बार्सिलोना स्पेनिस ला लिगा च्याम्पियन



लन्डन, (एजेन्सी) । क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ ।

क्याटलान प्रतिद्धन्द्धी स्पान्योललाई ४–२ गोलअन्तरले पराजित गर्दै बार्सिलोना चार खेल बाँकी छँदै चार सिजनपछि ला लिगाको च्याम्पियन बनेको हो । जाभी हर्नान्डेज नोभेम्बर २०२१ मा प्रशिक्षक बनेपछि बार्सिलोनाले पहिलो पटक ला लिगाको उपाधि जितेको हो । आरसिडिई स्टेडियममा आइतबार राति भएको खेलमा बार्सिलोनाको जितमा पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई तथा एलेक्स बाल्डे र जुल्स कुन्डेले समान एक गोल गरे । घरेलु टोली स्पान्योलका जेभिएर पुएडो र जोसेलुले गोल फर्काएका थिए ।

खेलको ११औ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाएका थिए । उनले एलेक्स बाल्डेको पासमा गोल गर्न सफल भएका थिए । २०औं मिनेटमा बाल्डेले पेड्रीको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । ४०औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३–० ले अघि बढेको थियो । उनले राफिन्हाको पासमा गोल गर्न सफल भएका थिए ।

खेलको ५३औं मिनेटमा जुल्स कुन्डेले फ्रान्की डि जोङको पासमा गोल गरेपछि बार्सिलोना खेलमा ४–० ले अघि बढ्यो । त्यसपछि बार्सिलोनाले दुई गोल बेहोरेपनि नतिजा बदलिएन । ७३औं मिनेटमा जेभिएर पुएडोले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याएका थिए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा जोसेलुले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याएपनि टोलीको हार टार्न पर्याप्त भएन ।

यस जितसँगै बार्सिलोनाको ३४ खेलबाट ८५ अंक पुगेको छ । सोमबार जारी सिजनको लिग च्याम्पियनको छिनोफानो हुँदा बार्सिलोनाले दोस्रो स्थानको रियल मेड्रिडलाई १४ अंकले पछि पारेको छ । अब बार्सिलोनाले सबै चार खेलमा हार र रियलले सबै चार खेलमा जित निकालेपनि नतिजामा कुनै फेरबदल हुने छैन । पराजित स्पान्योल ३४ खेलबाट ३१ अंक जोडेर १९औं स्थानमा छ । बार्सिलोनासँगको हारसँगै स्पान्योल चार सिजनपछि रेलिगेसनमा जाने खतरामा छ ।

गत १६ अक्टोबरमा रियल मेड्रिडसँग ३–१ ले पराजित भएपछि बार्सिलोना ला लिगामा तीन अंकले पछि परेको थियो । त्यसबेला बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाट पनि बाहिरिएको थियो । तर, बार्सिलोनामा १७ वर्षको करियरमा आठ ला लिगा उपाधि जितेका पुर्व मिडफिल्डर तथा हालका प्रशिक्षक जाभीले आफ्नो पहिलो पूर्ण सिजनमा टोलीलाई च्याम्पियन बनाउन सफल भए ।

कप्तान सर्जियो बुस्केट्सका लागि पनि यो नतिजा विशेष बन्यो । उनले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने बताइसकेका छन् । उनले बार्सिलोनामा १८ सिजन बिताएका छन् । ३४ वर्षीय बुस्केट्सको यो बार्सिलोनाबाट नवौं ला लिगा उपाधि हो । बाल्डे र कुन्डेले बार्सिलोनाबाट ला लिगामा पहिलो गोल गर्न सफल भए । लियोनेल मेसीले अगस्ट २०२१ मा क्लब छोडेपछि बार्सिलोनाको यो पहिलो ला लिगा उपाधि हो ।

खराब आर्थिक अवस्था र लियोनल मेसीको बर्हिगमनपछि लय गुमाएको बार्सिलोना यस सिजन भने ला लिगाको सुरुआतबाटै उच्च लयमा देखिएको थियो । यसै सिजन मात्र बार्सिलोना आएका लेवान्डोवस्की क्लबको उपाधि लक्ष्यमा प्रमुख पात्र बने । उनले लिगमा २१ गोल गरे । अब बार्सिलोनाले शनिबार रियल सोसिडाडविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्