बिर्सिनसक्नुको तथ्यबोधन



पञ्चायत व्यवस्थाको अन्तिम चरणतिरको कुरा हो । पकनाजोलकै होटलको एउटा कक्षमा एउटा पुस्तक विमोचन समारोह आयोजित थियो । समारोहका विशिष्ट अतिथि त्यति बेलाका मुखर मानिएका एक सहायक मन्त्री हरिश्चन्द्र थिए । अर्का अतिथि प्रा.डा. बासुदेव त्रिपाठी हुनुहुन्थ्यो । नगरका तत्कालीन मेयर र विशिष्ट पञ्चहरुको सघन उपस्थिति थियो । तामझामका साथ पुस्तक विमोचन भयो । ताली पड्के । उपस्थितहरुबीच पुस्तक वितरण भयो । पुस्तकको नाम थियो ‘नाक, नाइटो र नारायण ।’ पानाहरु पल्टाउँँदै हेर्दै गएँ । विभिन्न शीर्षकमा तीसवटा जति कविता थिए । बुझिने र कविताजस्तो कविता एउटै थिएन ।

अब मञ्चमा भाषण आरम्भ भयो । सर्वप्रथम, विमोचित पुस्तकका कविताका बारेमा प्रा.डा. त्रिपाठी बोल्न थाल्नुभयो । ती कवितामा प्राध्यापक त्रिपाठीले पूर्व–पश्चिमका तमाम काव्यसिद्धान्त, दर्शन, कला र आदर्शहरुको धाराप्रवाह वर्षा गर्नुभयो र त्यसमा त्यो ‘नाक, नाइटो र नारायण’लाई मजासित नुहाइदिनुभयो । जति नुहाए पनि किवितामा आफ्नै चमक थिएनन् । मैले दर्शकहरुबीच आँखा घुमाएर हेरेँ । त्यहाँ त्रिपाठीजीका प्रवचन बुझ्ने व्यक्तिको लगभग अभाव नै थियो । प्रवचनमा कसैको चासो थिएन । हाइ र उङ व्यापक हुँदै थियो । यसै बीच खानाका पोकाहरु नबाँडिएका भए सबै स्वाँ–फ्वाँ, स्वाँ–फ्वाँ गर्दै स्वप्नलोकतिर विचरण गर्न पुग्थे । भाँचिनै लागेका पञ्चायतका झीना खुट्टाका लागि विवशतापूर्वक खर्च गरिएको ‘विद्वताको एक पाथी तेल’ बौद्धिक विडम्बना साबित भइरहेको स्पष्ट देखिन्थ्यो । घटना सामान्य हो तर पनि मैले त्यो नाक, नाइटो र नारायणको विमोचन कार्यक्रम, प्रा.डा. त्रिपाठीको २ घन्टा लामो प्रवचनको अविच्छिन्न तेलधारा प्रवाह अद्यावधि बिर्सिएको छैन । यो एउटा बिर्सिनसक्नुकै विजात्रा थियो ।

पञ्चायतकै पछिल्लो प्रहरतिरकै अर्को एउटा विजात्रा कथा हो । । एक दिन म कालीमाटी बजारमा साथीहरु भेटेर रविभवनतिर लाग्दै थिएँ । सोल्टीमोडनिर सडककिनारमा सानो रिक्सागाडामा राखेर फलपूmल बेचिरहेका एकजना गरिब व्यापारी देखिए । फलफूल गाडाभरि थियो । बिहान दश–एघार बजेको समय थियो । नगर प्रहरीहरुको एउटा ट्रक त्यहाँ आएर रोकियोे । तीन–चारजना नगर प्रहरीहरु ट्रकबाट फटाफट सडकमा ओर्ले र युद्धस्तरको आक्रामक शैलीमा गाडाको फलफूल उठाएर ट्रकभित्र हाले । गाडा पनि उचालेर ट्रकभित्रै हाले । गरिब व्यापारी रुँदै÷कराउँदै थिए, नगर रक्षकहरुसँग गरिबका रोइकराइ सुन्ने कान थिएनन् । सुनेनन् । लुटाहा गतिमा ट्रक अगाडि बढ्यो । ट्रकका पछि–पछि दगुर्दै गरेको त्यस लुटिएका गरिबको अलापविलापसहितको कारुणिक दृश्य देखिसुनिसक्नुको थिएन । म मनमनै रन्थनिदै सडकपेटीमा एकछिन् उभिएँ । अन्याय परेकालाई न्याय दिन सक्ने बलबुतामा म थिइन । सत्ताको विवेकविहीन अन्ध आक्रमणलाई घृणा गर्दै आफ्नो बाटो लागेँ । मेरो लागि यो पनि अर्को एउटा बिर्सिनसक्नुको विजात्रा कथा थियो ।

यसपछि मुलुकमा धेरै आन्दोलनहरु भए । पञ्चायत व्यवस्था ढल्यो । बहुलदल आयो । नयाँ संविधान बन्यो । जनताले युद्ध नै पनि गरे । हजारौँले ज्यान बलिदान दिए । लाखौँ अपाङ्ग भए । अर्को जनआन्दोलन भयो । युद्ध र आन्दोलनका मूल्यमा राजनीति गर्ने हजारौँ नेता र बुद्धिजीवीले किसिम–किसिमका जागिर पाए, खाए । वर्षौँ लाएर अर्को संविधान बन्यो । नयाँ–नयाँ सरकार बने । मुलुक सरकामय भयो । देश र जनताका भलाइका काम भने भएनन् । शिक्षा र सुविधाका खोजीमा हुनेखाने वर्गका किशोरकिशोरीहरु, युवायुवतीहरु युरोप, अमेरिका, क्यानाडातिर पलायन भए । हुँदा खाने वर्गका श्रमजीवीहरु रोजगारीका खोजीमा खाडीतिर लागे । मुलुक दिनानुदिन उजाड हुँदै गयो । यसै बीच विभिन्न तहका चुनावहरु भए । जनप्रतिनिधिका नाममा देश र जनताले धानिनसक्नुका धमिराहरु उमारिए । गरिब जनता मतदाता र करदातामा सीमित भए । उन्नति–प्रगतिका तमाम आशा उखेलिँदै गएपछि जनतामा निराशा झाङ्गिन थाल्यो । यसै बीच विभिन्न तहको दोस्रो निर्वाचन पनि आयो ।

पञ्चायत ढलेको पनि तीन दशक बितिसकेको थियो । नेताहरुमा पञ्चायत युगीन सामन्ती प्रवृत्ति ढलेको थिएन । अझ बढी गाँजिएको थियो । नयाँ संविधान पुराना गरुडपुराणको प्रेतकल्पजस्तै तर अलि फरक साबित हुँदै थियो । प्रेतकल्पमा नर्कका कुरा पनि थिए । नयाँ संविधानमा स्वर्गैस्वर्गका कुरामात्र थिए । पण्डितहरुले ‘विष कुम्भम् पयो मुखम्’ भनेजस्तै । मुखमा समाजवाद अर्थात् समाजवादोन्मुख संविधान, लोकतान्त्रिक गणतन्त्र । सबै कुरा कागतमा मात्र थियो । व्यवहारमा उद्योग, इलमविहीन रित्तो देश थियो । बाँझा खेतबारी थिए । नेपाली जनताले यतिभन्दा कति पाउनु ? पाउनुसम्म पाएका थिए ।

मुलुकमा पहिलोको अवधि सकिएर आएको दोस्रो चुनावको शुरुमा स्थानीय चुनाव आयो । कामपामा पनि आयो । विभिन्न सहलिया दलका स्वनामधन्यहरु मेयर पद ताकेर उठे । स्वतन्त्र उम्मेदवार पनि उठे । निर्वाचनका दिन परिचय पत्र बोकेर बुथतिर जान हिँड्दै थिएँ, दश वर्षीया नातिनी प्रिनाले भनिन्, ‘लौरोमा भोट रान्ख्नुस् है बुबा, बालेनले राम्रो गीत गाउँछ । बदमासहरुका विरोधमा गीत गाउँछ । बालेनले जित्यो भने राम्रो काम गर्ला कि ? शहरमा ठाउँ–ठाउँमा खेल्न–रमाउन पाइने रमाइलो बगैँचा बनाउला कि ? चिल्ड्रेन पार्कहरु बनाउला कि ? बनाउँछ होला । त्यसैलाई भोट दिनुस् है ?’ नातिनीका कुरा सुनेर एकछिन् अलमलिएँ । म आपूm नो भोटको मुडमा थिएँ ।

राजधानीका राजनीतिसचेत जनताले भ्रष्ट आततायी राजनीतिक दलहरुविरुद्ध आफ्नै विवेक प्रयोग गरी निर्वाचनमा जिताएका मेयरले त्यही त्रूmर शैलीमा सडकका गरिब व्यापारीहरुमाथि सत्ताका डण्डा बर्साएर लखेटेका समाचार सुनिन थाले । डोजर चलाएर हचुवा पारामा जथाभावी किसिमले संरचनाहरु भत्काएका समाचार सुुनिन थाले । एक दिन थापाथलीमा शर्मिला नामकी एक तामाङ महिलाको गरिखाने एकमात्र जीविकोपार्जन साधन घिसारगाडा र त्यसमा विक्रीका लागि राखिएका थुप्रै सामान नगर प्रहरीहरुले कब्जा गरेर लुटी लगेको, शर्मिला तामाङ रुँदै ट्रकका पछि–पछि दगुरेको जीवन्त बयान सामाजिक सञ्जालमा श्रव्यदृश्यकै तहमा देखेसुनेपछि पञ्चायतकालीन त्यो सोल्टीमोडको त्रासद दृश्य मेरो अगाडि ठिङ्ग उभिन आयो । सत्ताका कागत र नाम फेरिए पनि सत्तासीनहरुका अहङ्कार, त्रूmरता र नृशंंसताका व्यवहार जस्ताका त्यस्तै छन् त ! कत्ति पनि फेरिएका छैनन् ! हरेक आन्दोलन मरुभूमिको बालुवामा पानी हालेजस्तो ! परिवर्तनका आकाङ्क्षा लिएर गरिएका जनआन्दोलनहरुमा पोखिएका जनताको रगत खेरै गएको हो त ? खै यथास्थिति डेग चलेको छैन त ? सत्तासीनहरु आज पनि त्रूmर सामन्त, महासामन्तहरु नै छन् ? महानगरकै कुरा गर्दा पनि शारदाप्रसाद भट्टराई भन्नु, विद्यासुन्दर शाक्य भन्नु र बालेन शाह भन्नु उस्तै–उस्तै हुन् ? मनमा तर्कवितर्कहरुले रोँगटे पिङ खेल्दैरहे ।

मलाई बालेन भनिने व्यक्ति साना र विवेकहीन आँखा भएका कुलीन वर्गीय अर्धजङ्गली हात्तीजस्तो लाग्थ्यो । संवेदनहीन लाग्थ्यो । गरिब निमुखाको मर्म नबुझ्ने हाकिम लाग्थ्यो । शहरका सडक–गल्लीलाई सभ्य र शिष्ट बनाउन चाहने बालेन प्रयासको भने म प्रशंसक थिएँ । आँटिलो स्वभावको पनि म प्रशंसक थिएँ ।

‘आजबाट सिंहदरबारको फोहर उठ्दैन । साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ चैत्र २५ गते शनिबार फेसबुकमा एउटा स्टाटस पढ्न पाइयो बालेनको । मलाई यो स्टाटस कालजयी अभिव्यक्ति लाग्यो । सत्यको विस्फोट लाग्यो । यथार्थ बोल लाग्यो । गाउँतिर डाँकको बोल भन्थे । त्यस्तै लाग्यो । यस अभिव्यक्तिका लागि मैले बालेनलाई मनमनै सलाम गरेँ । धन्यवाद दिएँ ।

‘सिंहदरबारमा खतरनाक फोहोरको डङ्गुर छ । मुलुक स्वस्थ बनाउन त्यस डङ्गुरलाई बढार्नुपर्छ’ भन्नुमा विगत तीस वर्षका शासन–प्रशासनका विविध पक्षमाथिको गम्भीर अध्ययन–अनुसन्धानको निष्कर्ष झल्कन्छ ।

फोहोर डङ्गुरका एक–एक व्यष्टि चेतनालाई घचघच्याएर सोध्ने हो भने तिनले पनि यो कुरा होइन भन्ने अवस्था छैन । फोहोर पनि प्राङ्गारिक मल बन्ने र उर्बरक बन्ने किसिमको होइन । विनाशकारी प्रदूषण पैmलाउने नितान्त खतरनाक फोहोर ! यी फोहोरबाट मल पनि बन्दैन, बिजुली पनि बल्दैन । निक्खरा फोहोर । नितान्त प्रदूषणमय फोहोर । यो नेपाली जनताले पटक–पटक अनुभूत गरेको यथार्थ हो ।

यस यथार्थको उद्घाटन गरेबापत नेपालको आजको इतिहास मेयर बालेन शाहप्रति ऋणी रहनेछ । हामी जन सामान्यका लागि यो बिर्सिनसक्नुको तथ्यबोधन हो ।

प्रतिक्रिया दिनुहोस्