नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स प्रदान गर्न बाटो खुल्यो



काठमाडौं । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स प्रदान गर्न नेपाल धितोपत्र बोर्डलाई बाटो खोलिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले आइतबार बाटो खोलिदिएको हो ।

नयाँ स्टक एक्सचेन्ज, ब्रोकर र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण नगर्न धितोपत्र बोर्डका नाममा आदेश माग गर्दै परेको रिट संयुक्त इजलासले खारेज गरेको छ ।

यसअघि गत कात्तिक ४ गते सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले तत्काल नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाइसेन्स वितरण नगर्न बोर्डलाई अल्पकालीन अन्तरिम आदेश दिएको थियो । तर, आइतबारको संयुक्त इजलासले उक्त अल्पकालीन आदेश खारेज गरेको छ ।

त्यस्तै, अल्पकालीन अन्तरिम आदेश जारी भएको अवस्थामा नै ब्रोकर लाइसेन्स खोल्न माग गर्दै संवैधानिक इजलासमा अर्को रिट दर्ता भएको थियो । तर, पुस १३ गते संवैधानिक इजलासले संयुक्त इजलासबाट नै मुद्दाको फैसला गर्दा उपयुक्त हुने भन्दै रिट खारेज गरेको थियो ।

रिट खारेजसम्बन्धी आदेशको पूर्णपाठ आउँदा धितोपत्र बजार र धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिने गरी नेपाल धितोपत्र बोर्डको नियमावली संशोधन धितोपत्रसम्बन्धी ऐन, २०६३ को परिधिभित्र नै रहेको ठहर गरेको छ ।

त्यस्तै, नयाँ लाइसेन्सको आवेदन माग गर्ने नियमावली संशोधन गर्न बाधा नरहेको समेत संवैधानिक इजलासले ठहर गरेको छ ।

ब्रोकर लाइसेन्सको प्रक्रिया रोकिँदा ४५ वटा आवेदकको १२ अर्ब रुपियाँभन्दा बढी रकम करिब सात महिनादेखि ‘फ्रिज’ हुँदै आएको थियो । नेपाल धितोपत्र बोर्डले गत भदौ २६ गते धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ संशोधन गर्दै ब्रोकर लाइसेन्सका लागि आवेदन माग गरेको थियो ।

बोर्डले ब्रोकर छनोट गर्न मुख्य ५ वटा मापदण्ड तय गरेको थियो । जसमा पुँजी, अनुमति प्रदानसम्बन्धी दस्तुर, सञ्चालकहरूको योग्यता, संस्था प्रमुखको योग्यता र सूचना प्रविधि छन्  । यी मापदण्डका आधारमा ब्रोकर छनोट गरी लाइसेन्स वितरण गरिने बोर्डले जनाएको छ ।

‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली (पाँचौं संशोधन) २०७९’ मार्फत नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ब्रोकर छान्ने अधिकार संशोधन गरी बोर्डमा दिइएको छ । स्टक ब्रोकरका लागि न्यूनतम चुक्तापँुजी २० करोड रुपियाँदेखि अधिकतम १५० करोड रुपियाँसम्म रहेको छ ।

३ प्रकारका ब्रोकर हुनेछ । सामान्य सेयर कारोबार गर्ने स्टक ब्रोकर कम्पनी खोल्न २० करोड रुपियाँ चुक्ता पुँजी हुनुपर्नेछ । त्यस्तै, मार्जिन लेन्डिङ, एड्भाइजरी सेवासमेत दिने ब्रोकर कम्पनी खोल्न ६० करोड रुपियाँ र आफ्नै नाममा सेयर खरिद बिक्री गर्न मिल्ने एवम् स्टक डिलरको समेत कार्य गर्न सक्ने गरी ब्रोकर कम्पनी खोल्न भने १ अर्ब ५० करोड रुपियाँ चुक्ता पुँजी चाहिने व्यवस्था गरेको छ ।

अहिले ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा रहेका छन् । हाल सञ्चालनमा रहेका ब्रोकर कम्पनीले पनि वि.सं. २०८२ असार मसान्तसम्म तोकिएबमोजिमको चुक्ता पुँजी पु¥याउनुपर्ने भएको छ । नेप्सेले ४५ वटा नयाँ कम्पनीले आवेदन दिएपछि नेपाल धितोपत्र बोर्डसमक्ष लाइसेन्सका लागि सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्