एमबाप्पेको गोलमा पिएसजी विजयी



पेरिस, (एजेन्सी) । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको दुई गोल मद्दतमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा जित दर्ता गरेको छ ।

पिएसजीले घरेलु टोली एन्जर्समाथि २–१ गोलअन्तरको जित निकाल्दै उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको हो । घरेलु टोली एन्जर्सका सादा थिओवले एक गोल फर्काएका थिए । एन्जर्समा शुक्रबार राति भएको खेलको नवौं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाएका थिए । उनले जुआन बर्नाटको पासमा गोल गर्न सफल भए । खेलको २६औं मिनेटमा एमबाप्पेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे ।

एमबाप्पेले यसपटक लियोनेल मेसीको पासलाई सदुपयोग गरे । लिग वानमा उनको यो २२औं गोल गोल हो । उनले २८ म्याच खेल्दा चार असिस्ट पनि प्रदान गरेका छन् । खेलको ८७औं मिनेटमा सादाले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी विजयी हुन सफल भयो । यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३२ खेलबाट ७५ अंक पुगेको छ । पराजित एन्जर्सको भने १४ अंक छ ।

प्रतिक्रिया दिनुहोस्