महाभारतका सडकलाई २ अर्बको बजेट 

कार्यान्वयनमा चुनौती, मन्त्री दुलालको चेतावनी



काभ्रे। 

जिल्लाको विकट पालिका महाभारत गाउँपालिकाका सडकलाई दुई अर्बको रकम विनियोजन भएको छ । निर्माण व्यवसायीको घटाघट गर्दै सम्झौता पछि नियमित कार्य नगरेका कारण विनियोजित बजेट खर्च हुन सकेको छैन ।

‘भुमेचुली–बुढाखानी–तिनखुट्टे सडक कालोपत्रे सहितका लागि ९९ करोड रकम विनियोजन भएको छ । तिनखुट्टे देविटार सडकका लागि ४९ करोड रकम विनियोजन भएको छ भने देविटार गोकुले सडकका लागि ४८ करोड रकमको श्रोत सुनिश्चित भएको छ’–गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘निर्माण ब्यवसायीहरुले विनियोजित बजेटमा कम दरमा सम्झौता गर्ने अनि समयमा काम सम्पन्न नगर्दा महाभारतबासीहरुले खोजेको विकास प्राप्त गर्न सकेका छैनन् ।’ ९९ करोडको बजेटमा ६२ करोडमा सम्झौता भएको छ भने ४९ करोडको बजेटको सडकमा २४ करोडमा सम्झौता भएको छ ।

उक्त सडकको अवधि दुई वर्ष सम्पन्न भएर पुनः अर्को वर्ष थप हुँदा समेत समयमै निर्माण कार्य सम्पन्न नभएपछि बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले अनुगमन गर्नु भएको थियो । तिनखुट्टे देखि देविटारसम्मको ८.७ किलोमिटर पक्की सडक निर्माण कार्य अलपत्र भए पछि गाउँपालिकाले पटक पटक प्रदेश मन्त्रालयलाई समयमै निर्माण सम्पन्नका लागि पत्र लेख्दै आएको थियो । मन्त्री दुलालले पक्की सडकका अलावा, निर्माणाधीन पुल र अन्य आयोजनाहरुको अनुगमन गर्नु भएको थियो ।

महाभारत पुगेर बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले काभ्रे र मकवानपुर जोड्नेगरी जनमुक्ति मार्ग निर्माण गर्ने घोषणा गर्नु भयो । ‘काभ्रेको रोशी गाउँपालिका मंगलटार स्थित बिपी राजमार्गबाट महाभारत र खानीखोला गाउँपालिका हुँदै मकवानपुरको झुरझुरे स्थित मदनभण्डारी लोकमार्ग जोड्ने गरी जनमुक्ति मार्ग निर्माण गरिनेछ’–मन्त्री दुलालले भन्नुभयो–‘उक्त मार्गका लागि ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षबाट नै काम सुरु गर्ने गरी बजेट विनियोजन हुनेछ ।’

महाभारत गाउँपालिकाका तीन खण्ड निर्माणको क्रममा रहेको तथा रोशी गाउँपालिकाको अर्को खण्ड चालु वर्षबाटै प्रारम्भ हुने भएकाले खानिखोलाबाट मकवानपुरको भोर्लेनीमा जोड्ने पुल निर्माणको कार्य सकिनासाथ सडक सञ्जाल संचालनमा आउने उहाँले बताउनु भयो । उक्त सडकको लम्बाई ९३ किलोमिटर हुनेछ । माओवादीको जनयुद्ध शुरु भएको यति लामो समय पछि माओवादी नेतृत्वको सरकारले उक्त सडकलाई जनमुक्ति नामाकारण गरी बजेट विनियोजन गर्न लागेको हो ।

स्थानीयले संघ, प्रदेश र स्थानीय सरकारले घोषणा गरेका महत्त्वपूर्ण आयोजना अलपत्र परेको भन्दै मन्त्री दुलालसँग चिन्ता व्यक्त गरेका थिए । सडक, पुल, विद्युतको क्षेत्रमा महत्वकांक्षी योजना अघि सारिए पनि उपलब्धि भने निराशाजनक रहेको उनीहरुको गुनासो छ । नेकपा एमालेका गणेश यस्माली, नेकपा माओवादीका रिजन मगर, एकीकृत समाजवादीका रुपबहादुर अस्तानी, स्थानीय शेरमान मोक्तान लगायतले महाभारत गाउँपालिकाको तीनखुट्टे–देवीटार सडक कालोपत्रेको योजना ३ वर्षमा पनि पुरा नभएको गुनासो गरेका थिए ।

तीनखुट्टेमा निर्माणाधीन पक्की पुलको पनि उल्लेख्य काम भएको छैन । ठेकेदारको लापरबाहीले समयमै काम सम्पन्न हुन नसकेको स्थानीयको गुनासोपछि मन्त्री दुलालले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कानुन अनुसार कारबाही गर्ने चेतावनी दिनुभएको छ । सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीको कम्पनी कालोसूचीमा राख्ने उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य एवं पुर्वमन्त्री सूर्यमान दोङ, प्रदेशसभा सदस्य एवं पुर्वमन्त्री रत्नप्रसाद ढकाल, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, महाभारत गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ, महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तान, भौतिक पूर्वाधार मन्त्रालयका सचिव शंकर प्रसाद पण्डित, पूर्वाधार कार्यालय काभ्रेका प्रमुख भरत यादव, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरि सिं विष्ट, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कार्यालयका इन्जिनियर तथा विभागीय प्रमुखहरु लगायतले महाभारतवासीले चाहेको विकासको समपना समयमै पुरा हुनु पर्नेमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्