इन्टर १३ वर्षपछि फाइनलमा



लन्डन, (एजेन्सी) । इन्टर मिलान १३ वर्षपछि युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान १३ वर्षपछि यस प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । एसी मिलानमाथि सेमिफाइनलको दोस्रो लेगमा १–० ले तथा समग्रमा ३–० को गोलअन्तरले जित निकाल्दै इन्टर फाइनलमा पुग्न सफल भएको हो । सानसिरोमा मंगलबार राति भएको खेलमा इन्टरको जितमा दोस्रो हाफमा अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले गरेको गोल नै निर्णायक बन्यो । उनले ७४औं मिनेटमा परिवर्तित खेलाडी रोमेलु लुकाकुको पासमा गोल गर्न सफल भएका थिए ।

पहिलो लेगमा इन्टर मिलान २–० ले विजयी भएको थियो । सानसिरोमा इन्टरले एसी मिलानसंग दवाबको सामना गर्नुपरे पनि गोल भने घरेलु टोलीले गर्न सफल भएको थियो । यससँगै इन्टरले पछिल्लो तीन भेटमा मिलानलाई पराजित गर्न सफल भएको छ । सान सिरोमा इन्टरले निकालेको यो लगातार आठौं जित समेत हो । फाइनल पुगेसँगै इन्टरलाई चौथो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने अवसर मिलेको छ ।

इन्टरले सन् २००९–१० को सिजनको फाइनलमा जर्मन क्लब बायर्न म्युनिखलाई २–० ले पराजित गरेर उपाधि जितेयता फाइनलमा पुग्न सकेको थिएन । त्यसयता इन्टर क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन । अब इन्टरले उपाधिका लागि १० जुनमा इस्तानबुलमा हुने फाइनलमा स्पेनिस क्लब रियल मेड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ । यी दुई टोलीबीचको सेमिफाइनलको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्