खुमलटारसँग मनाङ स्तब्ध



 काठमाडौं । मनाङ मस्र्याङदी क्लब जारी शहिद स्मारक ए डिभिजन लिगमा खुमलटार युवा क्लबसँग स्तब्ध भएको छ ।

ए डिभिजन लिगको सर्वाधिक उपाधि जितेको मनाङ शनिबार आफ्नौ ११ औं चरणको खेलमा नवप्रवेशी टोली खुमलटारसँग २–१ ले पराजित भयो । खुमलटारका विदेशी खेलाडी मेसुकेओलोमोउले दुबै गोल गरेका थिए । खेलमा एक पेनाल्टी चुकाउँदा मनाङले तीन अंक नै गुमाउनु प¥यो । यस जितसँगै खुमलटारले ११ खेलबाट १३ अंक जोडेको छ । पराजित मनाङ १५ अंकमै अड्किरहेको छ ।

कोफी टिमोथी कोडुले पेनाल्टीमा एक गोल गर्दा अर्काे गोल गर्न चुकेका थिए । दशरथ रंगशालामा भएको खेलमा पहिलो अग्रता खुमलटारले लिएको थियो । खेलको १३औं मिनेटमा मेसुकेले गोल गरे । पहिलो हाफ खुमलटार १–० को अग्रतामा रहेको थियो ।

दोस्रो हाफमा मनाङका कोडुले ५३औं मिनेटमा पेनाल्टी प्रहार गोलमा परिणत गरी खेल १–१ बराबरीमा पु¥याए । ६१औं मिनेटमा कोडु पेनाल्टीमा चुक्दा मनाङले २–१ को अग्रता बनाउने सुन्दर अवसर गुमायो । पेनाल्टी बक्समा अभिषेक बर्माले रन्दिप पौडेललाई फाउल गरेपछि रेफ्री श्याम दनुवारले मनाङलाई पेनाल्टी प्रदान गरेका थिए ।

खेल बराबरीतिर गइरहेको अवस्थामा मेसुकेले गोल गरेर मनाङको एक अंक पनि छिन्यो । इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा मेसुकेले गोल गरेर मनाङलाई लगातार चार खेलमा अंकविहीन बनाइदिए । मनाङ सातौं चरणसम्म अपराजित रहेको थियो । यसपछि भने सातदोबाटो, जावलाखेल, आर्मी र खुमलटारसँग टोली पराजित भएको छ ।

प्रतिक्रिया दिनुहोस्