आक्रमणकर्ता दर्शकलाई ४० वर्ष प्रतिबन्ध



लन्डन, (एजेन्सी) । स्पेनिस क्लब सेभियाका गोलरक्षक मार्को दिमित्रोभिकमाथि आक्रमण गरेको आरोपमा एक दर्शकलाई डच क्लब पीएसभी इन्डहोभेनलले आफ्नो स्टेडियम प्रवेशमा ४० वर्षको प्रतिबन्ध लगाएको छ ।

पीएसभी इन्डहोभेनले युइएफए युरोपा लिग दौरान सेभियाका गोलरक्षक मार्को दिमित्रोभिकमाथि आक्रमण गरेको आरोपमा उक्त दर्शकलाई आफ्नो स्टेडियम प्रवेशमा ४० वर्षको प्रतिबन्ध लगाएको हो । २० वर्षीय युवाले फेब्रुअरीको अन्त्यमा राउन्ड अफ ३२ को प्लेअफको दोस्रो लेगको खेलको अन्त्यतिर गोलरक्षक दिमित्रोभिकको नजिक गएर उनलाई मुक्का हानेर लडाएका थिए । त्यसपछि गोलरक्षक दिमित्रोभिचले उक्त युवालाई मैदानमा सुताएर छुटेका थिए । उक्त खेलमा २–० ले पराजित भएपनि समग्रमा ३–२ को जितसँगै सेभिया अन्तिम १६ मा पुग्न सफल भएको थियो । त्यसपछि सेभियाले प्रि–क्वाटरफाइनलमा टर्किस क्लब फेनरवाचलाई समग्रमा २–१ ले पराजित गरेको थियो ।

गोलरक्षक दिमित्रोभिचलाई आक्रमण गर्ने ती युवा लाई यसअघि पनि राष्ट्रिय स्टेडियम प्रतिबन्ध लगाइएको थियो । उनले तीन महिनाको जेल सजाय भोगिसकेका थिए । उनी एक साथीको टिकट प्रयोग गरेर उक्त खेल हेर्न पुगेको बताइएको छ । डच फुटबल संघले उनलाई सन् २०२६ सम्मको लागि राष्ट्रिय स्टेडियममा प्रवेशमा प्रतिबन्ध लगाएको थियो । उनलाई पिएसभीको फिलिप्स स्टेडियम वरपरको क्षेत्रबाट पनि दुई वर्षको लागि प्रतिबन्ध लगाइएको थियो । डच क्लबले पनि उनीबाट आर्थिक क्षतिपूर्ति गर्न खोज्ने बताएको छ । युइएफएले उक्त घट्नापछि ती युवाविरुद्ध अनुशासनात्मक मुद्दा खोलेपछि पिएभीले उनलाई भारी जरिवाना लगाउन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्