कोभिडको नयाँ भेरियन्टबाट ११ जना सङ्क्रमित

‘ट्रेसिङ्ग, टेस्टिङ्ग र ट्रिटमेन्ट’ प्राथमिकतामा



काभ्रे। 

काभ्रेपलाञ्चोक जिल्लामा एक्सबीबी १.१६ पुष्टि भएको छ । मेथिन्कोट अस्पतालमा उपचारका लागि आएका बिरामीमा गरिएको परीक्षणमा कोभिडको नयाँ भेरियन्ट पुष्टि भएको हो । जिल्लामा नयाँ भेरियन्ट पछि ११ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

‘काभ्रेपलाञ्चोक जिल्लामा कोभिडको नयाँ भेरियन्ट पुष्टि भएको छ’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम सेढाँईले भन्नुभयो–‘मेथिन्कोट अस्पताल नमोबुद्ध भकुण्डेमा रुघाखोकी र ज्वरो आएर उपचारका लागि आएका बिरामीमा गरिएको परीक्षणमा नयाँ भेरियन्ट पुष्टि भएको हो ।’ नयाँ भेरियन्ट परीक्षण गराउन महँगो भएकाले थप बिरामीलाई कोभिड नेगेटिभ र पोजेटिभ मात्रै परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ११ जनामा नयाँ भेरियन्टसँग मिल्ने लक्षण देखिएको छ । बनेपा नगरपालिकामा ५, पनौती नगरपालिकामा ४ र नमोबुद्ध नगरपालिकामा २ जनामा सङ्क्रमण पुष्टि भएको छ । मङ्गलवार थप दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । कोभिड संक्रमणदर बढ्न थाले पछि जिल्ला स्थित कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले सचेतना अपनाउने र आवश्यक तयारी गर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति प्रमुख दिपकुमार गौतम, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, कार्यालय प्रमुखहरु, जिल्ला समन्वय अधिकारी शान्तिराज प्रसाईँ लगायतको सहभागिता थियो ।

बैठकमा कोभिड महामारी फैलँदो अवस्थामा अपनाउनु पर्ने सुरक्षा उपाय, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना तथा कोभिड विरुद्धको खोपलाई अनिवार्य गरिँदै लैजाने, जिल्लाका सबै अस्पताल ताथ स्वास्थ्य केन्द्रहरुमा कोभिड विरुद्धको अभियानलाई आवश्यक व्यवस्थापन गर्ने सम्वन्धमा निर्णय भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाईले बताउनु भयो ।

जिल्ला समन्वय प्रमुख दिपकुमार गौतमले भिडभाड हुने स्थलमा अनिवार्य मास्कको प्रयोग गर्न, नियमित हात धुन तथा भौतिक दुरी कायम राख्न सर्वसाधारणलाई अपिल गर्ने र स्थानीय तह तथा स्वास्थ्य संस्थाहरुलाई कोभिड नियन्त्रण, व्यवस्थापन र उपचारका लागि तयारी अवस्थामा रहने गरी आवश्यक समन्वयका लागि अनुरोध गरिएको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सरकारी कार्यालय तथा नागरिकहरु भिडभाड हुने स्थलहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अपिल गर्नुका साथै खोप कार्यक्रमलाई प्रभावकारी बनाउन अनुरोध गरिएको बताउनु भयो । कालीजंग गणका गणपति कर्णेल प्रकाशबहादुर सिंहले नेपाली सेनाले शहरी क्षेत्रहरुमा कोभिड विरुद्धको अभियानमा सचेतना तथा आवश्यक पुर्व तयारी गरेको बताउनु भयो ।

प्रहरी प्रमुख एसपी भागेन्द्रपुरुष ढकालले अग्रपक्तिमा खटिने सुरक्षाकर्मी तथा उद्धारका लागि खटिने टिम तयार गरी आवश्यक स्वास्थ्य सुरक्षाका लागि पुर्व तयारी गरिएको बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्लामा कोभिड १९ का कारण हालसम्म जिल्लामा १ सय ९६ जनाको मृत्यु भएको छ भने १८ हजार १ सय ६० जना सङ्क्रमित भएका थिए । स्थानीय सरकार तथा स्वास्थ्य कार्यालयले ‘ट्रेसिङ्ग, टेस्टिङ्ग र ट्रिटमेन्ट’लाई प्राथमिकता राखेर अभियान सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्