लुम्बिनीको मुख्यमन्त्रीमा चौधरी नियुक्त



बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्रीमा नियुक्त चौधरीले शुक्रबार बिहान साढे ११ बजे शपथ लिन कार्यक्रम तय गरिएको छ । त्यसअघि बिहीबार नै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । चौधरीलाई नेपाली कांग्रेस माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी गरी ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदको समर्थन रहेको छ ।

गत पुस २७ मा संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरीले यही वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठन गर्नुपरेको हो । केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीसहित ५ दलले समर्थन फिर्ता लिएपछि गिरीले विश्वासको मत गुमाउनुभएको हो ।

त्यसपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि बिहीबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न समयसीमा दिनुभएको थियो । सोही समयसीमामा आठ दलीय गठबन्धनबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले दाबी पेस गर्नुभएको थियो । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ जना र स्वतन्त्र १ सांसद रहेका छन् ।

मुख्यमन्त्री चौधरीको जन्म २०२६ साल असार १५ गते बुबा टुकलाल चौधरी र आमा सोमती चौधरीको कोखबाट दाङ तुलसीपुर ३ डुम्रीगाँउमा भएको हो । चौधरी गैरसरकारी संस्थाको पृष्ठभूमिबाट राजनीतिमा आउनुभएको हो । चौधरीले पिछडिएको समाज शिक्षा (वेस) नामक गैरसरकारी संस्थामार्फत समाजिक काम गर्दै आउनुभएको छ । उहाँ अहिले पनि त्यस संस्थाको अध्यक्ष हुनुहुन्छ । उहाँको दक्षिण एसियामा बाल अधिकार प्रवद्र्धनमा योगदान उल्लेखनीय छ ।

चौधरीले सामुदायिक विकास विषयमा स्नातक गर्नुभएको छ् । नेपाली कांग्रेसको २०६४ देखि निरन्तर महासमिति सदस्य निर्वाचित चौधरी २०७० मा संविधान सभा सदस्य, श्रम राज्यमन्त्री २०७३–७४, प्रदेश सभा सदस्यमा निर्वाचित (दाङ ३ (१) २०७४), पर्यटन, ग्रामीण तथा शहरी विकासमन्त्री २०७८–८९ पुस २७ सम्म, प्रदेश सभा सदस्यमा निर्वाचित (दाङ ३ (१) २०७९) संसदीय दलको नेता नेपाली कांग्रेस २०७९ रहँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्