रुपेश र सुजना च्याम्पियन



 काठमाडौं । जारी नेशनल बुद्धिचाल प्रतियोगिताको खुल्लातर्फको उपाधि फिडे मास्टर रुपेश जैसवाल र महिला फिडे मास्टर सुजना लोहनीले हात पारेका छन्।

रुपेश र सुजना बंगलादेशमा यही मे मा हुने वर्ल्ड च्याम्पियन सर्कल एशियन जोनल ३ः २ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछन् । त्यसैगरी उनीहरु उब्जेकिस्तानमा हुने एशियन च्याम्पियनसिप र २०२४ मा हंगेरीको बुडापेष्टमा हुने ४५ औं चेस ओलम्पियाडको लागि पनि छनौट भएका छन्।

शनिबार सम्पन्न भएको सातौ चरणको खेलमा सुजनाले मोरङका शान्ति धिमाललाई पराजित गरिन् भने आठौं चरणको खेलमा पर्साका सुशिला गुरुङसंग बराबरी खेलेका थिए । राउन्ड रोबिनको आधारमा नवौं चरणसम्म हुने प्रतियोगिताको एक चरणको खेल बाकी रहेको अवस्थामा आठ खेलमा सात खेलमा जीत र एक खेल बराबरी खेली साढे ७ अंक जोडेर उपाधि जितेका हुन्।

निकै उत्कृष्ट लयमा रहेका रुपेशले सातौं चरणको खेलमा खेलको ३४ औं चालम अर्का फिडे मास्टर क्षितिज भण्डारीसंग बराबरी खेली अंक बाँडे भने आठौं चरणको खेलमा दोलखाका राजिव कार्कीले बीचको निकै रोचक खेलमा सफलता हात पारे।। खेल बराबरी तर्फ अग्रसर खेलमा ५७ औं चालमा राजिवले गलत बिष्लेशन गर्न पुगे।

सानो गल्तिलाई समात्न माहिर खेलाडी रुपेश तुरुन्तै फाईदा उठाए र राजिवलाई ६७ औं चालमा खेल त्याग्न बाध्य बनाए। त्यसैगरी सुखद नतिजा हात पारेका क्षितिज आठौं चरणको खेलमा नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंलाई पराजित गरि ६ अंक हात पारी दोस्रो स्थानमा रहेका छन् भने पूर्व नेपाल च्याम्पियन सुरवीर लामा र चौध बर्षिय खेलाडी पुरुषोत्तम सिलवाल साढे ५ अ‍ेक सहित संयुक्तरूपमा तेस्रो स्थानमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्