महाभारत गाउँपालिकाको किल्लामा एकीकृत स्वास्थ्य शिविर 



काभ्रे  ।

महाभारत गाउँपालिका–५ किल्लामा प्रजनन, एकीकृत जनस्वास्थ्य तथा पोषण अभियान कार्यक्रम सुरु भएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय काभ्रे तथा महाभारत गाउँपालिकाको संयुक्त आयोजनामा शिविर सुरु भएको हो । आज आइतबारबाट सुरु भएको शिविर भोलिसम्म सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।

शिविरमा स्त्री रोग तथा प्रजनन स्वास्थ्य सेवा, दन्त रोग सम्बन्धी सेवा, मानसिक स्वास्थ्य सेवा, जनरल मेडिसिन सेवा, अपांगता चेकजाँच सेवा उपलब्ध छ । यस्तै पोषण प्रवर्द्धन सेवा, सम्भावित क्षयरोगी स्क्रिनिङग सेवा, गर्भवती महिलाहरुको भिडियो एक्स–रे सेवा र प्रयोगशाला सेवा पनि शिविरमा उपलब्ध रहेको छ ।

स्वास्थ्य शिविर शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, जिल्ला समन्वय समिति प्रमुख दीपक गौतम, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोत्तम सेढाई, जिल्ला स्थित चारवटै सुरक्षा निकायका प्रमुख, गाउँपालिका उपाध्यक्ष सागर मोक्तान, वडा अध्यक्षहरु लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

आफूहरू निर्वाचित भएर आएपछि समग्र सेवा सहित किल्लामा पहिलो पटक शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष जिम्बाले बताउनुभयो । शिविरमा नि:शुल्क औषधी वितरण गरिनेछ भने जिटिल रोगका बिरामीलाई थप उपचारका लागि माथिल्लो निकायमा रेफर गरिने महाभारत गाउँपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ । सोही अवसरमा अपांगता भएका व्यक्तिको पहिचान गरी अपांगता परिचयपत्र पनि वितरण गरिएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले उपचार अभावमा ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्यका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने बताउनुभएको छ । यस्तै प्रमुख जिल्ला अधिकारी पुण्यवित्रक्रम पौडेलले स्वास्थ्य सेवा विस्तारसँगै गुणस्तर वृद्धिका लागि सहयोग गर्ने बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.पुरुषोत्तम सेढाईले पछिल्लो समय मानसिक स्वास्थ्य सम्बन्धी रोगका बिरामीको संख्यामा वृद्धि भएको बताउनुभयो । मानसिक स्वास्थ्य र सर्ने/नसर्ने रोग सम्बन्धी सचेतना तथा उपचारात्मक सेवाका लागि शिविर महत्वपुर्ण हुने उहाँको विश्वास छ । डा. सेढाइले बच्चा जन्मने विक्तिकै लगाउनुपर्ने खोपको मात्रा पुरा गर्न, पोषिलो खाना खुवाउन आग्रह गर्नुभएको छ । कुनै समस्या नदेखिए पनि समय–समयमा स्वास्थ्य जाँच गर्न स्थानीयलाई उहाँले अनुरोध गर्नुभयो ।

किल्लामा पशुपक्षी शिविर पनि आयोजना गरिएको छ । शिविर मार्फत गोबर जाँच सहित औषधी वितरण गरिएको छ । पशुपक्षीमा कुनै रोगको सङ्क्रमण भए/नभएको यकिन गर्न शिविर आयोजना गरिएको हो ।

यसैबीच  जिल्लास्तरीय अनुगमन टोली जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका पुगेको छ । महाभारत गाउँपालिका र खानीखोलाग गाउँपालिकामा रहेका प्रशासन कार्यालयको अनुगमनका लागि टोली महाभारत पुगेको हो ।

उक्त टोलीमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी पुण्यवित्रक्रम पौडेल, कालिजंग गणका गणपति कर्णेल प्रकाशबहादर सिंह, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकाल, जिल्ला अनुसन्धान कार्यालय काभ्रेका प्रमुख राजनविक्रम प्रजापति, सशस्त्र प्रहरीका अच्युतकुमार मजगैया, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायत रहनुभएको छ । जिल्लासतरीय टोलीले भोलि सोमबार खानीखोला गाउँपालिकाका विभिन्न क्षेत्रको अनुगमन तथा स्थानीयसँग अन्तरक्रिया गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्