असुरक्षाको कारण विराटनगरमा दिल्ली नआउने



विराटनगर । विराटनगरको शहीद रंगशालामा चैत्र ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने विराट गोल्डकपको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

विराट गोल्डकप ट्रष्टले पत्रकार सम्मेलनमा प्रतियोगितामा स्वदेश र बिदेशका गरि आठ टिमले सहभागिता जनाउने जनायो । प्रतियोगितामा नेपालका विभागिय टोली नेपाल एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिससहित संकटा, जावलाखेल र घरेलु विराटनगर सिटी क्लबले स्पर्धा गर्नेछन् । यस्तै भारतको लुका सकर र ड्ररुक लयुल फुटबल क्लब भुटान पनि प्रतियोगितामा सहभागी हुने भएका छन् ।

कोशी प्रदेशको नामाकरणसँगै अशान्त बनेको कारण विराटनगरमा आयोजना हुने विराट गोल्डकपमा सहभागी हुने बताएको दिल्ली एफसी भने सहभागी नहुने आयोजकले जनायो । दिल्ली एफसीले सुरक्षाको कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएको ट्रष्टका अध्यक्ष बानियाँले जानकारी दिनुभयो । रात्रिकालिन विराट गोल्डकप फुटबल प्रतियोगिताको विजेताले २० लाख १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । आयोजकले गत संस्करणमा १५ लाख १५ हजार रहेको पुरस्कार राशिमा ५ लाख थप गरेर २० लाख १५ हजार पुर्याएको हो ।

आयोजक विराट गोल्ड कप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँका अनुसार यस उपविजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
गत संस्करणमा उपविजेताले ७ लाख ५१ हजार प्राप्त गरेको थियो । यसपटक विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँ, हरेक दिनको प्लेयर अफ दि म्याचलाई नगद ११ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगिता हेर्न चाहने दर्शकका लागि टिकेटिङ पार्टनरको रुपमा ‘खल्ती एप’सँग साझेदारी गरेको आयोजकको भनाइ छ ।

खेल हेर्न आउने दर्शकले घरमै बसेर टिकट लिन सक्ने बानियाँले बताउनुभयो । आयोजकले क्वाटरफाइनलसम्मको खेलका लागि प्रति टिकट २ सय रुपैयाँ निर्धारण गरेको छ भने सेमिफाइनल र फाइनल गरी ३ वटा खेलको लागि खल्ती एपबाट किन्दा ४ सय र रंगशालाकै स्टलबाट किन्दा ५ सय रुपैयाँ टिकटदर तोकिएको छ ।

आयोजकले प्रतियोगिता सम्पन्न गर्न २ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्, प्रदेश सरकारका साथै विराटनगर महानगरपालिका र निजी क्षेत्रबाट आर्थिक सहयोग हुने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्