धुलिखेलमा सेनाले सुरु गर्‍यो विपद प्रतिकार्य सम्बन्धी प्रशिक्षण



काभ्रे ।

नेपाली सेना कालीजंग गण धुलिखेलले पहिलो पटक जिल्लाका १३ वटै पालिकाका १ सय ३५ वडामा विपद् सम्बन्धी कार्य गर्ने गरी तोकिएका सम्पर्क ब्यक्तिहरुका लागि विपद् द्रुत प्रतिकार्य सम्बन्धी चार दिने प्रशिक्षण धुलिखेल नगरपालिकाको सहयोगमा धुलिखेल नगरपालिकाको सभा हलमा सुरु गरेको छ । तालिमको शुभारम्भ धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले गर्नु भएको थियो ।

नेपालमा हुन सक्ने बिपद अन्र्तगत भूकम्प, बाढी, पहिरो, महामारी, खडेरी, हिमाल विस्फोटन, आगलागी, आधिबेहरी, चट्याङ्ग तथा दुर्घटनालाई न्यूनीकरण गर्न तथा विपद् भएको अवस्थामा त्यसको उद्धार तथा प्रतिकार्यका लागि अपनाउनु पर्ने सजगताका बारेमा चार दिने प्रशिक्षणमा जानकारी गराइनेछ । ‘स्थानीय तहले विपद्को समयमा नागरिकहरुको जनधनको सुरक्षाका लागि अपनाउनु पर्ने उपायका बारेमा जानकारी गराउन नेपाली सेनाले दिने प्रशिक्षण महत्त्वपूर्ण र उपलब्धि मूलक हुनेछ’–नगरपालिका प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो–‘यस्ता तालिम र अभ्यासले नागरिकहरुलाई तत्काल उद्धार गर्न सहज हुनेछ । सिकेका सिकाईहरुलाई स्थानीय स्तरमा उर्तान अवश्यका छ ।’

नेपालमै पहिलो पटक यति धेरै सङ्ख्यामा सरोकारवाला व्यक्तिहरूको सहभागितामा नेपाली सेनाले विपद् प्रतिकार्य सम्बन्धी अभ्यासका साथै प्रतिकार्यका बारेमा जानकारी गराएको हो ।

नेपाली सेना कालीजंग गण धुलिखेलका प्रमुख सेनानी प्रकाशबहादुर सिंहले दोलालघाटमा गरिएको संयुक्त अभ्यास पछि नेपाली सेनाको कालीजंग गणले १३ वटै पालिका र वडा स्तरमा पनि अभ्यास मार्फत विपद् न्यूनीकरण गर्ने उद्देश्य अनुरूप तालिम आयोजना गरिएको बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा तालिम प्राप्त ब्यक्तिहरुले अभ्यास गराउने छन् । प्राथमिक उपचारका साथै उद्धार, विपद् अघि र विपद् पछि गर्ने कार्यका बारेमा जानकारी गराइने प्रमुख सेनानी सिंहले बताउनु भयो । सिकेका सिकाईहरुलाई स्थानीय स्तरमा भएका श्रोत र साधनको प्रयोग गरी उद्धारका लागि अभ्यास गराइनेछ ।

नेपाली सेनाको कालीजंग गणले प्रकाशन गरेको विपद् द्रुत प्रतिकार्य किताब २०८० मा उल्लेख भएका अधिकांश विषयका बारेमा जानकारी गराउँदै सोही पुस्तक समेत तालिममा सहभागीहरूलाई उपलब्ध गराइनेछ । पुस्तकमा हरेक विपद्का विषयमा जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्