पहुँचयुक्त शैक्षिक सामग्रीको उपयोगले प्रभावकारी बन्यो सिकाई



काभ्रे।

अपाङ्गता भएका बालबालिकाहरुका लागि उपलब्ध पहुँचयुक्त शैक्षिक सामग्रीको उपयोगका बारेमा नेपाल अपाङ्ग महिला संघ मार्फत जिल्लाका चारवटा पालिकामा भएका गतिविधिका बारेमा अनुमनका साथै स्थानीय सरकारलाई उपलब्धि, सिकाई र चुनौतीसँगै अपेक्षा हस्तान्तरण गरिएको छ ।

‘उपलब्ध शैक्षिक सामाग्रीलाई पाठ योजनामा समावेश गरी प्रविधिमार्फत पढ्ने पढाउने वातावरणको अपेक्षा गरेका छौं’– परियोजनाका फिल्ड अफिसर प्रमीला हुमागाईँले भन्नुभयो–‘समान सिकाई उपलब्धिका लागि शिक्षकहरुलाई तालिम र प्रविधिको थप व्यवस्थापन तथा उपलब्ध गराइएका शैक्षिक सामाग्रीको स्वामित्व स्थानीय तहलाई हस्तान्तरण गरेका छौँ ।’

मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपाललाई सोही पालिकामा सञ्चालित कार्यक्रम र विद्यालयमा उपलब्ध गराइएको सिकाई, उपलब्धि र सामाग्री हस्तान्तरण गरिएको छ । मण्डन देउपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा.लोकबहादुर लोप्चन, शिक्षा शाखा प्रमुख डिकबहादुर राई, नेपाल अपाङ्ग महिला संघका उपाध्यक्ष मिना पौड्याल, विश्व शिक्षाका तर्फबाट सुप्रभा थापा, सुरेश भण्डारी, कार्यक्रम संयोजक दुर्गा कार्की, परियोजनाका तर्फबाट कार्यक्रम संयोजक रिस्ता श्रेष्ठ, फिल्ड अफिसर प्रमीला हुमागाईँ लगायतले परियोजनामा भएको सिकाईका बारेमा जानकारी गराउनु भएको थियो ।

कालीदेवी आधारभूत विद्यालयमा अध्ययन गरिरहेका १० जना बालबालिकाहरुका सन्दर्भमा परियोजना सञ्चालन पछि देखिएका परिवर्तन र सुधार गर्नु पर्ने विषयमा छलफल भएको थियो । विद्यालयकी श्रोत शिक्षक जुना तामाङले परियोजना पछि बालबालिकाहरुमा अध्ययन गर्ने वानीमा सुधार भएको बताउनु भयो ।

प्रविधिमैत्री शिक्षण पद्धतिले अपाङ्गता भएका बालबालिकाहरुले अध्ययन गर्ने बानी र सम्झने शक्तिको विकास गराएको जुनाले बताउनु भयो । उपप्रमुख विष्णुमणि नेपालले परियोजना सम्पन्न भए पनि प्राप्त उपलब्धीहरुलाई नगरपालिकाले ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयन गर्ने बताउनु भयो । विद्यालयमा आएका बालबालिकाहरुलाई सिकाई गराउनु र विद्यालय हाता बाहिर रहेका बालबालिकाहरुलाई समेत शिक्षा प्रदान गर्ने विषयमा नगरपालिकाले ध्यान दिने उहाँले बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत डा. लोकबहादुर लोप्चनले अपाङ्गता भएका मात्रै नभई विभिन्न भाषाका विषयमा पनि नगरपालिकाले सम्बोधन गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा परियोजना अनुगमन मूल्याङ्कन अधिकृत दुर्गा कार्कीले परियोजनाको लक्ष्य अपाङ्गता भएका महिला तथा बालबालिकाहरुलाई समाजका सबै क्षेत्रमा समावेशीकरण, अधिकारको व्यवस्था र उपभोगका लागि सङ्गठित र वकालत गर्ने भए पनि सबै बालबालिकाको अधिकारका लागि काम गरिरहेको बताउनु भयो । विद्यालय शिक्षालाई समावेशी र अपाङ्गता मैत्री बनाउन आवश्यक रहेको कार्कीको भनाई थियो । शिक्षामा रहेको अवरोध हटाएर अवसर सिर्जना गर्ने हो भने सबै बालबालिकाले समान रुपमा सिक्न सक्ने अधिकृत कार्कीले बताउनुभयो ।

कक्षा १ देखी ३ सम्म अर्थात् प्रारम्भिक तहका बालबालिकालाई लक्षित गरी परियोजना सुरु भएको थियो । बौद्धिक अपाङ्गता भएका बालबालिका, दृष्टि तथा हेराई सम्बन्धी अपाङ्गता, सुनाई सम्बन्धी अपाङ्गता भएका बालबालिकाहरु यो कार्यक्रमबाट लाभान्वित भएका छन् । कार्यक्रममा ६ हजार २ सय ९५ प्रारम्भिक तहका बालबालिका, ५ सय ८१ अपाङ्गता भएका बालबालिका र तीनका अभिभावक, ४९ विद्यालय र ९६ शिक्षक समावेश छन् ।

परियोजनाको फिल्ड अफिसर प्रमीला हुमागाईँका अनुसार काभ्रे जिल्लाका ५ वटा नगरपालिकाका ७ विद्यालयमा यो परियोजना सञ्चालन भएको थियो । धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका र मण्डनदेउपुर नगरपालिकामा परियोजना सञ्चालित छ । सिकाइको समावेशी ढाँचालाई व्यवहारमा उतार्न सके एउटै कक्षाकोठा भित्रको वातावरणमा समान स्तरको सिकाइ उपलब्धि हासिल गर्न सक्ने सहभागीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्