गैरआवासीय नेपालीलाई उपेक्षा किन ?                                            



गैर आवासीय नेपालीहरु विश्वका विभिन्न मुलुकमा छरिएर रहे पनि उनीहरूले आफू जन्मिएको थलो आफ्नो मातृभूमि कदापि बिर्सन सक्दैनन् ।

मातृभूमिको  अगाध माया भएपनि देशको परिस्थिति र बाध्यताले बिदेसिएका लाखौँ नेपालीहरू यति बेला देशमा विकास र समृद्धि भएको हेर्न चाहन्छन् र समृद्धिको लामो यात्रामा जोडिएर योगदान गर्न चाहन्छन् । त्यसो त गैर आवासीय नेपालीहरूले अहिले पनि नेपालको जलविद्युत, स्वास्थ्य, शिक्षा, पूर्वाधार, वित्तीय संस्था, होटल लगायत धेरै क्षेत्रमा लगानी बिस्तार गरिरहेका छन्। उनीहरू अन्य क्षेत्रमा पनि लगानी गर्न उत्सुक रहेका छन् ।

हाल विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने गैर आवासीय नेपालीको संस्था ७० लाख भन्दा बढी छ । यति ठुलो सख्या नेपालको विकास र समृद्धिको यात्रामा कुनै र कुनै माध्यमबाट जोडिन चाहान्छ । त्यसकालागि एकातिर हामीले एनआरएनए संस्थालाई एक ढिक्का बनाउँदै  सबल नेतृत्व दिएर अगाडी बढाउनु परेको छ भने अर्को तर्फ गैर आवासीय नेपालीलाई राजनीतिक अधिकार सहित लगानीका लागि उपयुक्त र भरपर्दो व्यवस्था गर्नु पर्ने आवश्यकता रहेको छ ।

 वास्तवमा गैर आवासीय नेपालीले एकातिर प्रत्यक्ष लगानी गरेर रोजगारी वृद्धि गर्ने र देशको अर्थतन्त्रलाई सबल बनाउने मात्र नभै अर्कोतर्फ लगानीसँगै उनीहरूले विदेशमा सिकेको ज्ञान, सीप र अनुभवलाई यही नेपाली माटोमा लगाएर देसलाई समुन्नत बनाउन सक्दछन् तर त्यसकालागि नेपाल सरकारले गैर आवासीय नेपालीलाई दिनुपर्ने अधिकारबाट वञ्चित नगरोस् भन्ने हाम्रो भनाइ हो ।

हामीले राजनीतिक अधिकार सुनिश्चित हुने गरी वंशजको नागरिकताको निरन्तरता होस भन्ने माग गरिरहेका छौ । र यो माग पुरा गर्न सरोकारवाला सबैको ध्यानाकर्षण पनि गराउँदै आएका छौ ।  कतिपयले गैर आवासीय नेपालीलाई सरकारले परिचय पत्रको व्यवस्था गरेको छ किन चाहियो नागरिकता भन्ने प्रश्न गरेको पनि सुनिन्छ ।

हामी वास्तवमा हाम्रो देशमा सम्मानित भएर लगानी गर्न र देश विकासमा योगदान गर्न चाहन्छौ त्यसैले हामीलाई वंशजको नागरिकताको निरन्तरता होस भनेका हौ । यसै गरी कतिपयले प्रश्न गरेको सुन्छु गैर आवासीय नेपालीलाई दोहोरो नागरिकता किन भनेर रु वास्तवमा अहिले पनि धेरै मुलुकमा दोहोरो नागरिकताको प्रावधान रहेको छ र देशको विकास र समृद्धिका लागि धेरै देशले दोहोरो नागरिकताको व्यवस्था लागू गरेका छन् ।

अर्को कुरा गैर आवासीय नेपालीलाई नागरिकता दिँदैमा देशको राष्ट्रिय एकता र सार्वभौम अखण्डतामा आँच आउँछ भन्नु अहिलेको २१ औ शताब्दीमा हास्यास्पद तर्क हो जस्तो लाग्दछ मलाइ । नेपालको राष्ट्रिय एकता, स्वतन्त्रता र सार्वभौम अखण्डताप्रति जति नेपालमा बस्ने दाजुभाइहरू संवेदनशील हुनुहुन्छ उहाँहरू भन्दा कम संवेदनशील हामी गैर आवासीय नेपालीहरू छैनौ । हाम्रो मातृभूमिप्रति हामी पनि उत्तिकै जिम्मेवार र गम्भीर छौ । फरक यति मात्र हो हामी देशमा छैनौ विभिन्न पेसा व्यवसायका क्रममा विदेशका जुनसुकै स्थानमा रहे पनि हामी नेपाली नै हौ ।

त्यसैले हामीले वंशजको नागरिकताको निरन्तरताका लागि आवश्यक पहल गरिदिन नेपाल सरकार र जिम्मेवार राजनीतिक दललाई आग्रह गर्दे आएका छौ ।अहिले नेपालको अर्थतन्त्र संकटको डिलमा पुगेको छ यसबारे हामी जानकार छौ । अहिले नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्क हेर्ने हो भने अमेरिकी डलरको सञ्चिति बढेर झन्डै ११ महिनाका लागि बस्तु तथा सेवा खरिदका लागि पुग्ने अवस्थामा पुगेको छ ।

यो पक्कै सकारात्मक कुरा हो । रेमिट्यान्स बढेका कारण डलर सञ्चिति बढेकोमा प्रधानमन्त्री स्वयमले प्रवासी नेपालीहरूलाई धन्यावाद दिनु भएको छ यसप्रति हामी कृतज्ञ छौ । हामी चाहन्छौ रेमिट्यान्स मात्र होइन देशमा लगानी वृद्धि गरेर रोजगारीका अवसर बढाउन पनि हामी सकेको प्रयत्न गरिरहेका छौ र अझ धेरै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ ।

देशलाई अर्थतन्त्रको संकटबाट पार लगाउन अन्य क्षेत्रहरूमा लगानी बढाउने दिशामा हामीले अझ धेरै काम गर्न सक्दछौ । नेपाल सरकारले अहिले विदेशमा बस्ने नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्दे निर्वाचन सम्बन्धी कानुन संशोधन गर्ने तयारी गरिरहेको छ । हामी नेपाल सरकारको यो कदमको स्वागत गर्दछौ तर नेपाल सरकारले लौखाको सङख्यामा रहेका गैर आवासीय नेपालीहरूलाई पनि मेटेर लैजानु पर्दछ ।

यसकालागि वंशजको नागरिकताको निरन्तरता होस भन्ने गैर आवासीय नेपालीको साझा माग हो । यसलाई बेवास्ता नगरी संविधान संशोधन मार्फत वंशजको नागरिक प्राप्त गर्ने हाम्रो अधिकार सुनिश्चित गरिनुको विकल्प देखिँदैन ।।
 लेखक एनआरएनए अभियन्ता हुन

प्रतिक्रिया दिनुहोस्