अध्ययनसँगै सिप सिक्दै विद्यार्थी



काभ्रेपलाञ्चोक। 

दुई वर्ष अघिसम्म काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाउँपालिका वडा नम्बर ५ पोखरीचौरीस्थित जागृति माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा अनिता गौतम विद्यालयमा पानी नभएका कारण शौचालय जानु पर्दा विद्यालय नजिकै रहेको आफन्तको घरमा जाने गर्नुहुन्थ्यो ।

विद्यालयमा तारा पद्धति लागू भएसँगै गौतम लगायत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुका लागि विद्यालय परिसरमै निर्माण भएको शौचालयमा सहज पहुँच पुगेको छ । ‘जताततै फोहोर पाल्ने, हात नधोई खाजा खाने, सरसफाइका अन्य विषयमा ध्यान नदिने र महिनावारी हुँदा प्रयोग भएका स्यानेटरी प्याडहरुको जथाभाबी हुने प्रयोगमा सुधार ल्याई स्यानेटरी प्याड उत्पादन, व्यवस्थापनमा समेत जानकारी पाउँदा व्यक्तिगत जीवनमा परिवर्तन भएको छ’– विद्यार्थी गौतमले भन्नुभयो– ‘यो पद्धतिले विद्यालय र घर परिवारमा मात्रै नभई हरेक क्षेत्रमा सहजता उपलब्धता गराएको छ । विद्यालयमा पहिला पानी थिएन अहिले नियमित पानी उपलब्ध हुँदा शौचालयको प्रयोग र सरसफाइका अलावा स्यानेटरी प्याड परिवर्तन र त्यसको उचित व्यवस्थापन समेत प्रभावकारी भएको छ ।’

यो कार्यक्रमले विद्यालयमा प्रयोग भएको पानी तथा समुदायमा पिउने पानीको गुणस्तर मापन गर्न सिकाएको छ । जसका लागि पानीको परीक्षण र प्रयोग गर्न सिकाइएको छ । पानीमा पाइने कोलिफर्मको मात्रा यकिन गर्ने र पानीको गुणस्तर पत्ता लगाउने विद्यार्थीले सरसफाइ तथा स्वास्थ्यमा सहजता हुनेछ । तालिममा सहभागी जागृति माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत अनिता गौतमले तालिम र विद्यालयमा लागु भएको तारा पद्धति कार्यक्रमले आफ्नो बानी ब्यहोरामा परिवर्तन आएको बताउनु भयो ।

अनिता जस्ता विद्यालयमा अध्ययनरत २ सय २५ बालबालिकाहरुका लागि सरसफाइ कार्यक्रम प्रभावकारी भएको छ । छात्राहरुलाई आत्मनिर्भर बनाउन महिनावारी भएका समयमा लगाउने प्याड निर्माण, प्रयोग तथा व्यवस्थापनका बारेमा तालिम र सचेतनामूलक कार्यक्रम सिकाइएको तारा पद्धति कार्यक्रमका कार्यक्रम संयोजक सान्त्वना कार्कीले बताउनु भयो । घरमै निर्माण गरिएको प्याड ५ पटकसम्म पुनः प्रयोग गर्न सकिनेछ । जसका कारण रकम र समय दुवै बचत हुनेछ ।

चौरीदेउराली गाउँपालिकाका ३८ वटै विद्यालयका छात्राहरुले प्याड बनाउने तालिम लिएका छन् । जस अन्तर्गत वडा नम्बर ४, ५ र ९ नम्बर वडामा रहेका विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने बालिकहरुलाई तालिम उपलब्ध गराई सकिएको छ । अभिभावकहरूलाई समेत उक्त तालिम दिएकाले रोजगारको थप सिर्जना भएको कार्यक्रम संयोजक सान्त्वना कार्कीले बताउनु भयो ।

‘सबै विद्यालयमा आधारभूत खानेपानी, सरसफाइ र स्वच्छताको प्रावधान अन्तर्गत रहेर विद्यालयमा पानी, शौचालय, वातावरणीय सरसफाइ, हरियाली वातावरण, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था र दिगोपना, विपद जोखिम व्यवस्थापन, अनुगमन तथा जवाफदेहिताका सूचक पुरा गर्ने अभियानमा समन्वय गरिरहेका छौँ’– गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले भन्नुभयो–‘मानव जीवन रहुुञ्जेलसम्म व्यक्तिलाई स्वस्थ राख्ने अभियानमा गाउँपालिकाका कार्यक्रम केन्द्रित रहेका छन् ।’ गाउँपालिका निवर्तमान उपाध्यक्ष तारा चौलागाईले शौचालयमा ताला लगाएर राख्ने विद्यालयहरुको बानीमा सुधार भएको बताउनु भयो । उहाँ गाउँपालिका शिक्षा समिति सदस्य समेत हुनुहुन्छ ।

अधिकांश विद्यालयमा पानीका कारण शौचालयमा ताला लगाएर राख्ने, शौचालय जानु पर्ने अवस्थामा बालबालिकहरु विद्यालय आसपासका छेउमा जानु पर्ने, महिनावारी भएका छात्राहरु विद्यालय नै नआउने वा आएमा प्याड फेर्ने समस्या हुने जस्ता समस्याबाट मुक्त भएको निवर्तमान उपाध्यक्ष चौलागाईले बताउनु भयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानदास लामाले विद्यालयमा समावेशी शौचालय, खानेपानी तथा अन्य सरसफाइका कार्यक्रम प्रभावकारी बनाउन प्रयास गरिएको बताउनु भयो । वाटर एड नेपालको सहकार्य, सिभिक फोरमको साझेदार र गाउँपालिकाको समन्वयमा डेड वर्ष अघि सुरु भएको तारा पद्धति कार्यक्रम सन् २०२४ मा सकिने छ ।

‘कोभिड र डेँगीको समस्यामा नेपालीहरुले धेरै कुरा सिकेको भए पनि रोग नियन्त्रण भएसँगै धेरै कुरा बिर्सन पुगेका छन्’– जिल्ला समन्वय समिति प्रमुख गौतमले भन्नु भयो–‘पूर्वाधार राम्रो बनाउँदैमा त्यसबाट उत्पादन हुने जनशक्ति गुणस्तरीय नहुने भएकाले गुणस्तरीय जनशक्ति उत्पादनका लागि सभ्यता, संस्कृति र सुसंस्कृत समाज निर्माणका लागि गुणस्तरीय शिक्षा प्रदान गरिनु पर्छ ।’ तारा पद्धति अन्तर्गतका अधिकांश बुँदाहरुमा विद्यालयहरुले ध्यान पुर्‍याउनु पर्ने बताउँदै समन्वय प्रमुख गौतमले हेलचेक्रयाईका कारण हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि विद्यालय, अभिभावक र विद्यार्थी सबै जिम्मेवार हुनु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्