चर्च हार्दा जावलाखेल शीर्ष स्थानमा यथावत



काठमाडौं । चर्च ब्वाइज्स युनाइटेड पराजित हुँदा जारी शहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शीर्ष स्थानमा जावलाखेल युथ क्लब यथावत रहेको छ । शनिबार चर्च ब्वाइज्सलाई त्रिभुवन आर्मी क्लबले १–० ले पराजित गरेको हो । चर्चको लागि यो खेल बराबरी गरेपनि शीर्ष स्थानमा उक्लिन पाउने थियो । तर, हारले गर्दा जावलाखेललाई सीधै लाभ मिल्यो । १७ चरणको खेल समाप्तिसम्म जावलाखेल ३०  अंकसहित शीर्ष स्थानमा रहेको छ । यति नै अंक जोडेपनि चर्च हेड टू हेडमा पछि पर्दै दोस्रो स्थानमा रहेको छ ।

आर्मी भने २४ अंक जोडेर छैठो स्थानमा उक्लिएको छ । आर्मीलाई जित दिलाउन जिलेस्पीजंग कार्कीले निर्णायक गोल गरेका थिए । उनले ४४ औं मिनेटमा गरेको गोल नै जितको लागि पर्याप्त भएको थियो । यो उनको जारी लिगमा छैठो गोल थियो । अघिल्लो खेलमा आर्मी एपीएफसँग ३–० ले हारेको थियो ।

दीपक चम्के

दीपकराज सिंह ठकुरीले शानदार खेल देखाएपछि दशरथ रंगशालामा भएको खेलमा सातदोबाटो युथ क्लबले जित निकालेको छ । दीपकले दुई गोल गरे भने एक गोलको लागि असिस्ट गरेका थिए । यो खेलमा सातदोबाटोले नेपाल एपीएफ क्लबलाई ३–० ले हराएको थियो । अघिल्लो खेलमा एपीएफले आर्मीलाई ३–० ले हराएको थियो भने यस खेलमा त्यति नै अन्तरले एपीएफले हार बेहोर्न पुग्यो ।

यस जितसँगै सातदोबाटो अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । सातदोबाटोको १७ खेलमा २६ अंक जोडेको छ । एपिएफ १७ खेलमा २२ अंक जोडेर सातौं स्थानमा रहेको छ । १३ औं मिनेटमा विलियम ओपोकुले सुन्दर गोल गरेका थिए । उनले दीपकले बायाँ साइडबाट दिएको पासमा वान टचमै भली प्रहार गरी गोल गरेका थिए ।

३६ औं मिनेटमा दीपकले सातदोबाटोको अग्रता दोब्बर पारे । विलियमले मिडफिल्डमा फ्लिक गरेको बललाई नियन्त्रणमा लिँदै दिपकले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरे । ७७ औं मिनेटमा दीपकले एकल प्रयासमा व्यक्तिगत दोस्रो गोल गरे । सुशील लामाले मिडफिल्डबाट दिएको पास लिएपछि पेनाल्टी क्षेत्र बाहिर डिफेन्डरको बीचबाट गरेको प्रहार गोल भएको थियो । यो गोलसँगै दीपकको जारी लिगमा १२ गोल भएको छ ।

थ्रीस्टार लगातार गोलबिहीन

थ्रीस्टार क्लब १४ औं चरणमा खुमलटारविरुद्ध २ गोल गरेपछि लगातार तीन खेलमा गोलविहीन भएको छ । १७ औं चरणमा मच्छिन्द्रसँग १–० ले हारेपछि थ्रीस्टार लगातार ३ खेलमा गोलविहीन भएको हो । यसअघि १५ औं चरणमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो । अघिल्लो चरणमा एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो ।

थ्रीस्टार २५ अंकसहित अंकतालिकाको पाँचौ स्थानमो छ भने मच्छिन्द्र २७ अंकसहित तेस्रो स्थानमा रहेको छ । मच्छिन्द्र र शीर्ष स्थानका टोलीबीच ३ अंकको दुरी मात्रै छ । यसले गर्दा उपाधि होड रोचक समेत बनिरहेको छ । अर्को रेलिगेसनमा पनि होड चलिरहेको छ । पुलिस, फ्रेन्ड्स, एनआरटी, खुमलटार, संकटा, हिमालयन शेर्पाबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

गोलकर्ता :

१३ गोल—मेसुके ओलोमोउ (खुमलटार) १२ गोल— एन्कोटे मासोबी (जावलाखेल), दीपकराज सिंह ठकुरी (सातदोबाटो)
१० गोल—ओलावाले आफिज (मच्छिन्द्र), रफिक अमिनु (फ्रेन्ड्स)
८ गोल—फोडे फोफाना (जावलाखेल)
७ गोल—अजायी मार्टिन्स (थ्रीस्टार), स्टेफान बिनोङ (खुमलटार),
६ गोल—संजिव विष्ट (एनआरटी), कोफी कोडु (मनाङ), अर्मान्ड बीडोम (एपीएफ), जिलेस्पीजंग कार्की (आर्मी)
५ गोल—अन्जन विष्ट (चर्च ब्वाइज), नवयुग श्रेष्ठ (आर्मी), अहमद हिजाजी (पुलिस), विलियम ओपोकु (सातदोबाटो), ओन्गुना एन्केन्गु (संकटा)

प्रतिक्रिया दिनुहोस्