उरुग्वेको मुख्य प्रशिक्षकमा बेइल्सा



लन्डन, (एजेन्सी) । उरुग्वेले मार्सेलो बेइल्सालाई राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

उरुग्वे फुटबल संघले बेइल्सालाई सन् २०२६ को विश्वकप सम्मका लागि नियुक्त गरिएको बताएको छ । सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रुपमा आयोजना गर्दैछन् । डिएगो ओलन्सो बाहिरिएपछि बेइल्सालाई नियुक्त गरिएको हो । सन् २०२२ को कतार विश्वकपसँगै ओलन्सोको सम्झौता सकिएको थियो । १५ महिना अघि इङ्लिस प्रिमियर लिगको क्लब लिड्स युनाइटेडबाट अलग भएपछि ६७ वर्षका बेइल्सा जिम्मेवारविहिन रहँदै आएका थिए । बेइल्साले सन् १९९८ देखि २००४ सम्म अर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका थिए ।

बेइल्साको प्रशिक्षणमा लिड्स २०२० मा प्रिमियर लिगमा बढुवा भएको थियो । तर, यस सिजन फेब्रुअरीमा लगातार चार खेल गुमाएसँगै उनी बर्खास्तगीमा परेका थिए । उनलाई अनुबन्ध गर्न बर्नमाउथ र एभर्टनले पनि प्रयास गरेका थिए । बेइल्सा सन् २०१८ मा लिड्सको मुख्य

प्रशिक्षक बनेका थिए । लिड्सलाई १६ वर्षपछि प्रिमियर लिगमा बढुवा गराएपनि उनी क्लबका समर्थकमाझ लोकप्रिय छन् ।
प्रिमियर लिगमा जानुअघि उनले फ्रान्स, इटाली, स्पेन र अर्जेन्टिनाका पनि प्रशिक्षक बनिसकेका छन् । साथै उनी २००७ देखि २०११ मा चिलीका मुख्य प्रशिक्षक बनेका थिए । उनले अर्जेन्टिनाको न्युवेल वल्ड ब्वाइज, अमेरिकी क्लब, स्पेनिस क्लबसँगै फ्रान्सेली क्लबमा पनि प्रशिक्षण सम्हालिसकेका छन् । उरुग्वे फिफाको विश्व वरियतामा १६औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्