लिभरपुलको शीर्ष चार सम्भावना बलियो



लन्डन, (एजेन्सी) । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ ।

इजिप्टका फरवार्ड मोहम्मद सलाहको ह्याट्रिक असिस्ट मद्दतमा लिभरपुलले जित हात पार्दै शीर्ष चारको सम्भावना बलियो बनाएको हो । लिभरपुलले घरेलु टोली लेस्टर सिटीमाथि ३–० गोलअन्तरको सहज जित हात पारेको हो । किङ पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलमा लिभरपुलको सहज जितमा कर्टिस जोन्सले दुई तथा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डले एक गोल गरे । तीनै गोलमा मोहम्मद सलाहले असिस्ट प्रदान गरेका थिए ।

खेलको ३३औं मिनेटमा कर्टिस जोन्सको गोलबाट लिभरपुलले १–० को अग्रता लिन सफल भएको थियो । उनले सलाहको पासमा गोल गर्न सफल भए ।

३६औं मिनेटमा कर्टिस जोन्सले सलाहकै पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि लिभरपुल पहिलो हाफमा २–० ले अघि बढेको थियो । त्यसपछि ७१औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डले गोल गर्दै लिभरपुलको जित पक्का गरे । आर्नाेल्डले सलाहकै पासमा गोल गर्न सफल भएका थिए ।यस जितसँगै लिभरपुलको ३६ खेलबाट ६५ अंक पुगेको छ ।

लेस्टरमाथि रेलिगेसनको दवाब

पराजित लेस्टरलाई भने रेलिगेसनको दवाब बढेको छ । लेस्टर ३६ खेलबाट ३० अंक जोडेर १९औं स्थानमा छ । लिगमा अब मात्र दुई खेल बाँकी रहेको छ । सन् २०१६ को प्रिमियर लिग विजेता लेस्टरले प्रिमियर लिगको हैसियत जोगाउन बाँकी रहेका दुवै खेल जित्नुपर्छ र अन्य खेलको नतिजा पनि आफ्नो अनुकुल आएको कामना गर्नुपर्नेछ । लेस्टरले अन्तिम दुई खेलमा क्रमशः न्युक्यासल युनाइटेड र वेस्टहमको समना गर्नेछ । साउथह्यामटन रेलिगेसनमा परिसक्दा लेस्टरसँगै नटिङहम फरेस्ट, एभर्टन र लिड्समध्येबाट दुई टोली रेलिगेसनमा पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्