अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघका महानिर्देशक डा. अल्भेरो नेपाल भ्रमणमा



काठमाडौँ  । 

अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघका महानिर्देशक डा अल्भेरो बरमेजो नेपाल परिवार नियोजन सङ्घले गर्दै आएका कार्यक्रम र भावी योजनाका बारेमा व्यवस्थित बनाउने उद्देश्यले पाँच दिने नेपाल भ्रमणका लागि आइतबार साँझ नेपाल आईपुग्नुभएको छ ।

यही वैशाख १७ गते नेपाल आउनुभएका अल्भेरोले वैशाख २१ गते सम्म नेपालका उच्च पदस्थ निकायसँग भेटघाट गर्ने र कार्यक्षेत्र रहेका जिल्लाको भ्रमण गर्नुहुने कार्यक्रम रहेको जानकारी गराइयो ।

नेपाल परिवार नियोजन सङ्घले सरोकारवाला निकायको सहभागितामा एक बृहत् कार्यक्रमको आयोजना गरी सोमबार पुलचोकस्थित परिवार नियोजन संघको कार्यालयमा जिज्ञासाका साथ सुझाव लिने र महासङ्घको सहयोग गर्ने दायराका बिषमा बृहत् छलफलको आयोजना गरी उक्त जानकारी गराएको हो । छलफल कार्यक्रममा सञ्चारकर्मी, तेस्रोलिंगी, एचआईभी एड्स संक्रमणका क्षेत्रमा कार्यक्रम गर्दै आएका निकाय, नेपाल परिवार नियोजन संघका विभिन्न क्षेत्रका सहकर्मी, यौनकर्मीका क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा महत्त्वपूर्ण काम गर्ने सबैभन्दा ठूलो संस्था महासंघ विश्वव्यापी सञ्जालमा विश्वका एक सय ४२ देशका परिवार नियोजन आबद्ध भएको संस्था हो । यो महासंघमा नेपाल परिवार नियोजन संघ पनि सदस्यता प्राप्त गरेको एक आधिकारिक संस्था भएको अल्भेरोले जानकारी गराउनुभयो ।

नेपाल परिवार नियोजन सङ्घले सन् १९६० मा महासङ्घको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको संघका फोकल पर्सन जमुना सिटौलाले जानकारी गराउनुभयो । सोही अवधिदेखि सङ्घले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा कार्य गर्नका लागि नियमित वार्षिकरूपमा उक्त महासंघबाट आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गर्दै आइरहेको बताउनुभयो ।

महासंघका उच्च व्यक्तित्वको नेपाल भ्रमण यो दोस्रोे पटक पटक भएको संघका अध्यक्ष हिमाल शर्माले बताउनुभयो । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग महानिर्देशक डा बरमेजोकोे द्विपक्षीय भेटघाट कार्यक्रम तय गरिएको पनि जानकारी गराइयो । पाँच दिने नेपाल भ्रमणका क्रममा महानिर्देशक डा बरमेजोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारीहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभयो ।

सोमबारको छलफल कार्यक्रममा नेपालमा परिवार नियोजन सङ्घले सहकार्य गर्दै आएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गर्नुका साथै उनीहरुले राखेका जिज्ञासाको सम्बोधन गर्नुभएको थियो । भ्रमणको क्रममा उहाँले संघको केन्द्रीय पदाधिकारी, उच्च व्यवस्थापन तथा युवा सदस्यसँग पनि भेट गरी सङ्घले सञ्चालन गरेका कार्यक्रमका बारेमा जानकारी लिनुभएको थियो ।

भ्रमणकै क्रममा उहाँले मोरङको विराटनगरस्थित संघको शाखा कार्यालय, सुनसरी इटहरीस्थित संघको परिवार स्वास्थ्य सेवा केन्द्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको व्यवस्थापक डा.नरेश प्रताप केसीले जानकारी गराउनुभयो । महासंघका महानिर्देशक डा बरमेजोले संचारकर्मीहरुसँग छुट्टै भेटघाट गरी उनीहरुले राखेका प्रश्नको उत्तर दिनुभएको थियो । संचारकर्मीहरुले नेपालमा परिवार नियोजनको साधन माग अनुरुप २४ प्रतिशतले अभाव भएको र जनसंख्या दरमा कमी आएको अवस्थालाई कसरी लिनुहुन्छ भनी सोधेका थिए ।

सोही अवसरमा संचारकर्मीहरुले सुरक्षित गर्भपतनको सेवा नेपालमा कानुनी रुपमा शुरु भएको २० बर्ष पुगीसक्दा असुरक्षित गर्भपतन गराउनेको संख्या सुरक्षित गर्भपतन गराउनेको भन्दा बढी रहेको र सेवा केन्द्रहरु शहर केन्द्रित भएको विषयमा ध्यानाकर्षण गराउनुका साथै सरकार प्रमुखसँगको भेटका विषयमा जिज्ञासा राखेका थिए ।

उहाँले संचारकर्मीको प्रश्नको उत्तर दिँदै हामीसँग पनि प्रशस्त रकम छैन र नेपालसँग सहकार्य गर्ने क्रममा के के गर्न सकिन्छ भन्ने विषयमा नेपालका प्रधानमन्त्री र सरोकारवाला निकायसँग छलफल गरी कामको प्रत्यक्ष अवलोकन गर्नका लागि नेपाल आएको बताउनुभयो ।

गरिब, सीमान्तकृत, सामाजिकरूपले बहिष्कृत, अल्पसङ्ख्यक र सेवाको पहुँचबाट पछाडि पारिएका वर्ग र व्यक्तिमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बढाउन महासंघले विश्वभर आफ्ना सदस्य–सङ्घमार्फत लगानी गर्दै आएको छ । हाल सङ्घले विभिन्न ३४ जिल्ला तथा तीन सय ५० पालिकामा यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्लिनिकल सेवा तथा प्रवर्तनात्मक सचेतना प्रदान गरिराखेको छ । परिवार योजना सेवामा संघको राष्ट्रिय योगदान तथा सीमान्तकृत तथा जोखिममा रहेका समुदायको पहुँचमा प्रजनन स्वास्थ्य सेवा पु¥याउन सङ्घले गरेको योगदान उल्लेखनीय रहेको बताउनुभयो ।

कार्यक्रममा संघका कूल सेवाग्राहीमध्ये ८८ प्रतिशत सेवाग्राही सीमान्तकृत तथा जोखिम समुदायका रहेको सङ्घले जानकारी गरायो । सोही अवसरमा कोरोना महामारीका बीचमा पनि सङ्घले सन् २०२१ मा लगभग ३६ लाख सेवा आफ्ना क्लिनिकमार्फत प्रदान गरेको जानकारी गराइयो । यसैगरी, सङ्घले पछिल्लो समयमा यौनिक तथा लंैगिक अल्पसंख्यक समुदायको संविधान प्रदत्त हक संरक्षण गर्न ‘हर्मोनल तथा लेजर थेरापी’ सेवा सञ्चालनमा ल्याएको जानकारी गराइयो । साथै, टेष्टयुब बेबी तथा बाँझोपन उपचार सेवा पनि सञ्चालनमा ल्याएको जानकारी दिइयो ।

महानिर्देशक डा. बरमेजोको नेपाल भ्रमणले नेपालमा परिवार नियोजन सेवा तथा यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा सकारात्मक योगदान पुग्ने अपेक्षा सङ्घले गरेको छ डा. केसीले भन्नुभयो ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको तत्कालीन मन्त्रिमण्डलमा महिला सहायकमन्त्री द्वारिकादेवी ठकुरानीले नेपाल परिवार नियोजन संघको स्थापना गर्नुभएको जानकारी गराउँदै डा.केसीले हाल नेपालको स्वास्थ्य क्षेत्रको कुल बजेटको ५ प्रतिशतको हाराहारीमा स्वास्थ्य मन्त्रालयको बजेट हुने र त्यसको शून्य दशमल्भ १ प्रतिशत मात्र परिवार योजनामा छुट्याईनुले माग अनुरुपको परिवार योजना सेवा गाउँ गाउँ सम्म पुग्न नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्