मोहसिनले लखनउलाई जित दिलाए



नयाँ दिल्ली, (एजेन्सी) । अन्तिम ओभरमा मोहसिन खानले किफायती बलिङ गरेपछि आईपीएलअन्तर्गत मंगलबारको खेलमा लखनउ सुपर जायनट्सले महत्वपूर्ण जित हासिल गरेको छ ।

लखनउले मुम्बई इन्डियन्सलाई ५ रनले हराएको हो । अन्तिम ६ बलमा मुम्बईले मात्र ११ रन बनाउनु पर्ने थियो । मोहसिनले केवल ५ रन खर्चेका थिए । क्रिजमा क्यामरोन ग्रीन र टिम डेभिड थिए । तर, उनीहरुले बाउन्ड्री प्रहार गर्न सकेनन् । पहिलो बलमा रन बनेन भने दोस्रो र तेस्रो बलमा एक–एक रन बनेको थियो । चौथो बलमा रन नबन्दा मुम्बईको लागि बाँकी दुई बलमा ९ रन जोड्नु पर्ने समीकरण भयो । यो खास गाह«ो थिएन तर, मोहसिनले मुम्बईका ब्याटरलाई अंकुश लगाएर ३ रन मात्रै दिए ।

यो जितसँगै लखनउको प्लेअफको सम्भावना बलियो पनि भएको छ । जितको लागि १ सय ७८ रनको लक्ष्यको जवाफमा पाँच पटकको च्याम्पियन मुम्बई १ सय ७२ रनमा समेटिएको थियो । मुम्बईका लागि ओपनर तथा विकेटकिपर ईशान किशनले सर्वाधिक ५९ रन बनाएका थिए । कप्तान रोहित शर्माले ३७ रनमा बनाए । रोहित र ईशानले पहिलो विकेटका लागि ९.४ ओभरमा ९० रनको साझेदोरी गदै जित्ने छनक देखाएका थिए ।

तर, दुबै ओपनर आउट भएपछि मुूम्बई दवावमा परेको थियो । स्पिनर रवि विशोइले खतरनाक बनिरहेका ओपनरलाई आउट गरेपछि लखनउ खेलमा फर्किएको थियो । अन्यमा सूर्यकुमार यादव ७, नेहाल वढेरा १६ र विष्णु विनोद २ रनमा आउट भए । ग्रीन ४ रनमा नटआउट रहे । लखनऊका लेगस्पिनर रविले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । यश ठाकुर ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । मोहसिनले ३ ओभरमा २६ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि लखनऊले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । लखनऊका लागि मार्कस स्टोइनिसले सर्वाधिक ८९ रन बनाए । उनी नटआउट रहे । निकोलस पुरन ८ रनमा नटआउट रहे । चौथो विकेटका लागि पुरन र स्टोइनिसले २४ बलमा ६० रनको अविजित साझेदारी गदै प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए ।

कप्तान क्रुनाल पान्ड्या ४९ रनमा रिटायर्ट हर्ट भएका थिए । लखनऊको सुरुवात नै खराब रहँदा खुलेर खेल्न सकेन । तीव्र गतिका बलर जेसन बेहर्नडोर्फले ओपनर दीपक हुडालाई टिम डेविडबाट ५ रनमा क्याच आउट गराए । स्पिनर पियुष चवालाको बलमा क्विन्टन डि कक १६ रनमा विकेटकिपर ईशानबाट क्याच आउट भए ।

बेहर्नडोर्फले प्रेरक माङ्कडलाई गोल्डेन डक पेभेलिएन फर्काएका थिए । एक समय लखनऊ ६.१ ओभरमा ३५–३ को खराब अवस्थामा पुगेको थियो । चौथो विकेटका लागि पान्ड्या र स्टोइनिसले ५९ बलमा ८२ रनको साझेदारी गरेका थिए । मुम्बईका जेसन बेहर्नडोर्फले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । पियुष चवालाले ३ ओभरमा २६ रन खर्चेर १ विकेट लिए ।

लखनऊ १३ खेलमा ७ मा जित र ५ मा हारसहित १५ अंकका साथ तेस्रो स्थानमा छ । अन्तिम खेल लखनऊले शनिबार कोलकातासँग खेल्नेछ । उक्त खेलमा लखनऊ विजयी भएमा प्लेअफमा पुग्नेछ । पराजित भएमा अन्य टोलीको नतिजामा भरपर्छ ।

चेन्नई समान खेल र नतिजाका साथप १५ अंक भएपनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ । गुजरात १३ खेलमा ९ मा जित र ४ मा हारसहित १८ अंकका साथ शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरेकोछ । मुम्बई १३ खेलमा ७ मा जित र ६ मा हारका साथ १४ अंक जोेड्दै चौथो स्थानमा छ । मुम्बईले अन्तिम खेल आइतबार हैदराबादसँग खेल्नेछ । उक्त खेलमा विजयीसँगै अन्य टोलीको नतिजामा पनि भरपर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्