अनन्त र नवयुगको गोलमा नेपालको जित



काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा घरेलु टोली नेपालले जितबाट शुरुवात गरेको छ । नेपाली फुटबल टोलीले दशरथ रंगशालामा बुधबार भएको उदघाटन खेलमा लाओसलाई २–० ले हराएको हो । नेपाललाई जित दिलाउन पहिलो हाफमा अनन्त तामाङ र दोस्रो हाफमा नवयुग श्रेष्ठले गोल गरेका हुन् ।

अनन्तले खेलको २९ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । उनले एरिक विष्टले गरेको कर्नर प्रहारमा हेडमार्फत गोल गरे । त्रिभुवन आर्मीका खेलाडी नवयुगले ५६ औं मिनेटमा गोल गरेर नेपाली टोलीको अग्रता दोब्बर बनाए । उनले करिब ३५ यार्ड टाढाबाट गरेको प्रहारले गोलको दिशा लिएको थियो ।

नेपालको यो लाओसविरुद्ध तेस्रो खेल हो भने उक्त प्रतिद्वन्द्वीविरुद्ध यो दोस्रो जित हो । यी दुई टोलीबीचको पहिलो खेल बराबरीमा सकिएको थियो । यसपछि सोलिडारिटी कपमा नेपालले लाओसलाई पेनाल्टी शुटआउटमा पराजित गरेको थियो ।

थ्री नेसन्स कपमा तेस्रो टोली भुटान रहेको छ । तीन टोलीले राउन्ड रोविन खेल खेल्नेछ । यसमा दुई टोली शीर्षमा रहेकोले फाइनल खेल खेल्नेछ । नेपालले भुटानविरुद्ध आगामी मंगलबार खेल्नेछ । यसअघि भुटान र लाओसबीचको खेल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्