भीरकोटका २ विद्यालयमा कक्षा ८ को नतिजा शून्य



स्याङ्जा ।

स्याङ्जाको  बालमैत्री नगरपालिका भीरकोटका सामुदायिक विद्यालयहरुको आधारभूत तह कक्षा ८ को नतिजा हालसम्मकै कमजोर देखिएको छ । २ वटा विद्यालयको नतिजा कमजोर आएको नगरको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ । शाखाका अनुसार २ वटा विद्यालयमा कक्षा ८ मा कुनै पनि विद्यार्थी उत्तीर्ण भएका छैनन् । पालिकाको सिरूखर्क मा. वि. र सिर्कोट मा. वि. को नतिजा शून्य रहेको छ ।

शिक्षा शाखाबाट प्राप्त भएको तथ्यांकमा भीरकोटमा रहेका  १४ वटा सामुदायिक विद्यालय र ५ वटा संस्थागत विद्यालयहरुको नतिजा हेर्दा आधारभूत तहमा ६० प्रतिशत भन्दा बढी विद्यार्थी फेल भएका छन् । पालिकाले  अंग्रेजी, गणित र विज्ञान विषयका उत्तरपुस्तिकाहरु सम्परीक्षण गरी नतिजाको विश्लेषण गर्दा ३ वटा मुख्य विषयमा ३९.२७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् भने  ६०.७३ प्रतिशत विद्यार्थी फेल भएका छन् । कक्षा ८ को  वार्षिक परीक्षामा पालिकाका १९ वटा विद्यालयबाट ४ सय १५ जना विद्यार्थी सहभागी भएका थिए जसमध्ये १ सय ६३ जना मात्रै तीन वटा मुख्य विषयमा  उत्तीर्ण भएका छन् ।

संस्थागत विद्यालय र सामुदायिक विद्यालयहरुको नतिजा तुलनात्मक रुपमा हेर्दा संस्थागत विद्यालयहरुको नतिजा अब्बल देखिएको छ । संस्थागत विद्यालयबाट १ सय ३३ विद्यार्थी परीक्षामा सहभागी भएकोमा १ सय ९ जना विद्यार्थीहरु ३ वटा मुख्य विषयमा उत्तीर्ण भएका छन् । संस्थागत  विद्यालयबाट ८१.९५ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । ती संस्थागत विद्यालयहरुमध्ये कन्साइन्स मा. वि. को नतिजा पालिकामै सर्वोत्कृष्ट देखिएको छ । परीक्षामा  २३ जना  विद्यार्थी सहभागी भएकोमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बालोदय मा. वि. बाट ९७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने बालज्योति मा. वि. बाट ८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका   छन् । बुद्ध मा. वि. र भू.पु सैनिक मा.वि. को विद्यार्थी उत्तीर्ण प्रतिशत समान अर्थात् ६७ प्रतिशत रहेको छ ।

सामुदायिक विद्यालयहरुको नतिजा केलाउँदा पालिकाको नमुना विद्यालय भाग्योदय माध्यमिक विद्यालयबाट १९ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । सहिद शुक्र मा. वि. को उत्तीर्ण प्रतिशत १४ मात्रै छ  भने दहथुम मा. वि. बाट ५३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयहरुमा दहथुम मा. वि. को नतिजा राम्रो देखिएको छ । समग्रमा सामुदायिक विद्यालयबाट १९.१४ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्  भने ८०.८६ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्