बनिनसक्दै अस्पताल आफैं ‘थला’



काभ्रे । जिल्लाको विकट पालिका खानीखोलामा निर्माणाधीन आधारभूूत अस्पताल बजेट अभावका कारण आफैं थला परेको छ । अस्पताल बन्ने आसमा रहेका स्थानीयहरू उपचार अभावकै कारण मृत्युको मुखमा पुग्न बाध्य छन् ।

केही महिनाअघि मात्रै खानिखोलामा सुत्केरी महिला र डोेकोमा राखेर उपचारका लागि ल्याउँदै गरेका १६ वर्षीय युवकको बाटोमै निधन भएको दुखेसो पोख्दै खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ्गले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सडक बन्द छ, एम्बुलेन्स जान सक्दैन । नजिकै अस्पताल छैन । बिरामी हुँदा मर्नुको विकल्प छैन।’ उहाँले खानीखोलाबासीले आधारभूत अस्पताल र सडकका कारण दैनिक भोग्नु परेका यस्ता समस्यामा संघ र प्रदेश सरकारले वास्ता नगरेको आरोप लगाउँदै भन्नुभयो– ‘अस्पताल निर्माणाधीन छ । बहुवर्षीय बजेटमा समावेश गर्नुपर्ने अस्पताल निर्माणको कार्यलाई एक वर्षमै सीमित गरिदिएका कारण निर्माण व्यवसायीले निर्माण कार्य सम्पन्न गरेको करिब ३ करोड रकम भुक्तानी पाउन सकेको छैन । बाँकी कार्य अधुरो हुँदा अस्पताल शुरू गरेर सेवा चालु हुने स्थानीयको अपेक्षामा तुषारापात भएको छ ।’

खानीखोला गाउँपालिकाको वडानम्बर ५ स्थित तालढुंगा स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालका रूपमा विकास गर्ने गरी १० शैयाको अस्पताल निर्माणको कार्य प्रारम्भ गरिएको थियो । तत्कालीन केपी ओली नेतृत्वको सरकारले देशभरका स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको कार्य प्राथमिकतामा राखेको थियो । २०७८ असार २९ गते तुन्दी–जम्बुदीप जेभी निर्माण कम्पनीले खानीखोला गाउँपालिकाको आधारभुत अस्पताल निर्माणका लागि सम्झौता गरेको थियो । १६ करोड ६४ लाख रुपियाँमा बोलपत्र आह्वान गरेकोमा १२ करोड ५४ लाख रुपियाँमा सम्झौता भएको थियो । निर्माण व्यवसायीले कार्य सम्पन्न गरेका आधारमा साढे दुई करोड रुपियाँ भुक्तानी गरेको छ । तर तुन्दी–जम्बुदीप जेभी निर्माण कम्पनील करिब ३ करोड भुक्तानी लिन बाँकी रहेकोे जानकारी दिएको छ । रकम भुक्तानी भए तुरुन्तै अस्पताल निर्माण कार्य सम्पन्न गर्ने व्यवसायीले बताएका छन् ।

वागमती प्रदेश सरकारबाट बजेट निकासा नहुँदा भवन निर्माणको काम अलपत्र परेको बताउँदै अध्यक्ष थिङ्गले जानकारी भन्नुभयो – ‘अस्पताल निर्माणको प्रक्रिया शुरू हुँदा बहुवर्षीय योजना स्वीकृत गर्नु पर्नेमा त्यसो नभएका कारण समस्या भएको रहेछ । प्रदेश सरकारलाई पटक पटक अनुरोध गरें । पत्र पठाएँ । हुँदैन भन्दैनन् । कहिल्यै बजेट निकासा हुँदैन ।’

२०७९ असार मसान्तसम्ममा अस्पतालको भवन निर्माण सम्पन्न भई सक्नुपर्ने भए पनि शुरूमा जग्गा विवाद पछि बजेट नभएका कारण निर्माण कार्य रोकिएको थियो । म्याद सकिएको एक वर्ष निर्माणको अवधि थपिएको भए पनि भुक्तानी नभएकै कारण थपिएको म्यादभित्र अस्पताल निर्माणको सुरसार नै हुन सकेन । प्रदेश मन्त्री युवराज दुलाललगायतको टोलीले अस्पताल निर्माणको अधुरो कार्यको अनुगमन गरेको थियो ।

खानीखोला पुग्ने सडक सामान्य वर्षात् हुँदा पनि अवरोध हुने गर्छ । मकवानपुरबाट नजिकै हुने भए पनि वागमती खोलामा २०७३ सालमा ठेक्का लगाईएको पुल निर्माण नहुँदा आवतजावत हुन सक्दैन । महाभारत गाउँपालिकामा सुत्केरी महिला उत्थान कार्यक्रम लागु भए पनि जोडिएको झनै विकट पालिका खानीखोलामा उक्त कार्यक्रम छैन । सुत्केरी हुन नसकेका महिलाहरूको उद्दारका लागि खानीखोलाबाट महाभारत ल्याएर हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने बाध्यता छ । संघ र प्रदेश सरकारले सबै स्थानीय तहलाई एउटै डालोमा राखेर हेरेका कारण विकट क्षेत्रका पालिकाका नागरिकहरू संकटमा परेको अध्यक्ष थिङ्गले बताउनुभयो । उपचार नपाएरै नागरिकहरूले ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्यका लागि संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराए पनि गम्भीर नभएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्