घलेगाउँ गोल्डकपको उपाधि बेसीशहर यूथ सोसाइटीलाई 



 लमजुङ। 

लमजुङको क्व्होलासोथर गाउँपालिका ३ स्थित स्मार्ट भिलेज घलेगाउँमा सञ्चालित छैटौँ स्मार्ट भिलेज आमन्त्रित गोल्ड कपको उपाधि बेसीशहर यूथ सोसाइटीले जितेको छ । फाइनल खेलमा रोड्स रामपुरलाई १ का विरुद्ध २ गोलले हराउँदै बेसीशहर यूथ सोसाइटीले गोल्डकपको उपाधि हात पारेको हो ।

प्रतियोगितामा बेसीशहर यूथ सोसाइटीका सुनिल श्रेष्ठ र रोड्स रामपुरका यनीक कोनाले खेलको दोस्रो हाफको सुरुवातीमा एक/एक गोल गरेका हुन् । बराबरीको गोल पछि खेल अवधिको अन्तिम समयमा बेसीशहर यूथ सोसाइटीका आकाश थापा मगरले एक गोल गरी उपाधि दिलाएका हुन् ।

प्रतियोगिताको विजेता बेसीशहर यूथ सोसाइटीले पाँच लाख पाँच सय ५५ रुपैयाँ, गोल्डकप, मेडल र प्रमाण हात पारेको छ भने उपविजेता रोड्स रामपुरलाई तिन लाख तिन सय ५५ रुपैयाँ, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

विजेतालाई गण्डकी प्रदेशसभा सदस्य यशोदा रिमाल, आयोजक पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घले गाउँका अध्यक्ष प्रेमबहादुर घले, क्व्होलासोंथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, खेल संयोजक गंगबहादुर घलेले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको हो ।

नकआउटका आधारमा भएको प्रतियोगितामा जिल्लाका ४ र जिल्ला बाहिरका ७ टिम सहभागी थिए । नेपालका समाज कल्याण खेलकुद केन्द्र काठमाडौँ, सशस्त्र प्रहरी क्लब –एपीएफ) काठमाण्डौ, नेपाल भानु युनाइटेड तनहुँ, कास्की ११ पोखरा, बाग्मती फुटबल क्लब सर्लाही, गोरखा ब्वाइज बुटवल, रोड्स रामपुर चितवन, लालीगुराँस युवा क्लब भुजुङ, त्रिवेणी युवा क्लब बेसीशहर, बुद्ध यूथ क्लब भोटेओडार र बेसीशहर यूथ सोसाइटी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्