कोभिडको नयाँ भेरियन्टबाट ११ जना संक्रमित, ‘ट्रेसिङ्ग, टेस्टिङ्ग र ट्रिटमेन्ट’ प्राथमिकतामा



काभ्रे ।

काभ्रेपलान्चोक जिल्लामा एक्सबीबी १.१६ पुष्टि भएको छ । मेथिन्कोट अस्पतालमा उपचारका लागि आएका बिरामीमा गरिएको परीक्षणमा कोभिडको नयाँ भेरिअन्ट पुष्टि भएको हो । जिल्लामा नयाँ भेरिअन्ट पछि ११ जनामा संक्रमण पुष्टि भएको छ ।

‘काभ्रेपलान्चोक जिल्लामा कोभिडको नयाँ भेरिअन्ट पुष्टि भएको छ’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम सेढाँईले भन्नुभयो–‘मेथिन्कोट अस्पताल नमो बुद्ध भकुन्डेमा रुघाखोकी र ज्वरो आएर उपचारका लागि आएका बिरामीमा गरिएको परीक्षणमा नयाँ भेरिअन्ट पुष्टि भएको हो ।’ नयाँ भेरिअन्ट परीक्षण गराउन महँगो भएकाले थप बिरामीलाई कोभिड नेगेटिभ र पोजेटिभ मात्रै परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ११ जनामा नयाँ भेरियन्टसँग मिल्ने लक्षण देखिएको छ । बनेपा नगरपालिकामा ५, पनौती नगरपालिकामा ४ र नमो बुद्ध नगरपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार थप दुई जनामा संक्रमण पुष्टि भएको हो । कोभिड संक्रमणदर बढ्न थाले पछि जिल्ला स्थित कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले सचेतना अपनाउने र आवश्यक तयारी गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति प्रमुख दिपकुमार गौतम, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, कार्यालय प्रमुखहरू, जिल्ला समन्वय अधिकारी शान्तिराज प्रसाईँ लगायतको सहभागिता थियो ।

बैठकमा कोभिड महामारी फैलँदो अवस्थामा अपनाउनु पर्ने सुरक्षा उपाय, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना तथा कोभिड विरुद्धको खोपलाई अनिवार्य गरिँदै लैजाने, जिल्लाका सबै अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा कोभिड विरुद्धको अभियानलाई आवश्यक व्यवस्थापन गर्ने सम्बन्धमा निर्णय भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाईले बताउनु भयो । जिल्ला समन्वय प्रमुख दिपकुमार गौतमले भिडभाड हुने स्थलमा अनिवार्य मास्कको प्रयोग गर्न, नियमित हात धुन तथा भौतिक दुरी कायम राख्न सर्वसाधारणलाई अपिल गर्ने र स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूलाई कोभिड नियन्त्रण, व्यवस्थापन र उपचारका लागि तयारी अवस्थामा रहने गरी आवश्यक समन्वयका लागि अनुरोध गरिएको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सरकारी कार्यालय तथा नागरिकहरू भिडभाड हुने स्थलहरूमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अपिल गर्नुका साथै खोप कार्यक्रमलाई प्रभावकारी बनाउन अनुरोध गरिएको बताउनु भयो । कालीजंग गणका गणपति कर्णेल प्रकाशबहादुर सिंहले नेपाली सेनाले सहरी क्षेत्रहरूमा कोभिड विरुद्धको अभियानमा सचेतना तथा आवश्यक पूर्व तयारी गरेको बताउनु भयो । प्रहरी प्रमुख एसपी भागेन्द्रपुरुष ढकालले अग्रपक्तिमा खटिने सुरक्षाकर्मी तथा उद्धारका लागि खटिने टिम तयार गरी आवश्यक स्वास्थ्य सुरक्षाका लागि पूर्व तयारी गरिएको बताउनु भयो । काभ्रेपलान्चोक जिल्लामा कोभिड १९ का कारण हालसम्म जिल्लामा १ सय ९६ जनाको मृत्यु भएको छ भने १८ हजार १ सय ६० जना संक्रमित भएका थिए । स्थानीय सरकार तथा स्वास्थ्य कार्यालयले ‘ट्रेसिङ्ग, टेस्टिङ्ग र ट्रिटमेन्ट’लाई प्राथमिकता राखेर अभियान सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्