२ सय १७ सम्पदा पुनर्निर्माण हुन २ अर्ब लाग्ने



– ९ सय २० मध्ये ७ सय ३ सम्पदाको पुनर्निर्माण सम्पन्न
–सय निर्माणाधीन
–१ सय १७ सकिन २ वर्ष लाग्ने

काठमाडौं । भूकम्पले क्षतिग्रस्त भएका देशभरका २ सय १७ वटा सम्पदा पुनर्निर्माण गर्न करिब २ अर्ब रुपियाँ लाग्ने भएको छ । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार २ अर्ब रुपियाँको व्यवस्था भए आगामी आर्थिक वर्षमा सबै सम्पदाहरू पुनः निर्माण सम्पन्न हुनेछ ।

बजेट अभावका कारण सम्पदा पुनर्निर्माणमा कठिनाइ परेको जिकिर गर्दै प्रवक्ता कुँवरले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘बजेट अभाव नभएको भए दुई वर्षअघि नै सम्पन्न हुने थियो । सरकारले माग गरेअनुसार बजेट व्यवस्था गरे अबको दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न भइसक्नेछ ।’

भूकम्प गएको ८ वर्ष पुगिसक्दा पनि पुनर्निर्माणले गति लिन सकेको छैन । तर, पुरातत्व विभागले भने दुई वर्षदेखि नै अबको दुई वर्षमा क्षतिग्रस्त सबै सम्पदा पुनर्निर्माण भइसक्ने दाबी गर्दै आएको थियो । गत वर्ष विभागले २०८२ सालसम्ममा सबै सम्पदाको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको थियो । तर, यही अवस्थामा अर्को दुई वर्षमा पनि निर्माण सम्पन्न हुन सक्ने अवस्था देखिँदैन ।

तथ्यांकअनुसार भूकम्पले २८ जिल्लाका ९ सय २० वटा सम्पदामा क्षति पु¥याएकोमा हालसम्म देशभरका ७ सय ३ सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । सयवटा सम्पदाहरू पुनः निर्माणको क्रममा रहेका छन् ।

विभागले आ.व. २०७९÷०८० मा १ सय २२ मठमन्दिर पुनर्निर्माण गर्ने तयारी भइरहेको जनाएको थियो । चालु आ.व.मा करिब सयवटा सम्पदाको पुनर्निर्माण जारी छ । विभागका अनुसार उपत्यकाको हनुमानढोका, पाटन, भक्तपुर, चागुँनारायण, स्वयम्भु, पशुपतिनाथलगायत विश्वसम्पदा क्षेत्रका अधिकांश सम्पदा पुनर्निर्माणको अन्तिम चरणमा छ । स्वयम्भु, बौद्धनाथ क्षेत्रलगायत क्षेत्रको सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै प्रवक्ता कुँवरले भन्नुभयो– ‘हनुमान ढोकाको वसन्तपुर र काठमाडौंको भित्री चोक र दरबार, पशुपतिनाथ क्षेत्रको विश्वरूप, पाटनको देगुतलेजु, चाँगुनारायणको सत्तललगायतका केही बाहेक सबै सम्पदा पुनर्निर्माण भइससकेका छन् ।’

सम्पदा पुनर्निर्माण गर्न करिब एक दर्जन दातृ निकाय, राजदूतावास र संघसंस्थाले सहयोग गरेका थिए । चीन सरकारको सहयोगमा वसन्तपुरस्थित नौतले दरबार र दरबार हाइस्कुलको पुनर्निर्माण सम्पन्न भइसकेको छ । त्यस्तै, जापान, श्रीलंकाली सरकार, युनेस्को, केभीपीटी, स्वयम्भू विकास समिति, कीर्तिपुर, मध्यपुर थिमी, भक्तपुर नगरपालिका, शहरी तथा भवन विभाग, गुठी संस्थान, सम्पदा तथा वातावरण संरक्षण प्रतिष्ठान, हनुमानढोका विकास समिति, बौद्धनाथ विकास समिति, मियामोतो रिलिफ फन्ड, ललितपुर उद्योग वाणिज्य संघ र उपभोक्ता समितिले विभिन्न सम्पदा पुनर्निर्माण गर्न आर्थिक सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्