ह्यामिल्टनसँग नजिकीइन् शकिरा



वाशिंटन, (एजेन्सी) । चर्चित सुपरस्टार गायिका शकिरा फर्मूला वान खेलका ड्राईभर लुई ह्यामिल्टनसँग नजिकिएकी छन् ।

स्पेनिस स्टार फुटबलर जेरार्ड पिकेसँग अलग भएपछि गायिका शकिराको फर्मूला वान ड्राईभर लुई ह्यामिल्टनसँगको प्रेम प्रसंगको चर्चा अन्तर्राष्ट्रीय समाचारमाध्यमहरुमा प्रकाशित भएको हो । शकिरालाई पछिल्लोसमय ३८ वर्षीय ह्यामिल्टनसँग अमेरिकाको मायामीस्थित एक रेष्टुरेन्टमासँगै डिनर गरिरहेको देखिएको जनाएको छ । मायामीको लोकप्रिय रेष्टुरेन्ट सिप्रियानीमा उनीहरु दुई जना अंकमाल गरेर रमाईरहेको देखिएको थियो ।

खासमा उनीहरु मे ८ मा मायामीमा भएको मायामी ग्राण्ड प्रिक्स एफ १ रेसको दौरान त्यहाँ पुगेका थिए । मायामी त्यही शहर हो जहाँ शकिरा पिकेसँग अलग भएपछि बस्दै आइरहेकी छिन् । यसअघि पनि यी दुई जोडीलाई स्विमिङ्ग पुल लगायत विभिन्न स्थानमा एकसाथ देखिएको थियो । ४६ वर्षीय शकिरा ११ वर्ष लामो बैवाहिक सम्बन्धपछि सन् २०२२ मा पिकेसँग छुट्टिएकी थिइन् । पिके र शकिराको प्रेम सन् २०१० मा स्पेनले फिफा विश्वकपको उपाधि जिते लगतै शुरु भएको थियो ।

शकिराले उक्त संस्करणमा गाएको ‘वाका वाका’ बोलको गीत निकै चर्चित समेत बनेको थियो । शकिरा अहिले आफ्नो दुई सन्तानसँग मायामीमा बसिरहेकी छिन् । अर्कोतिर शकिरासँग टाढिएका पिके पनि २४ वर्षीय क्याटालान सुन्दरी क्लारा सियासँग प्रेमसम्बन्ध छ । यी दुई जोडीले गत महिना दुबईमा छुट्टी मनाउँदाको चर्चा निकै चुलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्