सशस्त्र प्रहरीको स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम



काभ्रे। 

सशस्त्र प्रहरी बल, नेपाल नम्वर १५ गण हेडक्वाटर काभ्रेपलान्चोकले स्थापना दिवसको अवसर पारी सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै सशस्त्र प्रहरी बल काभ्रेपलान्चोकले रक्तदान तथा सरसफाइ कार्यक्रम आयोजना गरिएको काभ्रेका प्रमुख एसपी अच्युतकुमार मजगैयाले बताउनुभयो ।

‘स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको छ’–एसपी मजगैयाले भन्नुभयो–‘वैशाख १७ देखि २४ गतेसम्म हरेक दिन फरक फरक कार्यक्रम आयोजना गरेका छौँ ।’ वैशाख १७ गते विपद् सम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ । पाँचखालमा रहेको दुग्धेश्वर माध्यमिक विद्यालयमा बाढि, पहिरो तथा आगलागी, चट्याङ्गसँग सम्बन्धित विषयमा सचेतना गराइएको छ । त्यस्तै वैशाख १८ गते आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रगत दान गरेका छन् ।

वैशाख १९ गते बनेपामा रहेको ऐतिहासिक चण्डेश्वरी मन्दिर परिसरमा सरसफाइ गरिएको छ । बनेपामा बुद्ध जयन्तीको अवसरमा हरेक वर्ष लाग्ने जात्राको सन्दर्भलाई समेत मध्यनजर गर्दै नगर प्रमुख शान्तिरत्न शाक्य, कालीजंग गणका गणपति कर्णेल प्रकाशबहादुर सिंह, राष्ट्रिय अनुसन्धानका प्रमुख राजन प्रजापति लगायतको सहभागितामा सशस्त्र प्रहरी, नेपाल प्रहरी समेतको सहभागितामा सरसफाइ कार्यक्रम आयोजना गरिएको एसपी मजगैयाले बताउनु भयो ।

त्यस्तै सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल १५ गणमा कार्यरत विभिन्न तहका सशस्त्र प्रहरी बीच खेलकुद प्रतियोगिता तथा अन्य कार्यक्रम आयोजना गरिएको छ । सशस्त्र प्रहरी बलले जिल्लामा हुने विभिन्न खालका विपद् तथा नागरिकहरूलाई आवश्यक परेको समयमा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सुरक्षा प्रदान गर्दै आएको छ । भूकम्प, कोराला महामारी तथा अन्य विपदहरुमा सशस्त्र प्रहरी सशक्त रुपमा क्रियाशील हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्