दोस्रो प्रदेश खेलकुद जेठ ७ गतेदेखि



हेटौंडा, (नेस) । वागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जेठ ७ गतेबाट दोस्रो संस्करणको प्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ ।

खेलकुद विकास परिषद्ले मंगलबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन कार्यक्रम जेठ ७ गते प्रदेशको राजधानी हेटौंडास्थित पिप्ले–क्याम्पा रंगशालामा हुने जानकारी दिए ।

प्रतियोगितामा १३ खेलमा २ सय १९ स्वर्णका लागि प्रदेशका १३ जिल्लाबाट २ हजार ५ सय २ खेलाडी मैदानमा उत्रिने छन् । १ हजार ७५ महिला र १ हजार ४ सय २७ पुरुष गरी २ हजार ५ सय २ खेलाडीले २ सय १९ स्वर्ण, २ सय १९ रजत र ३ सय ५६ कास्य गरी ७ सय ९४ पदकका लागि खेल्नेछन् । मकवानपुरमा ९ खेल खेलाइनेछ भने एउटा खेल चितवन, एउटा ललितपुर र २ वटा काठमाडौंमा हुनेछ ।

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा महिला फुटबल प्रतियोगिता, पिप्ले क्याम्पा रंगशालामा पुरुष फुटबल र एथ्लेटिक्स प्रतियोगिता, हेटौंडा–४ को हुप्रचौरमा महिला र पुरुष भलिबल, रग्बी, कराते, तेक्वान्दो र आईटीएफ तेक्वान्दो, हेटौंडा–४ स्थित कभर्डहलमा बक्सिङ, हेटौंडा–११ स्थित कभर्डहलमा ब्याडमिन्टन प्रतियोगिता हुनेछ ।

उसु र जुडो काठमाडौंमा, पौडी ललितपुरमा र क्रिकेट प्रतियोगिता चितवनमा हुने परिषद्का सदस्य सचिव भण्डारी बताए । प्रतियोगितामा स्वर्ण, रजत र कास्य विजेता खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपिया“ प्राप्त गर्नेछन् । पहिलो संस्करणमा ८ खेल खलाइएको प्रदेश खेलकुद प्रतियोगितामा यस पटक १३ वटा खेल खेलाइ“दैछ ।

प्रदेशका खेल प्रतिभाको खोजी, प्रदेशको टिम तयार र खेलाडीलाई नियमित अभ्यास र प्रशिक्षणको वातावरण बनाउने उद्धेश्यसाथ हुन लागेको प्रदेश खेलकुदको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगिताका लागि करिब ९ करोड ४२ लाख खर्च अनुमान गरिएको छ । ७ गते वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो प्रदेश खेलकुद उद्घाटन गर्ने कार्यतालिका छ ।

प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानले खेलकुदका गतिविधि बढाउने र पूर्वाधार निर्माणमा प्रदेश सरकारले प्राथमिकतामा राखेको बताइन् । खेल क्षेत्रको लगानीलाई थप व्यवस्थित गरिने उनको भनाइ छ । ‘खेलकुदको सर्वांंगीण विकासका लागि काम गरिरहेका छौं,’ मोक्तानले थपिन्–अन्य प्रदेशले प्रदेश खेलकुद नगरेको अवस्थामा हामीले खेलकुद विकास परिषद्मार्फत् निरन्तरता दिएका छौं ।

प्रतिक्रिया दिनुहोस्