बिरामीलाई रगत निःशुल्क दिन बागमती प्रदेश सरकारको सहयोग



काठमाडौँ। 

काभ्रेपलाञ्चोक जिल्लाका दुई अस्पतालमा उपचार गराउने बिरामीहरूका लागि निःशुल्क रगत उपलब्ध हुने भएको छ । स्वास्थ्य कार्यालय काभ्रेमा जिल्ला रक्तसञ्चार सेवा व्यवस्थापन तथा सिफारिस समितिले बागमती प्रदेश सरकारको सहयोगमा उक्त सुविधा उपलब्ध गराउन लागेको हो ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम सेढाईको अध्यक्षतामा सम्पन्न बैठकले बागमती प्रदेश सरकारको निर्णय अनुसार तयार गरिएको कार्यविधिले तोके अनुसार काभ्रेपलाञ्चोक जिल्लामा रहेको धुलिखेल र मेथिन्कोट अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीहरूका लागि आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने सम्झौता भएको छ ।

समितिका सदस्य सचिव सिता श्रेष्ठका अनुसार दुई वटा अस्पतालमा ब्लड ब्याग र रक्त परीक्षणका लागि लाग्ने आवश्यक शुल्क स्वास्थ्य कार्यालयले रेडक्रस काभ्रेको ब्लड बैकलाई उपलब्ध गराउनेछ । सोही रकम प्रत्येक महिनामा एक पटक प्रतिवेदनका आधारमा नेपाल रेडक्रस सोसाइटीबाट उपलब्ध गराए पछि स्वास्थ्य कार्यालयले रकम भुक्तानी गर्नेछ । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखामा रहेको ब्लड बैकमा पनि उक्त सुविधा उपलब्ध हुनेछ । ब्लड बैकले प्रयोग गर्ने ब्याग र परीक्षण शुल्कको रकम बागमती प्रदेश सरकारले उपलब्ध गराउने भए पछि रगत नभएरै वा निःशुल्क रगत दान गर्नेहरुबाट बिरामीहरूले खरिद गर्नु पर्ने अवस्था अन्त्य हुने भएको छ ।

रक्तसञ्चार सेवा प्रदान गरे बापतको शुल्क निर्धारण, खर्च भुक्तानी लगायतका कार्य सहज, गुणस्तरीय र प्रभावकारी तथा व्यवस्थित रुपमा सञ्चालन गर्न गठित समितिले अनुगमन र निर्देशन गर्नेछ । सेवा उपलब्ध गराए बापत सबै खालका परीक्षण र रगत प्रति पाउण्ड १०५० रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्