युभेन्ट्सद्वारा क्रिमोन्से पराजित



रोम, (एजेन्सी) । इटालियन सिरी ए को खेलमा युभेन्ट्सले क्रिमोन्सेलाई पराजित गरेको छ ।

आइतबार क्रिमोन्सेमाथि २–० गोलअन्तरको जितसहित युभेन्ट्स इटालियन सिरी ए को शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो पारेको छ । युभेन्ट्सको जितमा फाजियोली र ब्रेमरले समान एक गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । एलिएन्ज एरिना टुरिनमा आइतबार राति भएको खेलमा घरेलु टोली युभेन्ट्सले खेलको सुरुवातदेखि नै बल पोसेसन राख्दै पाहुना टोलीलाई दवाबमा राखेपनि गोलको लागि दोस्रो हाफ कुर्नुपरेको थियो ।

खेलको ५५औं मिनेटमा निकोलो फागिओलीले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाएका थिए । उनले फेड्रिको चिइसाको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ७९औं मिनेटमा ग्लेइसन ब्रेमेरले गोल गर्दै युभेन्ट्सको जित पक्का गरे ।चोटका कारण झन्डै एक वर्षको अन्तरमा पहिलो रोजाईमा खेलेका फ्रान्सेली मिडफिल्डर पल पोग्वाले पुनः चोट बोक्दै २४औ मिनेटमा मैदानबाट बाहिरिन पुग्यो ।

लिगको सुरुआतबाटै शीर्ष चारमा बस्दै आएको युभेन्ट्स सिरी ए ले खेलाडी खरिद–बिक्रीमा आर्थिक अनियमितता गरेको भन्दै १५ अंक घटुवा गरेसँगै शीर्ष चारबाट तल झरेको थियो । तर, गत महिनामाति युभेन्टसमाथिको कारबाही रद्द भएको थियो । जसले युभेन्ट्सलाई पुनः शीर्ष चारमा फर्काएको थियो । ३५ खेलमा ६९ अंक जोडेको युभेन्ट्स दोस्रो स्थानमा छ । समान खेलमा ८३ अंक जोडेको नेपोलीले उपाधि जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्