नेपालमा क्षयरोगीको संख्या बढ्दो



काठमाडौं ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले नेपालमा क्षयरोगीको संख्या बढ्नुका साथै क्षयरोगकै कारण मृत्यु हुनेको संख्या पनि बढेको जनाएको छ । यही मार्च २४ तारिखमा विश्व क्षयरोग दिवसको अवसर पारी सप्ताहव्यापी रूपमा क्षयरोग दिवस मनाउने जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रले यस्तो जानकारी दिएको हो ।

केन्द्रका निमित्त निर्देशक डा. नवीनप्रकाश शाहका अनुसार नेपालमा हरेक वर्ष नयाँ तथा पुराना गरी करिब १ लाख १७ हजार क्षयरोगका बिरामी देखापर्ने गरेको छ । हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामीहरू थपिने गरेको छ भने करिब १७ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने अनुमान गरिएको छ ।

आ.व. २०७८-७९ मा नेपालमा ३७ हजार ८ सय ६१ जना क्षयरोगका बिरामीहरूले उपचार गराएका थिए । तीमध्ये ६१ दशमलव ६ प्रतिशत पुरुष, ३८ दशमलव ४ प्रतिशत महिला र करिब ८ दशमलव ७ प्रतिशत १५ वर्षभन्दा कम उमेरका बालबालिका रहेका थिए । उपचार गराएकामध्ये ९१ दशमलव ५ प्रतिशत पूर्ण रूपमा स्वस्थ भएका थिए ।

डा. शाहले क्षयरोगका अनुमानित बिरामीको संख्या र उपचारमा आएका बिरामी संख्याको अनुपात हेर्दा हरेक वर्ष झन्डै ३२ हजार क्षयरोगका बिरामीहरूलाई उपचारको दायरामा ल्याउन नसकिएको सहजै अनुमान गर्न सकिने बताउनुभयो । नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या वार्षिक रूपमा करिब २ हजार ८ सयले बढेको र यो संख्या, नेपालको कुल जनसंख्याको अनुपातमा अत्यन्त धेरै भएको कार्यक्रममा बताइयो ।

विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई पनि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ । आ.व. २०७८-७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ९ सय ४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ६ सय ५९ जनाले मात्र उपचार गराएका थिए ।

यसरी अनुमानित औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागी उपचारमा आएका बिरामीको संख्या हेर्दा २ हजार १ सय जनाभन्दा बढी औषधि प्रतिरोधी क्षयरोगका व्यक्तिहरूको रोग पत्ता लगाई उपचारमा ल्याउनु चुनौतीपूर्ण देखिएको छ ।

कार्यक्रममा स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि गुणस्तरीय क्षयरोग नियन्त्रण सेवाको विस्तार, मेडिकल कलेज, निजी स्वास्थ्य संस्था तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता प्राज्ञिक संस्थाहरूसँग साझेदारीको विकास, राष्ट्रिय क्षयरोग प्रेषण प्रयोगशालाको सुदृढीकरण, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको गुणस्तर सुनिश्चतता, देशका विभिन्न स्थानमा क्षयरोग प्रेषण प्रयोगशालाको स्थापना, जिनएक्सपर्ट र माइक्रोस्कोपिक केन्द्रहरूको रणनीतिक रूपमा विस्तार, स्वास्थ्य संस्थामा आधारित उपचार पद्धतिको सुदृढीकरण गरिएको जानकारी दिइयो ।

साथै समुदाय र परिवारमा आधारित डट्स सेवाको विस्तार, केन्द्रीय स्तरमा निर्माण सम्पन्न भएको छाती रोग अस्पतालको सञ्चालन, ७ वटै प्रदेशमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको स्थापना र क्षयरोग रोकथाम तथा उपचार सेवाको विस्तार गरिएको छ । त्यसै गरी क्षयरोग मुक्त नेपाल अभियानलाई स्थानीय तहको स्वामित्व तथा समुदायको संलग्नतामा क्षयरोगमुक्त नेपाल अभियानले क्षयरोग कार्यक्रमलाई, राजनीतिक प्रतिबद्धता, समुदायको संलग्नता, अपनत्व र नेतृत्व विकास, गैरसरकारी र निजी क्षेत्रको सुदृढीकरण, स्थानीय श्रोतको परिचालन र एकीकृत कार्यक्रमको रूपमा सञ्चालन गरी प्रत्येक स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गर्ने उद्देश्यका साथ विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको कार्यक्रममा जानकारी दिइयो ।

सोहीअनुरूप गत आ.व. २०७८-७९ मा २५ वटा स्थानीय तहमा क्षयरोग मुक्त अभियानका क्रियाकलापहरू सञ्चालन भएका थिए । चालु आ. व. २०७९-८० मा थप १ सय स्थानीय तहमा कार्यान्वयन गरी यस अभियानलाई आगामी ४ वर्ष भित्रमा ७ सय ५३ वटै स्थानीय तहमा विस्तार गर्ने योजना रहेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आ.व. २०७८-७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत ८ सय ९६ माईक्रोस्कोपिक केन्द्रहरू, ९३ जिनएक्सपर्ट केन्द्रहरू, २ कल्चर तथा डी.एस.टी. र २ वटा केन्द्रमार्फत क्षयरोग निदान सेवा प्रवाह गरिएको थियो भने ५ हजार ९ सय ७१ डट्स केन्द्रहरू, २२ डी. आर. उपचार केन्द्र, ८१ डी. आर. उपचार उप–केन्द्रहरू र ७ डी. आर. होस्टेलहरूमार्फत् क्षयरोको उपचार सेवा प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्