बायर्न म्यूनिखको हार



लन्डन, (एजेन्सी) । बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा हार बेहोरेको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा पराजित भएको हो । बायर्न घरेलु टोली बायर लिभरकुसनसँग २–१ गोलअन्तरले पराजित भएको हो । बुन्डेस लिगामा बायर्नको यो तेस्रो हार हो । बायर लिभरकुसेनको जितमा दुवै गोल एक्सिक्यल पालासिओसले गरेका थिए । बायर्नका योसुवा किम्मिखको गोल सान्त्वना बन्यो । बे एरिना लिभरकुसेनमा आइतबार राति भएको खेलको २६औं मिनेटमा योसुवा किम्मिखको गोलबाट बायर्नले सुरुवाती अग्रता लिएको थियो ।

उनले लियोन गोरेट्जाको पासमा गोल गर्न सफल भएका थिए । तर, बायर्नले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । ५५औं मिनेटमा पालासिओसले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । एमिन एडीलिलाई पेनाल्टी बक्समा बेन्जामिन पाभार्डले फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै पेनाल्टी प्रदान गर्दा पालासिओस चुकेनन् । ७३औं मिनेटमा पालासिओसले पेनाल्टीमै गोल गर्दै बायर्नलाई २–१ को हार चखाए ।

यसपटक पनि एमिनलाई डेअट उपमेकानोले फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै लिभरकुसनलाई पेनाल्टी प्रदान गर्दा पालासिओस चुकेनन् । यसअघि बायर्न अग्सवर्ग र बोरुसिया मोन्चेनग्लाडवाकसँग पराजित भएको थियो । यस हारले बायर्नले शीर्षस्थानमा उक्लने मौका समेत गुमाएको छ । बायर्न २५ खेलबाट ५२ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । अंक तालिकाको शीर्षस्थानमा भने बोरुसिया डर्टमन्ड रहेको छ । बायर्नलाई हराएको बायर लिभरकुसनको ३७ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्