कीर्तिमानी राखेका थिए। सोही दिनलाई अन्नपूर्ण दिवसका रुपमा मनाइँदै आइएको छ।

प्रतियोगितामा पुरुषतर्फ विजेताले एक लाख ५० हजार, दोस्रोले एक लाख, तेस्रोले ७५ हजार नगदसँगै पदक प्रमाणपत्र पुरस्कार पाए। महिलातर्फ प्रथम हुनेले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजारसँगै पदक प्रमाणपत्र पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्