वैशाख शुक्ल बुद्ध पूर्णिमा : नेपाल राष्ट्रको गौरव



विश्वमा नेपालको नाम तिथिबाट पनि चिनिएको छ । तिथि भन्नाले चन्द्र मासीय पञ्चाङ्ग अनुसार दिन गणना हो । मिति भन्नाले सूर्य मासीय पचाङ्ग पात्रो हो । यो पूरै १२ महिनाको हुन्छ । कहिलेकाहीँ मलमास हुँदा तिथिबाट चल्ने पात्रोमा १३ महिना हुन आउँछ । हरेक महिनामा एक पूर्णिमा आउँछ । वर्षको १२ वटा पूर्णिमा हुन्छ । १२ वटा पूर्णिमामध्ये एक पूर्णिमा नेपाल राष्ट्रको इतिहाससँग जोडिएकोले नेपालको नामले अन्तर्राष्ट्रिय जगत् वा संसारमा ख्याति कमाएको छ । त्यो कुनचाहिँ पूर्णिमा हो ?

त्यो हो वैशाख पूर्णिमा । यस पूर्णिमाको दिनमा नेपाल राष्ट्रको नाम सर्वत्र लिइन्छ अथवा अगाडि आउँछ । अरु पूर्णिमाको दिनमा नेपाल राष्ट्रको नाम अगाडि आउँदैन । यस वैशाख पूर्णिमामा नेपाल राष्ट्रको छोरा सिद्धार्थ गौतम शाक्य वंश अथवा बुद्ध जन्मनुभएको दिन हो ।

दोस्रो, सिद्धार्थ गौतम शाक्यले गृहत्याग गरेर जंगलमा बसी ज्ञान पाउनको लागि तपस्या गरेका थिए । धेरै वर्ष ध्यान अभ्यासपछि गौतम बुद्धले वैशाख पूर्णिमाको दिनमा नै बोधिज्ञान बुद्धत्व प्राप्त गरेका थिए । त्यही दिन शान्तिको नारासमेत दिएका थिए । संसारमा शाक्य गौतम बुद्ध पहिलो व्यक्ति थिए जसले शन्तिको नारा अघि बढाएका थिए र ८० वर्षको उमेरमा वैशाख पूर्णिमाको दिनमा नै परिनिर्वाण भएका थिए । यी तीनवटा कुराले सिद्धार्थ गौतम बुद्धको नाम संसारमा प्रख्यात छ र ती सबै वैशाख पूर्णिमाको दिनमा भएका थिए । त्यसैले यो पूर्णिमाको महत्व रहेको छ ।

सिद्धार्थ गौतम शाक्य वंशको कुलमा जन्मेका थिए । उनले नेपाल राष्ट्रको नाम संसारमा अगाडि ल्याएका थिए । शान्तिको सन्देश दिने पहिलो मानव भएको हुनाले संसारमा उनको नाम लिने गरिन्छ । उनको नामबाट उनी जन्मेको देश अर्थात् भूमिको नाम पनि अगाडि आउँछ । वर्षको एकचोटि नेपाल राष्ट्रको नाम सारा संसारका व्यक्तिहरुले सिद्धार्थ गौतम बुद्धको नामसँग लिने गर्छन् र यो सत्य हो । यो नाम लिने दिन भनेको वैशाख पूर्णिमाको दिन हो, अरु पूर्णिमाको नाम लिइँदैन । त्यसैले नेपालको नाम चिनाउने व्यक्ति शाक्य वंश कुलमा जन्मेका सिद्धार्थ गौतम (बुद्ध) नै हुन् । यसले गर्दा वर्षको एकचोटि नाम लिने भएकाले हामी सबै नेपालीहरु गौरव मान्दछौं । हाम्रो देशका छोराले संसारमा शान्तिको नारा दिएको हुनाले नै नेपालको नाम अगाडि आएको हो ।

यो गौरव गराउने व्यक्ति नेपालका पुत्र शाक्य वंश कुलमा जन्मिएका सिद्धार्थको नाम र नेपाल राष्ट्रको नाम एकदिन भए पनि संसारले लिने गर्छन् । यो सबै उनको देन हो । यसले गर्दा नेपालको नाम विश्वमा प्रख्यात भएको छ र हरेक सालमा यो दिन (वैशाख पूर्णिमा) मा बुद्ध जन्मेको देश भनेर सम्झना गरी शान्तिको कामना गर्दछन् ।

नेपालको नाम अगाडि ल्याउने व्यक्ति नेपालको छोरा कुन जिल्लामा जन्मिएका हुन् त ? उनी लुम्बिनी प्रदेशमा जन्मिएका थिए । उनको जन्म २६४७ वर्षअगाडि भएको हो । तिथिबाट बनेको पचाङ्ग अनुसार वैशाख पूर्णिमाको दिनमा जन्मिएका थिए । उनी दरबारमा वा घरभित्र अथवा पाटीपौवामा जन्मिएको होइन । महारानी मायादेवीलाई बच्चा जन्मनुअगाडि एकचोटि माइतीमा गई आमाबाबुको मुख हेर्ने इच्छा भयो । राजा शुद्धोदन शाक्यसंग परामर्श गरी सुसारेहरुसमेत लिएर उनी कपिलवस्तुबाट प्रस्थान गरिन् । लुम्बिनीको बीचबाटो सुन्दर बगैँचा वा वनमा पुगी आराम गरेर बसेको बेला अचानक पेटको व्यथा शुरु भयो । सुसारेहरुले धेरै सहयोग गरे । तर पनि दुखाइ कम भएन । बिहानीपख रानी मायादेवीले एउटा रुखको मुनि दायाँ हातलाई माथि लगी रुखको एक हाँगा समाई अथवा सहारा लिएर लुम्बिनी जंगलमा नै कोखबाट एक पुत्रको जन्म दिएकी थिइन् । जंगलमा जन्म भएको बारे कसैको दुईमत छैन । पुराना ग्रन्थमा पनि उल्लेख छ ।

तिनै बालकले पछि ठूलो भएपछि सबै वस्तु वा चिजहरु त्याग गरेर ज्ञानको खोजीका लागि जंगलमा गएर तपस्या गरे । एउटा कल्पवृक्षमुनि बसेर ज्ञान पाउनको लागि ठूलो तपस्या गरे । वैशाख पूर्णिमाको दिन बिहानपख उनले ज्ञान प्राप्त वा बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेको २६१२ वर्ष भयो । त्यो पनि जंगलमा नै बसेर ज्ञान पाएको पुरानो ग्रन्थमा उल्लेख छ ।

धेरै शरीरले दुःखकष्ट गरेर ज्ञान प्राप्त गरेको ज्ञान अरुलाई पनि दिनुप¥यो वा सुनाउनुप¥यो भनेर सबभन्दा पहिले ५ पण्डित ब्राह्मण जवानलाई यो कुरा वा ज्ञान र शिक्षा दिएका थिए । यो कुरा वा उनको प्रवचन सुनेर ती ५ जवान ब्राह्मणका छोराहरु भिक्षु भएर अरहत भएका थिए भन्ने पुरानो पुस्तक र इतिहासमा उल्लेख भएको छ । बुद्ध भनेको ज्ञान हो । अनुसन्धान गरेर हेरियो भने राजकुमारले पाएको ज्ञान नै बुद्धत्व हो ।

मानिसहरु पनि सिद्धार्थ गौतम शाक्यले जस्तै ज्ञान पाउन र बुद्धत्व पाउन सक्छन् भनेर पुरानो ग्रन्थमा उल्लेख छ । सिद्धार्थ गौतम बुद्धले पाएको ज्ञान–बुद्धि सबै अरुलाई बाँडे । आफूले पाएको ज्ञान, दुःख, सुख, अहिंसा, शिक्षा आदि दिएर सिद्धार्थ गौतम बुद्ध ८० वर्षको उमेरमा परिनिर्वाण भए । उनी परिनिर्वाण भएको २५६७ वर्ष भयो ।

त्यसैले उनले दिएर गएको ज्ञान, बुद्धि एवं उपदेशलाई संसारमा बस्ने सम्पूर्ण मानिस (नरनारी) ले एकछिन् भए पनि वैशाख पूर्णिमाको पवित्र दिनमा सम्झेर बस्छन् । शाक्यमुनि गौतम बुद्धको नामबाट हाम्रो देश नेपालको नाम पनि यस वैशाख शुक्ल पूर्णिमाको पवित्र दिनमा विश्वले सम्झिने गर्दछ । यो नै हामी नेपाली र नेपाल राष्ट्रको लागि गौरवको कुरा हो । बुद्धको शिक्षा, ज्ञान र उपदेशले सर्वत्र राष्ट्र एवं विश्वमा सुख–शान्ति छाओस् । बुद्ध जन्म जयन्ती संवत् २६४७ को पावन अवसरमा विश्वका समस्त प्राणीहरुमा सुख–शान्तिको कामना !

प्रतिक्रिया दिनुहोस्