हिस्तानमा अन्नपूर्ण अध्यक्ष कप प्रतियोगिता सुरु (तस्बिरसहित)



म्याग्दी ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा आज (सोमबार)देखि अन्नपूर्ण अध्यक्ष कप प्रतियोगिता–२०७९ सुरु भएको छ । ‘समृद्ध अन्नपूर्ण निर्माणको आधार: दिगो कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने नारासहित हिस्तानको घराम्दीस्थित खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिएको हो ।

खेलकुद प्रतियोगितामार्फत खेल प्रतिभाको पहिचान, चर्चित खेलाडी र कलाकारको सम्मानका साथै खेलकुद, कला र संस्कृतिको प्रवर्द्धन गर्नको लागि गाउँ कार्यपालिकाद्वारा अध्यक्ष कप प्रतियोगिता आयोजना गरिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । आउँदो नयाँ वर्ष २०८० सालको वैशाख १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा (खम्बीर)ले एक समारोहबीच उद्घाटन गर्नुभयो ।

   प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य गर्बुजाले खेलकुदको प्रवर्द्धन गर्न आयोजित अध्यक्ष कप प्रतियोगिताले खेल प्रतिभाको पहिचान गर्नुको साथै खेल प्रेमीलाई प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले खेलकुदको विकासका लागि तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्ने बताउँदै म्याग्दीको विकास गर्न एकजुट हुनुपर्ने बताउनुभयो । निर्वाचनमा आ–आफ्नो पार्टीमा लागेको भए पनि अब गाउँ र जिल्लाको विकास गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने भन्दै उहाँले कुनै भेदभाव नगरीकन आफूहरु जिल्लाको विकासमा लाग्ने बताउनुभयो ।

गण्डकी प्रदेशका निवर्तमान मन्त्री तथा प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जालीले म्याग्दीमा निर्माणाधीन आयोजनाहरुको निर्माणकार्यमा ढिलाई भैरहेको बताउँदै निर्माणकार्यलाई तीव्र बनाउन सबैले खबरदारी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अब नयाँ योजनाहरु निर्माणकार्य सुरु गर्नुभन्दा पनि यसअघिका अलपत्र योजना तथा आयोजनाहरुलाई निर्माणसम्पन्न गराउनेतर्फ लाग्नुपर्ने बताउँदै अहिलेको अवस्थामा अर्थतन्त्र सङ्कटतर्फ उन्मुख रहेकाले आउँदो आर्थिक वर्षमा बजेट घटेर आउने बताउनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दीको पर्यटकीय क्षेत्र घोरेपानीलाई कास्कीको उल्लेरीसँग पनि सडक सञ्जालमा जोड्नका लागि कास्की र म्याग्दीको तर्फबाट पहल भैरहेको बताउनुभयो । अर्का प्रदेश सभा सदस्य बिमला गौचनले खेलकुद प्रतियोगिताले शारीरिक तथा मानसिक विकासको साथै ग्रामीण भेगबाट नयाँ खेलाडी पहिचानमा सहयोग पुर्‍याउने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष विष्णुबहादुर केसी, धवलागिरि गाउँपालिका म्याग्दीका अध्यक्ष प्रेमप्रसाद पुन, अन्नपूर्ण–७, हिस्तानका वडाध्यक्ष मैलन पुन, नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समिति सभापति कृष्णप्रसाद बरुवाल, नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीका अध्यक्ष धनकुमार पुर्जा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, जिल्ला खेलकुद विकास समिति अध्यक्ष दिनेश केसी र हिस्तानका निवर्तमान वडाध्यक्ष गमबहादुुर फगामीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा अन्नपूर्ण गाउँपालिकामा जन्मिएर म्याग्दीको पत्रकारिता क्षेत्रमा क्रियाशील अग्रज पत्रकार घनश्याम खड्का तथा सुरेन गुरुङलाई दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा पालिका र वडाका पूर्व जनप्रतिनिधि, अन्नपूर्णबाट राष्ट्रिय चर्चा कमाएका खेलाडी, कलाकार तथा विभिन्न प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मान गरिएको थियो ।

प्रतियोगिताको उद्घाटनसत्र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको अध्यक्षता, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनको स्वागत र प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । आइतबारै सम्पन्न अन्नपूर्णका जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण उद्घाटन खेल भलिबलमा कर्मचारीको टिम विजयी भएको छ । प्रतियोगितामा वडास्तरीय महिला, पुरुष तथा प्रौढ भलिबल र बास्केटबल प्रतियोगिता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्