कालीजंग गणले बनायो धुलिखेलमा ब्याडमिन्टन कोर्ट



काभ्रे। 

नेपाली सेना कालीजंग गण धुलिखेलले स्थानीय सरकार तथा संघ संस्थाहरुको समन्वयमा धुलिखेलमा नागरिकहरुको पहुँच पुग्ने स्थान धुलिखेल उद्योग वाणिज्य संघ परिसरमा ब्याडमिन्टन कोर्ट निर्माण गरेको छ ।

‘नागरिकहरु स्वस्थ रहँदा मुलुक निर्माण र राष्ट्र स्वस्थ रहन सहयोग पुग्छ’–कालीजंग गण धुलिखेलका गणपति कर्णेल प्रकाशबहादुर सिंहले भन्नुभयो–‘नागरिक र सेना समुदाय निर्माणका पर्यायवाची हुन् ।’ स्वस्थ रहँदा व्यक्ति, परिवार र समुदायलाई समेत योगदान पुग्न सक्ने भएकाले शारीरिक तन्दुरुस्तताका लागि ब्याड मिन्टन महत्त्वपूर्ण विद्या भएकाले त्यसका लागि सहयोग गरिएको कर्णेल सिंहले बताउनु भयो । धुलिखेलमा फुटबल मैदान, भलिबल कोर्ट सँगै भएकाले ब्याड मिन्टन खेल्न चाहनेहरुका लागि थप सहयोग भएको वडा अध्यक्ष रोमीप्रसाद ब्याञ्जुले बताउनु भयो ।

ब्याड मिन्टन कोर्टको समुद्घाटन प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले गर्नु भएको थियो । उद्घाटनको अवसरमा मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको थियो । धुलिखेल नगरपालिका, जिल्ला प्रशासन कार्यालय काभ्रे, धुलिखेल उद्योग वाणिज्य संघ, वडा नम्बर ७ र धुलिखेलका सक्रिय खेलप्रेमी युवाहरुको संयोजनमा नेपाली सेना कालीजंग गणले उक्त कोर्ट निर्माण गरेको हो । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्