विश्वकप क्रिकेटको समय तालिका सार्वजनिक



नयाँ दिल्ली, (एजेन्सी) । सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको खेल समयको तालिका भारतीय क्रिकेट कन्ट्रोल बार्ड (बीसीआई) ले सार्वजनिक गरेको छ ।

५ अक्टोवरदेखि शुभारम्भ हुने विश्वकप क्रिकेटको फाइनल खेल विश्वकै सबैभन्दा ठूलो स्टेडियम अहमदावादको नरेन्द्र मोदी स्टेडियम १९ नोभेम्वरमा हुने पक्का भएको छ । भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा विश्वका १० टोलीको सहभागिता रहने छ । प्रतियोगिता ४६ दिनसम्म चल्नेछ । यो दौरान १० टोलीकाबीच तीन प्लेअफ समेत कुल ४८ खेलको आयोजना हुनेछ ।

विश्वकप क्रिकेटको खेलको आयोजनाको लागि बीसीसीआईले अहमदाबाद, बेङ्गलुरु, चेन्नई, दिल्ली, धर्मशाला, गुवाहटी, हैदरबाद, कोलकोता, लखनउ, इन्दौर, राजकोट र मुम्बई जस्ता शहरलाई चुनेको छ । आईसीसी अन्तर्गत आयोजना गरिने विश्वस्तरीय प्रतियोगिताको खेल समय तालिका एक बर्ष अघि नै सार्वजनिक गरिने प्रचलन रहदै आएको छ । तर, बीसीसीआईले भारत सरकारसँग विशेष मुद्दामा मञ्जुरी लिनुपर्ने भएकोले यसमा ढिलाई भएको हो । यी विशेष दुइ मुद्दाहरुमा पाकिस्तानको टोलीको भिसा मञ्जुरी र प्रतियोगिताको लागि ट्याक्स फ्रि रहेका छन ।

हालै दुबईमा सम्पन्न अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को वैठकमा बीसीसीआई पाकिस्तानी टोलीलाई भिजा उपलब्ध गराउने आश्वासन दिएको थियो । पाकिस्तानी टोलीलाई भिसा उपलब्ध गराउने कुरामा भारत सरकार लचिलो बनेपनि ट्याक्स छुटको बारेमा भने छलफल भइरहेको छ ।

केहि समयपश्चात नै बीसीसीआई यो सम्वन्धमा आईसीसीलाई जानकारी गराउने बताइएको छ । भारतीय रंगशालामा भारत र पाकिस्तानबीच पछिल्लो खेल सन् २०१२ मा भएको थियो । त्यसपछि भारत सरकारले आईसीसीका प्रतियोगिता बाहेक अन्य कुनै पनि क्रिकेट पाकिस्तानीसंग नखेल्ने निर्णय गरेपछि अहिलेसम्म दुई राष्ट्रबीच कुनैपनि क्रिकेट श्रृंखलाको आयोजना हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्