गाउँपालिकाको सहयोगमा अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’



पर्वत । पर्वत अस्पतालको बहिरंग सेवा (ओपिडी)मा स्वास्थ्य परीक्षणका लागि आउने महिला बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’को सुविधा दिइने भएको छ ।

भर्ना भएर बसेका बिरामी तथा उनीहरुका कुरुवाले आफूलाई आवश्यक सामग्रीको व्यवस्थापन आफैले गर्ने भए पनि ओपिडीमा आएका महिलाले ‘प्याड’ बोकेर नआउने र अचानक महिनावारी हुँदा समस्या हुने भएकाले यो व्यवस्था गर्न लागिएको हो ।

अस्पतालले सहयोगका लागि जलजला गाउँपालिकामा प्रस्ताव गरेकोमा गाउँपालिकाको गाउँ सभाबाट निर्णय गरेर दुई लाख रुपियाँ उपलब्ध गराएपछि यो सुविधा थप गर्न लागिएको हो ।

सरकार मातहतको जिल्लाको सबैभन्दा ठूलो पर्वत अस्पताल भएको र आफ्नो स्थानीय तहका बिरामीहरुले पनि सोही अस्पतालबाट सेवा लिने भएकाले उक्त रकम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताउनुभयो ।

‘सामान्य बिरामी भएको अवस्थामा गाउँमा रहेका स्वास्थ्य संस्थाबाट सेवा लिने भए पनि त्यो भन्दा ठूलो बिरामी भएको बेलामा उपचारका लागि जाने त त्यही अस्पताल हो’, उहाँले भन्नुभयो ‘सबै सुविधाका लागि अस्पतालसँग पर्याप्त बजेट नुहुने भएकाले हामीले सहयोग गरेका हौँ ।’

गाउँपालिकाले उपलब्ध गराएको रकमबाट आगामी एक वर्षका लागि ‘सेनीटरी प्याड’ निःशुल्क दिन सकेमा अर्को वर्षका लागि स्थानीय तहहरुमा प्रस्ताव गर्नेदेखि बाह्य सहयोगीहरु खोजेर भए पनि निरन्तरता दिइने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रुक्मिना अधिकारीले बताउनुभयो ।

पर्वतकै केही व्यक्तिहरुले निर्माण गरेको र सिक्का (कोइन) खसालेपछि ‘प्याड’ निस्किने ‘म्यानुअल’ खालको ‘भेन्डर मसिन’ (सेनीटरी प्याड राखिने उपकरण) भएकाले पनि गाउँपालिकाले दिएको रकमबाट एक वर्ष सेवा दिन सकिने उहाँको भनाइ छ ।

‘भर्ना भएर बसेका बिरामीहरुले आफ्ना लागि बोकेर आउनुहुन्छ । तर ओ.पि.डी. चेक गरेर घर फर्किहाल्छु भनेर आउनुभएकाहरुले प्याड ल्याउनुभएको हुँदैन । स्वास्थ्य परीक्षणका लागि लाइनमा बसेको बेलामा महिनावारी हुँदा समस्या भएको देख्यौँ’, अधिकारी भन्नुहुन्छ्, ‘म्यानुअल खालको भएकाले यो भेन्डर मसिन १५÷२० जतिमा आउँछ । बाँकी रकमले प्याड खरिद गर्ने हो । यसले एक वर्ष मात्रै धान्यो भने अर्को वर्षका लागि फेरि सहयोगका लागि अनुरोध गर्नुपर्ला ।’

प्रतिक्रिया दिनुहोस्