बार्सिलोनासँग रियल पराजित



लन्डन, (एजेन्सी) । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा रियल मेड्रिडलाई पराजित गरेको छ ।

घरेलु मैदानमा बार्सिलोनाले रियललाई २–१ गोलअन्तरले पराजित गरेको हो । आत्मघाती गोलले पछाडि पर्नुका बावजुद बार्सिलोनाले एल क्लासिकोमा महत्वपूर्ण जित निकाल्न सफल भएको हो । बार्सिलोनाको जितमा सर्जी रोबर्टाे र फ्रान्क केस्सीले गोल गरे । स्पोटिफाई क्याम्प नोउमा आइतबार राति भएको खेलको नवौं मिनेटमा रोनाल्ड एराउजोको आत्मघाती गोलबाट बार्सिलोना खेलमा पछि परेको थियो । ४५औं मिनेटमा सर्जी रोबर्टाेले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याएका थिए ।

खेलको ८१औं मिनेटमा मार्काे एसेन्सियोले गोल गरेपछि भिएआरबाट मान्यता नपाउँदा रियल अग्रता लिनबाट चुक्यो । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा फ्रान्क केस्सीले एलेक्स बाल्डेको पासमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाए । यस जितसँगै बार्सिलोनाले पछिल्लो तीन खेलमा रियललाई हराउन सफल भएको छ । १६ अक्टोवर २०२२ मा ३–१ को जित निकाले यता रियलले जित निकाल्न सकेको छैन । यस जितसँगै बार्सिलोनाले १२ अंकको स्पष्ट अग्रता लिदै उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । बार्सिलोनाको २६ खेलबाट ६८ अंक पुगेको छ । पराजित रियलको ५६ अंक छ ।

प्रतिक्रिया दिनुहोस्