रियल र म्यानचेस्टर सिटीको बराबर



लन्डन, (एजेन्सी) । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल मेड्रिड र म्यानचेस्टर सिटीबीचको खेल बराबरीमा टुंगिएको छ ।

रियल मेड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबाउमा मंगलबार राति भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । रियलले भिनिसियस जुनियरको गोलमा अग्रता लिएपनि दोस्रो हाफमा सिटीले गोल फर्काएको थियो । सिटीले पहिलो हाफमा रियललाई पूर्ण दवाबमा राखेपनि अग्रता भने रियलले लिएको थियो । दोस्रो हाफमा सिटीले खेलमा फर्किएपनि रियलले अन्त्यतिर राम्रो प्रदर्शन गरेको थियो । खेलको ३६औं मिनेटमा रियलले सुरुवाती अग्रता लिएको थियो । काउन्टर अट्याकमा एडुआर्डो कामाभिंगाले बढाएको बललाई भिनिसियस जुनियरले गोलमा परिणत गरेका थिए । ब्राजिलियन विंगरले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारमा बललाई डाइभ गरेर रोक्न खोजेपनि गोलरक्षक एडरसनलाई बिट हुँदै गोलमा परिणत भएको थियो ।

खेलको ६७औं मिनेटमा सिटीले उस्तै प्रकृतिको गोलमार्फत खेल बराबरीमा ल्याउन सफल भयो । कप्तान इल्काए गुन्डोगनको पासमा केभिन डे ब्रुएनाले आकर्षक गोल गरेका थिए । पेनाल्टी क्षेत्र बाहिरबाट डे ब्रुएनाले गरेको शक्तिशाली प्रहारलाई उनकै राष्ट्रिय टोलीका सहकर्मी थिबाउट कोर्टुवाले बचाउने अवसर नै पाएनन् । खेलको ९०औं मिनेटमा एडरसनले सुन्दर बचाउ गर्दै रियललाई अग्रता लिन दिएनन् । औरेलिएन चुआमेनीले लामो दुरीबाट गरेको प्रहारलाई एडरसनले डाइभमा पन्च गर्दै गोलबाट टाढा राखे । दोस्रो लेग अर्को साता सिटीको घरेलु मैदानमा हुनेछ । सिटीलाई रियलसँग गत सिजन सेमिफाइनलमै व्यहोरेको हारको बदला लिने अवसर समेत मिलेको छ ।

म्यानचेस्टर सिटीका ज्याक ग्रिलिसले च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा रियाल मड्रिडमाथि जित निकाल्दै फाइनल प्रवेश गर्नेमा विश्वस्त रहेको बताएका छन । ‘हामी अहिले स्वभाविक लयमा छौ, त्यसले पनि हाम्रो मनोबल बढेको छ,’ग्रीलिसले भने, ‘टोलीमा क्षमतावान खेलाडी छन । टोलीले घरेलु मैदानमा सुखद नतिजासहित फाइनलमा स्थान बनाउनेमा म विश्वस्त छु । इत्तिहादमा हामीलाई रोक्दै फाइनल प्रवेश गर्न रियललाई सहज हुने छैन । ’

प्रतिक्रिया दिनुहोस्