चौतारा साँगाचोकगढी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको प्रगति



Health care costs

२०७९ वैशाख ३० गते स्थानीय तहको चुनाव सम्पन्न भएसँगै नेपालभरका प्रत्येक स्थानीय तहमा नयाँ जनप्रतिनिधिले पदवहाली गरेका थिए । नेपाली जनताले नयाँ जनप्रतिनिधि पाएको १ वर्ष पूरा भइसकेको छ । स्थानीय सरकारको संस्थागत सुदृढीकरण सँगसँगै विकास निर्माणका कामहरू नव निर्वाचित जनप्रतिनिधिको आगमनले पनि देखिने गरी भएका छन् । नव निर्वाचित जनप्रतिनिधि पाएसँगै सिन्धुपाल्चोकस्थित चौतारा साँगाचोकगढी नगरपालिकाले मुहार फेरेको छ । यहाँ स्थानीय जनप्रतिनिधिको काम देखेर हर्षित भएका छन् । वागमती प्रदेशअन्तर्गत पर्ने यो नगरपालिका जिल्लाको सदरमुकाम पनि हो ।

यो नगरपालिका साविकका १० वटा गाविसहरू (चौतारा, पिपलडाँडा, कुविण्डे, सानोसिरुवारी, स्याउले, बतासे, इर्खु, कदमबास, साँगाचोक र ठुलोसिरुवारी गाविस) मिलेर बनाइएको नगरपालिकामा १४ वटा वडा रहेको छ । यो नगरमा स्थानीय भौतिक पूर्वाधारको मर्मत सम्भार, स्तरोन्नति र विकास भएको छ । लथालिङ्ग र अव्यवस्थित बजारको पूर्वाधार निर्माण भई व्यवस्थापन हुन थालेको छ । कृषि, पर्यटन, व्यापार, उद्योगजस्ता क्षेत्रमा आम्दानीमुखी योजना तर्जुमासँगै भौतिक निर्माणका कार्यहरू भईरहेका छन् । वातावरण संरक्षण र विपद् व्यवस्थापनमा स्थानीय सरकारहरू संवेदनशील भई विपद् प्रतिकार्य ढाँचा र संचरनाहरू निर्माण हुन थालेका छन् । जिल्लाका सबै नगरपालिका र गाउँपालिकाले आफ्नो आफ्नो क्षेत्रमा उत्तिकै राम्रा कामहरू गरिरहेका छन् । जनताको आवश्यकताका आधारमा जनप्रतिनिधिहरूले विकास निर्माण गरिरहेका छन् । अझ चौतारा साँगाचोक गढी नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० साउनदेखि हालसम्मको प्रगति विवरण हेर्ने हो भने जनताको माझमा साँच्चिकै अब्बल काम गरेको देखिन्छ । शिक्षा, कृषि, पर्यटन, व्यापार, उद्योगलगायत भौतिक निर्माणका कार्य भइरहँदा स्वास्थ्य क्षेत्रका काम पनि निक्कै अब्बल तरिकाले गरेको पाइएको छ । स्वास्थ्य नै धन हो, यो जो कोहीलाई पनि थाहा छ । जीवनको परिसूचकको रूपमा स्वास्थ्यलाई लिन सकिन्छ ।

‘स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई सम्पूर्ण शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त हुनु पनि हो’ भनेर विश्व स्वास्थ्य सङ्गठनको परिभाषामा पनि उल्लेख गरिएको छ । मौलिक हकका हिसाबले अहिलेसम्मकै उत्कृष्ट मानिएको नेपालको संविधान २०७२को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक उल्लेख छ । उक्त धाराको उपधारा १ मा भनिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन ।’ नेपालको संविधानलाई शिरोपर गर्दै यो यो नगरपालिकाले जनताको स्थास्थलाई उच्च स्थानमा राखेको छ ।

आर्थिक वर्ष २०७९÷०८० साउन देखि यस नगरपालिका भित्र १६हजार ५१ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको नगरपालिकाले जनाएको छ । स्वास्थ्य सेवा लिनेमा महिला ९हजार ३ सय ८१ जना र पुरुष ६हजार ६ सय ७० जना रहेको नगरपालिको तथ्याङ्कमा उल्लेख गरिएको छ । नगरपालिकाले होम डेलिभरी गराउनको लागि बर्थिङ सेन्टर आउन तथा रेफरल भई जाँदा एम्बुलेन्समा लाग्ने खर्च निःशुल्क गरिएको छ । जसमा २८१ जना लाई एम्बुलेन्स भाडा उपलब्ध गराइएको स्वास्थ्य शाखाका प्रमुख दिनेश नेपालले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९÷०८० साउनदेखिको प्रगति विवरण हेर्ने हो भने, स्वास्थ्य कर्मीहरूको मासिक बैठक ८ पटक गरिएको छ । मेलचौरमा १० दिने मालिकादेवी कप फुटबल गेममा निःशुल्क प्राथमिक उपचार सञ्चालन गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाअन्तर्गत वडा नं.१२ साँगाचोक आधारभूत स्वास्थ्य सेवा केन्द्र र वडानम्बर ५ मा चौतारा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शिर मेमोरियल अस्पताल बनेपाको सहकार्यमा २ दिन महिला प्रजननसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

जसमा जम्मा जाँच गरिएका महिला ७०३ जना, पाठेघर खस्ने समस्या भएका ७७ जना, रिङ पेसरी राखिएका ३१ जना, अप्रेसन गर्नुपर्ने ८ जना, पाठेघरको मुखको क्यान्सरको जाँच ५९१ जना पाठेघरको मुखको सम्भावित क्यान्सर देखिएका १६ जना, पाठेघरको मुखको सम्भावित क्यान्सर देखिएकालाई उपचार प्रक्रिया (त्जभचmयअयगनगबितष्यल) गरिएका १४ जना, पाठेघर सङ्ग सम्बन्धित समस्या भएका ३५५ जना देखिएको स्वास्थ्य शाखाका कर्मचारी शिवबहादुर पुरीले जानकारी दिनुभयो । चौतारा साँगाचोकगढी नगरपालिकाअन्तर्गत सबै वडामा ज्येष्ठ नागरिक क्लिनिक तथा स्वास्थ्य परीक्षण अभियान शुभारम्भ कार्यक्रम सुरुवात गरिएको जसमा जम्मा स्वास्थ्य परीक्षण गर्ने बिरामीको संख्या २६३६ जना रहेको प्रगति विवरणमा उल्लेख गरिएको छ । जसमा सुगरको जाँच गरेका २१०६ जना, आँखाको परीक्षण गरेका १६९९ जना, खकार परीक्षण गरेका २८ जना, मोतीबिन्दु भएका अप्रेसन गर्नुपर्ने १११ जना, आँखामा मासु पलाएको अप्रेसन गर्नुपर्ने २ जना, गर्भवती महिलाहरूको भिडियो एक्स–रे संख्या ८३ जना रहेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा सञ्चालन गरिएको २ दिने महिलाहरूको लागि प्रजनन स्वास्थ्यसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा पत्ता लागिएका आङ खस्ने समस्या भई अप्रेसन गर्नुपर्ने महिलाहरूमध्ये ५ जनाको शिर मेमोरियल अस्पतालको सहकार्यमा अप्रेसन, औषधि, खाना, बस्नको व्यवस्था तथा आउन जानसमेत निःशुल्क एम्बुलेन्सको व्यवस्थासमेत गरिएको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो

१९ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस ‘महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता ः स्वास्थ्य प्रवर्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने नाराका साथ सम्पन्न गरिएको र उक्त कार्यक्रममा ६० वर्ष उमेर पुगेका महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाहरूलाई सम्मानपत्रसहित प्रतिव्यक्ति नगद १० हजार हजारका दरले ३ जनाको सम्मानजनक बिदाइ गरिएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

त्यस्तै, नगरपालिकाले राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको थियो । जसमा ६–११ महिनाका ३३२ र १२–६० महिनाका २५६९ बालबालिकालाई भिटामिन ए खुवाइएको र १२–२३ महिनाका ६१४ जना र २४–६० महिनाका २०१३ बालबालिकालाई जुकाको औषधि खुवाइएको र ३९९ जना बालबालिकाहरूलाई बाल भिटा वितरण गरिएको छ ।

त्यस्तै, प्रगति विवरणलाई हेर्ने हो भने, विपन्न नागरिकलाई औषधि उपचार बापत सहुलियत उपलब्ध गराउन ९० जनालाई सिफारिस गरिएको छ

जसमा क्यान्सरका ३०, मिर्गाैलाका १२,स्पाइल इन्जुरीका ४,मुटु रोगका ३३ हेड इन्जुरीका ६ जनालाई आर्थिक साहायता विपन्न नागरिकलाई आर्थिक सहायता रु १५ हजारका दरले ४३ जनालाई उपलब्ध गरिएको छ ।

यस नगरपालिकाभित्र पूर्ण खोप पाउने बालबालिकाहरूको संख्या ७३ जना रहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाभित्र रहेका बर्थिङ साँगाचोक आधारभूत स्वास्थ्य सेवा तथा प्रसूति केन्द्रमा १४ र ठुलोसिरुवारी स्वास्थ्य चौकीमा ९ जनालाई प्रसूति सेवा प्रदान गरिएको छ । १६२ पटक गाउँघर क्लिनिक सेवा सञ्चालन गरी ३६१९ जनालाई सेवा प्रदान गरिएको छ । खोप क्लिनिक मार्फत जम्मा १८३ पटक खोप सेवा सञ्चालन गरी १६३० जनालाई सेवा दिइएको छ । १६ महिला स्वास्थ्य स्वयम सेविका मार्फत स्वास्थ्य सेवा १७९५६ जनालाई प्रदान गरिएको छ । आत्महत्या न्यूनीकरण दिवस मनाइएको छ । वार्षिक समीक्षा सम्पन्न भएको छ । चौमासिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । मनोसामाजिक समस्या भएका यस आर्थिक वर्षमा निरन्तर मनोविमर्श सेवा लिइरहेका ५१ जना र नयाँ ११ ना गरी जम्मा ६२ जना बिरामीहरूलाई मनोविमर्श सेवा दिइएको र २६ जना बिरामीहरूको सुधार भई सेवा बन्द गरिएको र मानसिक रोगको औषधि सेवन गर्ने बिरामीहरूमध्ये १२७ जनाको डाटा सङ्कलन गरिएको
छ ।

५ वर्षदेखि ११ वर्ष मुनिका बालबालिकाहरूमा फाइजर बायोन्टेक कोभिड खोप अभियान सञ्चालन गरिएको छ । जसमा बालिका र बालकका लागि पहिलो चरण १९९६, १९६६ दोस्रो चरण १९८, ३१९१९ जम्मा ३९६२,३९०२ खोप लगाइएको छ ।

यस चौतारा साँगाचोकगढी नगरपालिकामा नेपाल सरकारको विपन्न नागरिकहरूलाई औषधि उपचारबापत मासिक ५ हजार खर्चको कार्यविधिको आधारमा ९९ जनालाई दिइनुका साथै, स्वास्थ्य बिमा कार्यविधि २०७९ तयार गरी कार्यान्वयनमा ल्याइएको छ । विभिन्न कार्यक्रमहरूको अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको । स्वास्थ्यकर्मीहरूका लागि ७ दिन बृहत् पोषण कार्यक्रमका साथै २ सञ्चालन गरिएको निःशुल्क आँखा स्वास्थ्य शिविर तथा मोतियाबिन्दुको शल्यक्रिया कार्यक्रममा जम्मा आँखा स्वास्थ्य परीक्षण ६१८ जना र ५५ जनाको मोतियाबिन्दुको शल्यक्रिया सम्पन्न भएको छ । मानसिक स्वास्थ्य शिविर सञ्चालन गरी ८६ जना मानसिक स्वास्थ्य समस्या भएका सेवाग्राही लाभान्वित भएका छन् । महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाहरूलाई पोषणसम्बन्धी आधारभूत तालिम प्रदान गरिएको छ । वैशाख महिनामा ६ र ७ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम २७२९ बालबालिकाहरूलाई जुका तथा भिटामिन ए ३०५२ बालबालिकाहरूलाई खुवाई कार्यक्रम सम्पन्न गरियो । वयस्कहरूका लागि फाइजर बायोन्टेक वुस्टर खोप अभियान सम्पन्न गरिएको स्वास्थ्य शाखाका कार्यरत कर्मचारी मञ्जु रोका मगरले जानकारी दिनुभयो ।

यसरी नगरपालिकाले स्वास्थ्यसम्बन्धी गरेको विभिन्न कार्यक्रम प्रति नगरपालिकावासी निक्कै हर्षित भएका छन् । स्थानीय कुमार श्रेष्ठले नयाँ जनप्रतिनिधि चुनिएपछि स्वास्थ्यको क्षेत्रमा निक्कै महत्वपूर्ण काम गरिरहेको बताउनुभयो । त्यस्तै, केही समयदेखि क्यान्सरको रोगले थलिएकी वडा नं ८ की कान्छीमाया तामाङ पनि औषधि उपचारबापत सहुलियत पाउँदा खुसी देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ –‘नगरपालिकाले औषधि उपचारबापत सहुलियत सहयोग गरेर मलाई धेरै भरथेग भएको छ ।’ त्यस्तै वडा नं ५ चौताराका स्थानीय रामबहादुर मगर पनि निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गर्न पाउँदा हर्षित भएका छन् । ‘आफंैले पैसा तिरेर शल्यक्रिया गर्न परेको भए खर्च नपुगेर रोग बोकेर बस्न पथ्र्याे होला तर नगरपालिकाले निशुःल्क शिविर आयोजना गरेर मेरो आँखाको शल्यक्रिया हुन पायो म त एक दम खुसी छु’– स्थानीय मगरले भन्नुभयो । नगरपालिकाले पनि स्थानीयको स्वास्थ्यप्रति निक्कै चासो देखाएको छ । नगरपालिकाले गरेको कामप्रति पछिल्लो समय यहाँका स्थानीय सन्तुष्ट देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्